अर्थमन्त्रीको अभिव्यक्ति पछि उचालियो सेयर बजार, २७ अंकले बढ्यो, ३८ करोडको कारोबार

  २०७६ भदौ ३१ गते १६:४६     विकासन्युज

काठमाडौ । अर्थमन्त्री डा.युवराज खतिवडाले कर्मचारी संचय कोषको ५८ औं बार्षिकोत्सव समारोहमा दोस्रो बजारका खेलाडीहरूले खेल्ने तथा बजारमा नयाँ लगानीकर्ता प्रवेश गर्ने बेला आएको अभिव्यक्ति दिएपछि साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक २६.९१ अंकले बढेको हो ।

बजार २.३९ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११५०.७४ बिन्दुमा पुगेको छ । उक्त कार्यक्रममा उनले लगानीकर्ताहरूको विश्वास बढाउनु पर्ने अवस्था आएको बताएका थिए । पछिल्लो समय बैंकहरूको नाफा बढिरहेको, वित्तीय प्रणाली सवल भएको, राजनीतिक स्थायित्व भएको, करको समस्या करिब समाधान भएपछि पनि बजारमा गिरावट आउनु राम्रो नभएको भन्दै यो समयमा दोस्रो बजारमा नयाँ लगानीकर्ता प्रवेश गर्न सुझाव दिएका थिए ।

मंगलबार सेयर बजारमा १ सय ७१ कम्पनीले कारोबार गरेका छन् । १३ लाख ७७ हजार ९ सय ४६ कित्ता सेयर किनबेच हुँदा ३८ करोड ३९ लाख ५७ हजार ४ सय २६ रुपैयाँको कारोबार भएको छ । बजार बढेको दिन नेप्सेमा म्यूचुअल फण्डको सूचक मात्र रातो देखिएको छ ।

बैक समूह २१.०७, टेडिङ समूह २.२८, होटल समूह ५७.७९, विकास बैंक समूह २६.७७, जलविद्युत समूह ३९.५, वित्तीय समूह ८.४६, निर्जीवन बीमा समूह ८८.५७, उत्पादन मूलकसमूह १०७.१, अन्य २०.२६, माइक्रो फाइनान्स ३०.२, जीवन बीमा समूह १०२.९३ अंकले बढेका छन् । शिवम सिमेन्टका लगानीकर्ताले ९ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् ।

२६.९१ अंकले बजार बढेको दिनमा घाटा व्यहोर्ने १० कम्पनी

बजार बढेको दिन इभरेष्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ५.५९ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।
यस्तै, आखुखोला जलविद्युत कम्पनीका लगानीकर्ताले ५.३५ प्रतिशत, सिटिजन बैक इन्टरनेशनल लिमिटेडका लगानीकर्ताले ५.०६ प्रतिशत, सिन्धु विकास बैक लिमिटेडका लगानीकर्ताले ४.७६ प्रतिशत, सानिमा इक्युटी फण्डका लगानीकर्ताले ३.०३ प्रतिशत मंगलबार गुमाउने कम्पनीको उच्च सूचीमा परेका छन् ।

कालिका पावर कम्पनी लिमिटेडका लगानीकर्ताले २.४३ प्रतिशत गुमाएका छन् । सिटि एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले २.०२ प्रतिशत, लक्ष्मी भ्यालु फण्ड वानका लगानीकर्ताले २ प्रतिशत पनि गुमाउने कम्पनीमा परेका छन् । सर्पोट माईक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले १.६७ प्रतिशत, एनआईसी एशिया ग्रोथ फण्डका लगानीकर्ताले १.५८ प्रतिशतले घाटा व्यहोरेका छन् ।