ठूला आयोजनाको बीमाः ‘जोखिम बहन गर्न सक्षम छन् नेपाली कम्पनी’

  २०७६ कार्तिक २८ गते १०:२३     नबिन पोखरेल


काठमाडौं । हालैमात्र शिलान्यास भएको नागढुङ्गा-सिस्नेखोला सुरुङ मार्गको निर्माण लागत २२ अर्ब रुपैयाँ हो । तर, यो र यस्ता ठूला आयोजनाहरुको जोखिम बहन गर्न नेपाली बीमा कम्पनी सक्षम छन् कि छैनन् ? बीमा विज्ञ र नेपाली बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले ठूला-ठूला आयोजनाको बीमा गर्न नेपाली कम्पनी सक्षम रहेको बताएका छन् ।

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको जापान अन्र्तराष्ट्रिय सहयोग नियोग (जाइका) ले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार पारिसकेको छ । डीपीआरका अनुसार सुरुङ निर्माणका लागि २२ अर्ब रुपैयाँ लाग्ने र सो लगानी सात वर्षमा उठ्ने उल्लेख छ । सो मार्ग प्रयोगबापत उठ्ने कर त ७ वर्षमा उठ्ला, तर भइपरि आउने जोखिमलाई भने बीमाले मद्दत गर्ने कुरामा शंका छैन ।

बीमा समितिका एक अधिकारीले दिएको जानकारी अनुसार अहिले देशमा विभिन्न पूर्वाधारहरु निमार्णको क्रममा रहेका छन् । सोही कारण बीमाले पूर्वाधारलाई कतिको सुरक्षण गर्छ भन्ने महत्वपूर्ण सवाल पनि हो ।’

बीमाविज्ञ र कम्पनीका सीइओ यसो भन्छन्
बीमाविज्ञ भोजराज शर्माका अनुसार नेपाली कम्पनीहरु ठूला आयोजनाहरुको बीमा गर्न सक्षम छन्, कम्पनीले आफूले धान्न नसक्ने जोखिमको पूनर्बीमा गर्ने भएकाले यो सहजै हुन्छ ।’ उनले जोखिम हस्तान्तरण नगरेको खण्डमा नेपाली कम्पनीहरुलाई मात्र नभई विदेशी कम्पनीहरुलाई समेत ठूला लगानीको जोखिम लिन गाह्रो हुन्छ । बीमा र पूनर्बीमा एक अर्काका परिपूरक भएकाले बीमालाई पूनर्बीमाको साथ रहने गर्छ ।

बीमाविज्ञ शर्माले भने-‘जोखिमकै लागि भनेर बीमा गर्नु पर्ने हो, साथै जोखिमको भार एक निश्चित कम्पनीले मात्र लिनु जरुरी छैन ।’ उनले सोही कार्यका लागि नेपालमा पूनर्बीमा कम्पनी रहेको र विदेशी राष्ट्रहरुमा विभिन्न पूनर्बीमा कम्पनीहरु सञ्चालन हुँदै आएको बताए ।

यता, अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीइओ) कुमारबहादुर खत्रीले जोखिम बहन गर्ने बजेट धेरै भयो भनेर बीमा कम्पनीले बीमा गर्न नसक्ने अवस्था रहदैन, यस्तो बेलामा कम्पनी एक्लैले नभई पूनर्बीमा मार्फत बीमा गर्ने गरिन्छ ।’ ‘पहिले बीमा कम्पनीहरुले पूनर्बीमासँग छलफल गर्छन्, त्यसपछि मात्र पोलिसी इस्यू हुन्छ’-उनले भने ।

बीमाको अन्तर्राष्ट्रिय मान्यता अनुसार जोखिम एउटै कम्पनीले बहन गर्नु पर्ने भन्दा पनि हस्तान्तरण हुनु पर्ने विज्ञहरुको मत रहेको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.