बैंकका सञ्चालकले कति पाउँछन् भत्ता ? सानिमाले ५० प्रतिशत बढायो, अरुको उस्तै

  २०७६ कार्तिक ३ गते १०:२३     विकासन्युज

काठमाडौं । अर्बौं बराबर वासलात भएका बैंक चलाउनेले कति पारिश्रमिक लिन्छन् होला, यो धेरैको चासो हुन सक्छ । यो वर्ष व्यवस्थापनलाई आवश्यक निर्देशन दिन साधारणसभाले चुनेर पठाउने सञ्चालकहरु र सञ्चालकहरु मध्येबाटै चयन हुने अध्यक्षहरुको लागि भने खासै सुखद अवस्था रहेन ।

बजारको औसत मूल्य वृद्धि ६ प्रतिशत हाराहारीमा रहेको र औसत ज्यालादर १४ प्रतिशत बढ्दा अधिकांश बैंकका सञ्चालकहरुको भत्ता भने स्थिर नै रहेको देखिन्छ ।

असोज मसान्तसम्म ६ वटा वाणिज्य बैंकले गत आर्थिक वर्षको वार्षिक साधारणसभा सम्पन्न गरिसकेका छन् । एनआईसी एशिया, सिटिजन्स, कुमारी, माछापुच्छ्रे, सानिमा र बैंक अफ काठमाण्डूले गत आवमा सभा गरी सेयरधनीलाई दिने प्रस्तावित लाभांश समेत पारित गरी बैंक सञ्चालक समितिको प्रतिबैठक भत्ता पनि तोकेका छन् ।

जसमध्ये चालु आवमा सानिमा बैंक सञ्चालकको प्रतिबैठक भत्ता बढेको छ भने बाँकी ५ वटा कम्पनीको स्थिर नै रहेको छ । सानिमाले सभामा विशेष प्रस्ताव गरी सञ्चालक समितिको प्रतिबैठक भत्ता गत वर्षको भन्दा ३० देखि ५० प्रतिशतसम्म बढाएको छ । एकैचोटि ५० प्रतिशतका दरले भत्ता बढाएमा विरुद्ध सेयरधनी लगानीकर्ताले सभामा चर्को विरोध गर्दा गर्दै पनि सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

यससँगै अब सानिमाका अध्यक्षले आर्थिक वर्ष २०७६/७७ मा प्रतिबैठक १३ हजार र सञ्चालकले १२ हजार रुपैयाँका दरले बैठक भत्ता पाउने भएका छन् । बैंकले आव २०७५/७६ मा अध्यक्षलाई प्रतिबैठक १० हजार र सञ्चालकलाई ८ हजार रुपैयाँ दिँदै आएको थियो ।

यो भन्दै गर्दा अरु बैंकले सभामा भत्ता बढाउने प्रस्ताव नै नलागेको भन्ने चाहिँ होइन । सिटिजन्स बैंकले पनि सञ्चालकको भत्ता वृद्धि गर्ने विशेष प्रस्ताव गरेको थियो । तर, सभामा सेयरधनीले चर्को विरोध गरेपछि बैंकले उक्त प्रस्ताव फिर्ता लिएको थियो । एकैपटक ५३ देखि ६३ प्रतिशतसम्मको दरले संचालकको बैठक भत्ता बढाउने प्रस्ताव विरुद्ध सेयरधनीले विरोध गरि फिर्ता गर्न सफल भएका थिए ।

बैंकले सञ्चालक समितिको भत्ता बढाएर अध्यक्षलाई प्रतिबैठक २० हजार र सञ्चालकलाई १८ हजार रुपैयाँ दिने प्रस्ताव गरेको थियो । सभाले पारित नगरेपछि अब बैंक सञ्चालक समितिको भत्ता गत वर्षको यथावत् नै हुनेछ । गत वर्ष बैंकले अध्यक्षलाई प्रतिबैठक भत्ता १३ हजार र सञ्चालकलाई ११ हजार रुपैयाँ दिँदै आएको थियो ।

त्यस्तै, बाँकी चार वटा बैंक(एनआईसी एशिया, कुमारी, माछापुच्छ्रे र बैंक अफ काठमाण्डू)को सञ्चालक समितिको भत्ता यस वर्षपनि गत वर्षकै कायम हुने छ । यी बैंकले गत वर्ष नै बैठक भत्ता बढाएकाले यो वर्ष सो सुविधा वृद्धि गर्ने प्रस्ताव सभामा लगेनन् ।

यी ६ वाणिज्य बैंकमध्ये एनआईसी एशिया र माछापुच्छ्रे बैंकका अध्यक्षले बढी भत्ता खाएका छन् । यी दुई बैंकका अध्यक्षले प्रतिबैठक १५ हजार रुपैयाँ भत्ता बुझिलिएका छन् र चालु आवमा पनि सोहि रकम लिने छन् । त्यसपछि बैंक अफ काठमाण्डूका अध्यक्षले पनि १४ हजार रुपैयाँका दरले बैठक भत्ता लिएका छन् । त्यस्तै, सिटिजन्स र सानिमाका अध्यक्षले १३ हजार र कुमारी बैंकका अध्यक्षले १२ हजारका दरले बैठक भत्ता पाएका छन् ।

त्यसैगरी, सञ्चालक पदमा रहेका ४ बैंकका सञ्चालकहरुले बराबर रकम भत्ताको रुपमा पाउने छन् । चालु आवमा एनआईसी एशिया, माछापुच्छ्रे, सानिमा र बैंक अफ काठमाण्डू बैंकले आ-आफ्ना सञ्चाकलहरुलाई प्रतिबैठकमा उपस्थित भएबमोजिम १२ हजार रुपैयाँ दिने भएका छन् । त्यस्तै, सिटिजन्स बैंकका सञ्चालकले प्रतिबैठक ११ हजार र कुमारी बैंकका सञ्चालकले १० हजार रुपैयाँ भत्ता पाउँने छन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनको प्रावधान अनुसार कुनै पनि बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिको बैठक वर्षमा कम्तीमा १२ पटक बस्नु पर्नेछ । तर, दुई वटा बैठकको बीचको फरक ६० दिनभन्दा बढी हुन नपाउने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.