साधारणसभा गर्न वाणिज्य बैंकले जस्तो ढिलो नगर्ने, ‘धेरै विकास बैंकहरु राष्ट्र बैंक गइसके’

  २०७६ असोज ८ गते १२:४८     विकासन्युज

काठमाडौं । एनएफआरएस प्रणालीअन्तर्गत वित्तीय विवरण बनाउन अनिवार्य गरिएका विकास बैंकहरुको साधारणसभा वाणिज्य बैंक तथा बीमा कम्पनीहरूको जस्तो ढिलो नहुने भएको छ । अधिकांश विकास बैंकहरुले नयाँ लेखाप्रणालीअनुसार वित्तीय विवरण बनाएर स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाइसकेको र राष्ट्र बैंकले विवरण स्वीकृत गर्नेबित्तिकै साधारणसभा बोलाउने डेभलपमेन्ट बैंकर्स एशोसिएसन अफ नेपालले जनाएको छ ।

संघका अध्यक्ष गोविन्द ढकालले यसअघि नै ४/५ ओटा विकास बैंकहरुले विवरण पठाइसकेको भन्दै यसबीचमा अन्य धेरै बैंकहरुले वित्तीय विवरण तयार गरेर राष्ट्र बैंकमा पठाइसकेको जानकारी दिए । ‘गरिमा विकास बैंक लगायत ४÷५ ओटा बैंकहरुले धेरै दिनअघि नै राष्ट्र बैंकमा रिपोर्ट पठाइसकेका थिए, अहिले त धेरैजसोले पठाइसके होला, राष्ट्र बैंकले विवरण स्वीकृत गर्ने बित्तिकै हामी साधारणसभा बोलाउँछौं, ढिलो गर्दैनौं ।’ अध्यक्ष ढकालले विकासन्यूजसँग भने ।

उनले राष्ट्र बैंकले विवरणहरु स्वीकृत गर्न लगाउने समयका आधारमा बैंकहरुले साधारणसभा बोलाउने भन्दै बैंकहरुले गर्दा साधारणसभा बोलाउन ढिला नहुने बताए । उनले पुस मसान्तभित्रै सबैजसो बैंकहरुले साधारणसभा बोलाउनसक्नेमा विश्वस्त रहेको समेत बताए ।

वाणिज्य बैंक र बीमा कम्पनीहरुले अनिवार्य रुपमा एनएफआरएस प्रणाली लागु गरेपछि गत वर्ष बैंकहरुको साधारणसभा बोलाउन निकै ढिला भएको थियो । १५ ओटा बैंकहरुले समय घर्किएपछि मात्रै साधारणसभा बोलाएका थिए । बीमा कम्पनीहरुमा त कतिपयले अझैसम्म पनि साधारणसभा बोलाउन सकेका छैनन् ।

यो वर्षदेखि विकास बैंक र फाइनान्स कम्पनीलाई यो लेखाप्रणाली अनिवार्य गरिएको छ । पुरानो एनएएस प्रणालीमा धेरैजसो मानहरु वास्तविक हुने र या प्रणालीमा अनुमानित औसत हुने भएको कारणले पुरानो प्रणालीबाट नयाँ प्रणालीमा सिफ्ट हुँदा त्यसले समय लिने गरेको थियो । अब एनएफआरएस नयाँ नभएको र अघिल्लो वर्षदेखि नै विकास बैंकहरु यो प्रणालीमा जान तयार भएका कारण ढिलाई नहुने भएको हो ।

कम्पनी ऐन २०६३ ले कुनैपनि कम्पनीहरुले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र अघिल्लो आर्थिक वर्षको वित्तीय विवरणको लेखापरीक्षण गरी त्यसलाई साधारणसभाबाट पारित गराएर कम्पनी रजिष्टर कार्यालयमा कम्पनी अद्यावधि गर्नुपर्ने व्यवस्था गरेको छ । सो समयभित्र कम्पनी अद्यावधि नभएमा कार्यालयले जरिवाना गर्ने व्यवस्था छ ।

हालैमात्र शेयर बजारमा आएको मार्जिन ट्रेडिङका लागि योग्य हुन पनि पुस मसान्तभित्र साधारणसभा गर्न अनिवार्य मानिन्छ, त्यसका लागि पनि बैंकहरुले साधारणसभा गर्न हतार गरेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.