एनआईसी एशियाले थप तीन सहायक कम्पनी खोल्ने, सुन र रेमिट्यान्स कारोबारमा आक्रामक बन्दै

  २०७६ असोज ३ गते ११:२६     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले थप तीन सहायक कम्पनी खोल्ने भएको छ । यूनिभर्सल बैकिङ अवधारणा अनुरुप बैंकले प्रदान गरिरहेको बैकिङ सेवा सुविधालाई थप वृहत बनाउन एवं परिष्कृत सेवा प्रदान गर्नको लागि सहायक कम्पनीहरु खोल्न लागेको बैंकले जनाएको छ ।

बैंकले विप्रेषण (रेमिट्यान्स) कारोबार गर्न, सुनचाँदी धितोमा राखी कर्जा प्रवाह गर्न र क्रेडिट रेटिङ सेवा सञ्चालन गर्न सहायक कम्पनी खोल्न लागेको हो । यसअघि बैंकले एनआईसी एशिया क्यापिटल नामको सहायक कम्पनी खोली पुँजी बजारसम्बन्धि विविध काम गर्दै आएको छ ।

सहायक कम्पनी दुई मोडलबाट खोल्न राष्ट्र बैंकसँग प्रस्ताव गर्ने र राष्ट्र बैंकको स्वीकृतिको आधारमा कम्पनी खोल्ने बैंकले प्रष्ट पारेको छ । ‘कुनै स्वदेशी वा विदेशी फर्म, कम्पनी, संघ संस्थासँग संयुक्त लगानीमा पनि यस्ता सहायक कम्पनी खोल्न सक्छौं । बैंकको मात्र लगानीमा पनि सहायक कम्पनी खोल्न सक्छौं’ बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले बताए ।

सहायक कम्पनी खोल्न सम्बन्धि प्रस्ताव आगामी साधारणसभाबाट पेस गरिने र साधारणसभाले अनुमोदन गरेपछि तत्काल कार्यान्वयनमा लैजाने बैंकले जनाएको छ । सहायक कम्पनी सञ्चालनसँगै रेमिट्यान्स र सुन कारोबारमा बैंक आक्रामक बन्ने भएको छ ।

बैंकले असोज १० गते साधारणसभा गर्दैछ । साधारणसभामा सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने मुख्य प्रस्ताव छ । त्यसमा ११ प्रतिशत नगद लाभांश दिने र १० प्रतिशत बोनस सेयर दिने बैंकको प्रस्ताव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.