ग्लोबल आईएमईले लाभांश दियो, हाथवेका शेयरधनीको शेयर नै ‘हरायो’, सीडीएससीका कारण हजारौं शेयरधनी अन्योलमा

  २०७६ असोज १४ गते १४:४०     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई बैंकले आर्थिक वर्ष आर्थिक वर्ष २०७५/७६ को नाफाबाट आफ्ना शेयरधनीलाई २५ प्रतिशत लाभांश घोषणा गर्यो । केही समय अघिमात्रै हाथवे फाइनान्सलाई आफूमा गाभेको ग्लोबल आईएमईले घोषणा गरेको उक्त नाफामा तात्कालिन हाथवे फाइनान्सका शेयरधनी पनि सहभागी हुन पाउँछन्, तर लाभांश घोषणामा खुसी हुने बेलामा उनीहरु भने आफ्नो डिम्याट खाताबाट शेयर नै हराएर पीडित छन् ।

ग्लोबल आईएमईले हाथवेलाई प्रतिशेयर ४२ रुपैंया दिएर आफूमा गाभेको थियो जसअनुसार हाथेका शेयरधनीले कुल कित्ताको ४२ प्रतिशत बराबर हुन आउने ग्लोबल आईएमई बैंकको शेयर पाउनुपर्ने थियो । तर शेयरधनीको डिम्याट खाताबाट हाथवेको शेयर हरायो तर अहिलेसम्म ग्लोबल आईएमईको शेयर आएको छैन ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडले भने शेयर कन्भर्सन हुँदा समय लागेको बताएको छ । सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानेले कम्पनी मर्जर वा एक्विजिसनपछि सम्बन्धित कम्पनीहरुका आरटीएसले शेयर कन्भर्ट गर्न आवेदन दिएपछि त्यो प्रक्रिया पूरा गर्न समय लाग्ने भएकोले शेयर नदेखिएको जानकारी दिए । ‘आरटीएसहरुले ल्याएको डकुमेन्ट पूरा नहुँदा वा सेबोनले एप्रुभ गर्न समय लगाउँदा यसमा समय लाग्ने गरेको हो, कसैको पनि खाताबाट शेयर हराउँदैन, कन्भर्ट भएपछि आउँछ’ उनले भने ।

आरटीएसहरु भन्छन्, बिनाकारण गाली खानुपर्छ

त्यसो त यो समस्या हाथवेको मात्रै होइन, मर्जर वा एक्विजिसनमा गएका सबै कम्पनीहरुको शेयर कन्भर्सनमा त्यस्तै समस्या देखिने गरेको छ, सप्तकोशी विकास बैंक र काबेली विकास बैंकको शेयर कन्भर्सनमा पनि त्यस्तै समस्या देखिएको थियो भने अरु जुनसुकै कम्पनीमा पनि त्यस्तै समस्या देखिने गरेको आरटीएसहरु बताउँछन् । यसले गर्दा शेयरधनीहरुबाट धेरै गुनासो र गाली खानुपरेको दुःखेसो छ उनीहरुको छ ।
‘शेयरधनीको खाताबाट शेयर नै हराउँदा ग्राहकको गुनासो ल्याउनु स्वाभाविक पनि हो, कहिले ग्राहकहरु सोझै आएर कराउँछन्, कहिले डीपीहरुले भन्छन्, कहिले त कम्पनीले समेत के भएको भनेर सोध्छन्, हामीले गर्नसक्ने केही होइन, तनाव मात्रै खेप्नुपर्छ’ एकजना आरटीएसका अधिकारीले विकासन्यूजसँग भने ।

समाधान छैन ?

लगानीकर्ता संघका नेताहरु झट्ट हेर्दा यो समस्याजस्तै नदेखिए पनि यसले सम्बन्धित शेयरधनीहरुलाई निकै ठूलो असर गर्ने गर्ने बताउँछन् । यसका लागि सीडीएससीले सानो प्रयास गरे पनि पुग्ने उनीहरुको भनाई छ ।

‘यो ठूलो कुरा होइन, सीडीएससीले चाहे तत्कालै समस्या समाधान गर्नसक्ने कुरा पनि हो, तर हामीले देवजी (सीडीएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ता) लाई यसबारे भनेका पनि थियौं तर किन उहाँले यसलाई गम्भीरतापूर्वक लिनुभएन अचम्म लागेको छ’ – मेरो नाम नलेख्नु भन्दै एक लगानीकर्ता नेताले विकास न्यूजसँग भने । उनले सीडीएससीले ग्राहकबाट शुल्क उठाउने काममा मात्रै बढी ध्यान दिने गरेको आरोप उनको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.