थोमस कुकको अन्त्य र एनएसीको भविष्य

  २०७६ असोज १५ गते १५:१३     विकासन्युज

निगमकाे जहाजकाे फाइल तस्बिर

१७८ वर्ष इतिहास अन्त्य गर्दै विश्वको पहिलो ट्राभल कम्पनी थोमस कुकले गत साता औपचारिक टाट उल्टिएको घोषणा गर्यो । यसले विश्वका १६ देशमा २२ हजार कर्मचारीलाई बेरोजगार बनायो । सन् १९४१ मा बेलायतमा खुलेको उक्त कम्पनीले टुर प्याकेजको योजना ल्याएसँगै सन् १९५५ मा अन्तराष्ट्रिय कम्पनीको रुपमा परिणत भएको थियो ।

सन् १८९२ मा कम्पनीका संस्थापक थोमस कुकको निधन भएपछि मैसन कुकले उक्त कारोबार सम्हालेका थिए । सन् १९२८ मा उक्त कम्पनी सो परिवारले अर्को मालिकलाई बेचिदिएका थिए । दोस्रो विश्वयुद्धमा सो कम्पनीले आफ्ना यात्रुहरुको राम्रो व्यवस्थापन गर्न सकेन । परिणाम १९४८ मा सो कम्पनीलाई व्रिटिस सरकारले राष्ट्रियकरण गरेको थियो । २४ वर्षपछि सन् १९७२ मा सो कम्पनीलाई फेरि निजी क्षेत्रलाई हस्तान्तरण गरियो जसको शेयर मिडल्याण्ड बैंक, होटलियर ट्रष्ट हाउस फोर्ट र अटोमोबाइल एशोसिएसनले किनेका थिए ।

सन् १९९२ मा सो कम्पनीलाई जर्मनीको सहवित्तीयकरण गर्ने संस्थाले लगानी गर्यो । फेरि २००१ मा सी एण्ड एन टुरिस्टिक एजी नामक कम्पनीले यसको अधिग्रहण गरेपछि त्यसको नाम थोमस कुक एजी भएको थियो । २००७ मा सो कम्पनीले ले बेलायतकै एउटा ट्राभल कम्पनी माई ट्राभल्सलाई आफूमा गाभ्यो ।

कम्पनी बन्द हुनुको पछाडि प्रतिस्पर्धालाई नै मुख्य कारणको रुपमा लिइएको छ । इन्टरनेटको माध्यमबाट सस्तो हवाई टिकट बुक गर्ने कम्पनीहरु सक्रिय भएपछि ‘ट्राभल प्याकेज’ गर्ने यसलाई थप अप्ठ्यारो परेको थियो । यो कम्पनी बचाउन अघिल्लो महिना मात्रै चीनको एउटा इन्भेष्टमेन्ट कम्पनीले १.१ अर्ब डलर लगानी गर्यो तर त्यसले पनि कम्पनीलाई बचाउन सकेन

थोमक कुकको अन्त्यले के प्रष्ट पारेको छ भने कम्पनी पुरानो र ब्राण्ड पुरानो हुँदैमा कम्पनी बलियो हुँदैन । यो सत्यतालाई नेपाल वायुसेवा निगमले आत्मसाथ गर्नु जरुरी छ । निगमको सुधारका लागि सरकारले गठन गरेको एक कार्यदलले निगम सुधारको लागि विभिन्न सुझाव प्रस्तुत गरेको छ ।

निगम करिव ४० अर्ब रुपैयाँ ऋणमा डुबेको छ । असार मसान्तसम्म ५ अर्ब २१ करोड ७६ लाख सञ्चित नोक्सानीमा रहेको छ । निगमको आर्थिक व्यवस्थापनका लागि नेपाल वित्तिय प्रतिवेदन मान(एनएफआरएस) अनुसार बनेको छैन । कर्मचारीहरुलाई तलव भुक्तान गर्न पनि समस्या हुने अवस्था देखिएको छ ।

एकातिर निगममा दक्ष जनशक्ति छैनन् । निगमको सञ्चालन खर्च धान्न आवश्यक विमान समेत छैनन् । निगम सुधारका लागि थप २ वटा एयर बस ३२० खरिद गर्न सुझाव दिएको छ । समयानुकुल प्रतिस्पर्धामक क्षमता अभिबृद्धि गर्न जहाजको कमि, व्यवस्थापनमा राजनीतिक हस्तक्षेप, परम्परागत र अपारदर्शी निर्णय र प्रक्रिया, राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार प्रवद्र्धन गर्ने दक्ष जनशक्तिको अभाव लगायतका निगमका कमजोरी रहेको कार्यदलले तयार पारेको प्रतिवेदनमा उल्लेख गरेको छ । बहुपक्षीय लगानीकर्ता भित्र्याउँदै कम्पनी मोडलमा लैजानुपर्ने लगायत १३ सुझाब दिएको छ । उक्त सुझावलाई कार्यान्वन गर्दै निगम बचाउने दिशामा तत्काल काम थाल्नुपर्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.