नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गति लिन सकेन, ८ अर्बकाे सेयर र ५ अर्बकाे ऋणपत्र नबिक्ने जाेखिम

  २०७६ कार्तिक २७ गते ११:२४     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले व्यवसायिक गति लिन नसकेको देखिएको छ । बैंकले प्रकाशित गरेको असोज मसान्तसम्मको वित्तीय प्रतिवेदन निराशाजनक छ ।

चुक्ता पुँजी १२ अर्ब रुपैयाँ रहेको यस बैंकले असोज मसान्तसम्ममा जम्मा २५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । गत फागुनमा सञ्चालनमा आएको यो बैंकले साढे पाँच महिनामा २५ करोड रुपैयाँ मात्र निक्षेप संकलन गरेको हाे । बैंकले व्यक्तिगततर्फ न्यूनतम ५ वर्ष अवधिको न्यूनतम १ करोड र संस्थागततर्फ सोही अवधिको न्यूनतम ५ करोडको निक्षेप स्वीकार गर्दै आएकाे छ ।

बैंक संचालनको शुरुवाती चरणमा नै भएकोले निक्षेप  संकलनलाई  जाेड नदिएकाे बैंककाे भनाइ छ ।

निक्षेप संकलनका अलवा बण्ड जारी गर्ने, विदेशबाट रकम भित्र्याउने लगायतका पुँजी संकलनका विभिन्न विकल्पहरू पहिचान गरी अगाडि बढेका बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीकाे भनाइ छ ।

निक्षेप संकलनमा मात्र हाेइन, कर्जा लगानीमा पनि बैंकले चमक देखाएकाे छैन । बैंकले अहिलेसम्म ८ करोड ४४ लाख रुपैयाँ मात्र कर्जा लगानी गरेको छ । सेयरमा भने १२ करोड ५९ लाख रुपैयाँ लगानी गरेको छ । बैंकले पाँच अर्बभन्दा बढी पुजीमा निर्माण हुने परियोजनमा मात्र कर्जा लगानी गर्ने जनाएको छ । ऊर्जा, सडक, सुरुङ, केबलकार, एयरपोर्ट, होटल अन्य पर्यटन पूर्वाधार साथै सामाजिक पूर्वाधारहरू जस्तै शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधारको परियोजनाहरूलाई बैंकले प्राथमिकता प्राप्त क्षेत्रहरूमा राखेको छ ।

बैंकको कोष लागत ९.४० प्रतिशत भएकोले कर्जा लगानी पनि महँगो पर्ने देखिएको छ । पछिल्लाे समय करुवा सेती हाइड्रोपावरमा ४ अर्ब ६ करोड रुपैयाँ कर्जा प्रवाह गर्ने सम्झाैता गरेकाे छ ।  ‘कर्जाको माग उच्च छ । यथेष्ट परियोजनाहरू पहिचान भई कर्जा प्रवाह गर्ने निर्णयको प्रकृयामा छ । परियोजनाहरूमा थप कर्जा प्रवाह हुनेछु’  ज्ञवालीले भने ।

बैंकले असोज मसान्तसम्ममा १८ करोड ५८ लाख रुपैयाँ नाफा गरेको छ । संचित कोषमा ९७ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ २० पैसा छ ।

बैंकले यस आर्थिक वर्षमा हामी सर्वसाधारणको लागि ८ अर्ब रूपैयाँ बराबर सर्वसाधारण शेयर जारी गर्ने र ५ अर्ब रूपैयाँ बराबरकाे ऋणपत्र जारी गर्ने बैंककाे तयारी छ । वित्तीय सूचकाङ्कमा उच्च सुधार नभए बैंककाे सेयर तथा ऋणपत्र नबिक्ने जाेखिम हुने जानकारहरू बताउँछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.