४० प्रतिशत शेयर स्वामित्व रहेको वेतन कर्णालीको डीपीआर पुससम्म

२०७६ असोज १३ गते १४:१८ विकासन्युज

काठमाडौं । वेतन कर्णाली जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) पुससम्म तयार हुने भएको छ । नेपाल इन्जिनीयरिङ कम्पनीले यस आयोजनाको डीपीआर बनाउने जिम्मा पाएको र पुससम्ममा डीपीआर तयार हुने बताइएको छ । कर्मचारी संचयकोषले वेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी स्थापना गरी अगाडि बढाएको कम्पनीको प्रबन्ध निर्देशक दीपक रौनियारले बताए ।

‘कम्पनीको डीपीआर ड्राफलाई इन्जिनियरले अन्तिम रुप दिन लागिएको छ ,’उनले भने ‘ पुससम्म यो तयार हुन्छ ।’ कर्मचारी संचय कोषका संचयकर्ताहरूको अधिकांश शेयर लगानी रहेको वेतन कर्णालीमा अहिले प्राविधिक पक्षको काम भइरहेको रौनियारले बताए । ऋण लगानी मात्र गर्दै आएको संचय कोषले जलविद्युत् आयोजना निर्माणमा आफैले लगानी गर्न लागेको भने यो पहिलो पटक हो । आयोजना निर्माणको लाग्ने लगानी भने अन्तिम डीपीआर आएपछि थाहा हुने रौनियारले बताए ।

कर्णाली प्रदेशको सुर्खेत र अछाम जिल्लामा निर्माण हुने यस आयोजना शुरूमा ६८८ मेगावाट क्षमताको हुने बताइएको थियो । तर, अहिले त्यसलाई घटाएर ४४२ मेगावाट बराबरको विद्युत् उत्पादन गर्ने गरी डीपीआर तयार गर्न लागिएको रौनियारले जानकारी दिए । कम्पनीको अधिकृत पुँजी २० अर्ब रुपैयाँ र जारी पुँजी १० अर्ब रुपैयाँ रहेको छ । यसमा संचय कोषका झन्डै ६ लाख संचयकर्ताको ४० प्रतिशत सेयर स्वामित्व रहने छ ।

संचयकोषले संचयकर्तालाई प्रदान गर्ने लाभांशको ५० प्रतिशत रकम विगत ३ वर्षदेखि उक्त आयोजनाको पूँजी निर्माणका लागि छुट्टाउँदै आएको छ । हालसम्म उक्त पूँजी करिब ५ अर्ब पुग्न लागेको छ । आयोजनामा संचयकर्ताबाट करिब ९ अर्ब रुपैयाँ स्वपुँजी जुट्ने अनुमान गरिएको छ । अबको ३ वर्षभित्र जम्मा गर्ने बताइएको छ । आयोजनामा लगानी नभएसम्म संचयकर्ताले संचित रकमको ब्याज पाउँदैनन् ।

संचयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको आयोजनाका लागि स्रोत जुटाउने सन्दर्भमा कर्मचारी संचय कोषले नेपाल एसबीआई बैंक र नविल बैंकसँग सम्झौता गरिसकेको छ । यी दुई बैंकले आयोजनाका लागि आवश्यक कुल ऋणमध्ये आंशिक अर्थात २५ अर्ब रुपैयाँसम्मको ऋण सहयोग गर्ने सम्झौता भएको छ । स्रोत जुटाउन बैंकहरू सहवित्तीयकरण समूह गठन गरी ऋण व्यवस्थापन गर्ने छन् ।

अर्धजलासययुक्त (पिकिङ रअ अफ दी रिभर) प्रकृतिको यो आयोजना निर्माण गर्न पहिला ७० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । कोषका सञ्चयकर्ताबाट ६ वर्षमा ९ अर्ब रुपैयाँ स्वपुँजी जुट्ने अनुमान गरिएको छ । ५० अर्ब रुपैयाँ बैंकबाट ऋण लिने योजना तय भएको छ । कोषका संचयकर्ताले वर्षेनी औसत १ अर्ब ३० करोड रुपैयाँ नाफा पाउने गरेका छन् ।

काम सुरु गरेको ६ वर्षमा आयोजना काम सम्पन्न गर्ने लक्ष्य तय भएको छ । आयोजनाको सुरुङ ६.६ किलोमिटर लामो हुनेछ । १६ किलोमिटर लामो पहँुचमार्ग र ५ किलोमिटर लामो प्रसारणलाइन बनाउनु पर्ने देखिएको छ ।

संचयकोषले विभिन्न जलविद्युत् आयोजनामा ऋण लगानीमात्र गर्दै आएको थियो । कोषले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा १२ अर्ब रुपैयाँ लगानी गरेको छ । त्यस्तै, चिलिमे हाइड्रोपावर कम्पनी अन्तर्गतको रसुवागढी, सान्जेन–१, सान्जेन–२ र मध्यभोटेकोशी जलविद्युत् आयोजनामा गरी कोषले थप १६ अर्ब रुपैयाँ लगानी गरेको छ ।