अफगानिस्तानको मस्जिदमा भएको विस्फोटनमा ६२ जनाको मृत्यु

  २०७६ कार्तिक २ गते १३:५२     विकासन्युज

जुबा । अफगानिस्तानको नन्गाहार प्रान्तका रहेको एक मस्जिदमा शुक्रबार भएको विस्फोटनमा परी ६२ जनाको मृत्यु भएको छ । देशको पूर्वी भागमा पर्ने नन्गाहर प्रान्तमा अवस्थित मस्जिदको छत नै खस्नेगरी भएको उक्त विस्फोटमा कैयौँ घाइते भएका छन् ।

उक्त प्रान्तका प्रान्तीय प्रवक्ताले मस्जिदमा भएको विस्फोटनमा कम्तीमा ६२ जनाको मृत्यु भएको पुष्टी गरेका छन् । संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा हिंसाको स्तर अस्वीकार्य भएको जनाएको भोलिपल्ट यो विस्फोट भएको हो । राष्ट्रसंघका अनुसार जुलाई र सेप्टेम्बरको बीचमा अफगानिस्तानमा ज्यान गुमाउने गैरसैनिकको संख्या ११ सय ७४ थियो ।

गत शुक्रबार प्रार्थना भइरहेका बेला विस्फोटन भएको बताइएको छ । उक्त विस्फोटन कसले गराएको भन्ने अझै स्पष्ट भएको छैन । तर उक्त क्षेत्रमा तालिबान र इस्लामिक स्टेट (आइएस) दुवै समूह सक्रिय छन् । घटनामा परी कम्तीमा ३३ जना घाइते भएका प्रान्तीय प्रवक्ता अट्टौल्लाह खोग्यानीले बताए ।
प्रान्तीय राजधानी जलालाबाददेखि ५० किलोमिटर टाढा हास्का मिना भन्ने जिल्लामा रहेको मस्जिदमा सो विस्फोटन भएको हो । प्रत्यक्षदर्शीहरूले मस्जिदको छत खस्नुअघि ठूलो आवाजसहितको विस्फोटनको आवाज सुनेको बताएका छन् ।

विस्फोटनका बेला ३ सय ५० भन्दा बढी व्यक्ति मस्जिदमा रहेका स्थानीय बासिन्दा ओमार घोर्जाङ्ले जानकारी दिए । उनले विस्फोटनपछिको घटनामा परी केहीको घटनास्थलमै मृत्यु भएको र घाइतेहरुलाई एम्बुलेन्समा राखेर लगेको आफुहरुले देखेको बताए ।

दर्दनाक घटनाप्रति संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय निकाय र विभिन्न देशहरुले चर्को आलोचना गरेका छन् । उनीहरुले यस्ता विभत्स घटनाले कसैको पनि हित नहुने भएकाले यस्ता क्रियाकलाप रोक्न आग्रह पनि गरेका छन् । रासस/एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.