एप निर्माण गर्दै दूर सञ्चार प्राधिकरण, फोन गर्दा नसुनिए रिपोर्ट गर्न पाइने

  २०७६ कार्तिक २० गते १४:०५     विकासन्युज

काठमाडौं । नेपाल दूर सञ्चार प्राधिकरणले ग्राहकलाई फोन गर्दा सन्तुष्टी मिले नमिलेको जानकारी प्राप्त गर्ने एप्लिकेशन निर्माण गर्ने भएको छ । एप निर्माण भएपछि मोबाइल तथा टेलिफोन सेवाग्राहीले आफूले गरेको कलबाट सन्तुष्टी नमिले सहजै रिपोर्ट गर्न पाउने छन् । प्राधिकरणले आफूले गर्ने कलबाट कति सन्तुष्ट लिए भन्ने कुराको जानकारी ग्राहकबाटै प्राप्त गर्ने तयारी स्वरुप यो एप निर्माण योजना अघि बढाएको हो ।

अहिले फोन गर्दा आमग्राहकहरू फोन काटिएर, नबुझिएर र नेटवर्क बिजी भएका कारण फोन नलागेर हैरान हुने गरेका छन् । नेटवर्कमा सुधार गर्न प्राधिकरणले यस्तो मोबाइल एप्लिकेशन निमार्ण गर्न यो योजना अघि बढाएको प्राधिकरणका अध्यक्ष पुरुर्षोत्तम खनालले जानकारी दिए ।

समग्रमा नेटवर्क सुधारको लागि उक्त एप निर्माण गर्न लागिएको उनले बताए । अबको ४–५ महिनासम्म उक्त एप तयार भइसक्छ, उनले भने– ‘एक मिनेटमा कति जनाको कल काटिन्छ वा सुनिदैन त्यो ग्राहकलाई थाहा हुँदैन ।’

ग्राहकलाई त आफ्नो फोन काटिएको मात्रै थाहा हुन्छ र उसले तुरुन्त फोन थिचिहाल्छ । यद्यपि यसको वारेमा सेवा प्रदायकलाई भने थाहा हुन्छ । यसको वारेमा सहजै सेवाग्राहीले समेत थाहा पाउने बनाउन एप निर्माण कार्य अघि बढाइएको हो ।

फोनबाट ग्राहकलाई सन्तुष्ट मिले नमिलेको सन्तुष्टी नाप्ने एप्लिकेशन तयार भएपछि ग्राहकले आफुले गरेको कलमा कुनै समस्या आए वा अन्य अनुभव गरेमा यस विषयमा सिधै नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी दिन सक्ने छन् ।

आफ्ना ग्राहकलाई सेवा दिन प्राधिकरणले छुट्टै एप्लिकेशन निर्माण प्रक्रियामा लागेको हो । प्राधिकरणले कलको क्वालिटीको जानकारी ग्राहकबाटै लिने तयारी गरेको हो । सेवाग्राहीले आफ्नो मोबाइलमा उक्त एप्लिकेशन डाउनलोड गरेर उक्त एपले गुणस्तरको विषयमा आवश्यक सूचना संकलन गर्नेछ ।

प्राधिकरणसँग रहेका उपकरणबाट यस्तो जानकारी संकलन गर्न सकिन्छ, त्यो एपले नै स्वतः संकलन गर्नेछ । एपमा गुणस्तरको विषयमा जस्तै प्रश्न सोधिने छ । उत्तर इन्ट्री गरेपछि एपले आफै रेटिङ गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.