आरटिआर २०० ४भी र एनएस २००, जानौं यी दुईमा कुन छ राम्रो

  २०७६ भदौ ३० गते १०:४४     विकासन्युज

काठमाडाैं । खासगरी मोटरसाइकल किन्नुभन्दा अगाडि ग्राहकले उचित मूल्य, राम्रो पर्फमेन्स, आकर्षक लुक्स तथा राम्रो माइलेज लगायतका कुराहरुलाई ध्यानमा राख्ने गर्दछन् । हाल नेपाली बजारमा यी सम्पूर्ण खुबीहरु भएको मोटरसाइकलका रुपमा बजाजको पल्सर एनएस २०० र टिभिएसको अपाचे आरटिआर २०० ४भीलाई बढी रुचाइएको पाइन्छ ।

यी दुई मोटरसाइकलहरुमा धेरै समानताहरु पाइएता पनि कतिपय कुराहरुमा भने भिन्नता रहेका छन् । आज हामिले यी दुई मोटरसाइकलका भिन्नताहरुलाई तपाईंका सामू लिएर आएका छौं, जसले तपाईंलाई यी दुईमध्येका मोटरसाइकलबाट कुनै एउटा छान्नमा मद्दत पुर्याउने छ ।

लुक्स

अपाचे आरटिआर २०० ४भी को समग्र डिजाइनलाई हेर्ने हो भने पल्सर एनएस २०० को तुलनामा यो मोटरसाइकल स्लिम र स्लिक रहेको छ । तुलनात्मक रुपमा हेभि देखिने एनएस २०० को फ्यूल ट्याङ्क भने आरटिआर २०० को भन्दा बल्की छ । एनएसमा अण्डर बेली एक्जस्ट दिइएको छ भने आरटिआरमा चाहिँ म्याट ब्ल्याक फिनिसिङ्गको एक्जस्ट दिइएको छ । त्यसैगरी, कम्पनीले एनएसमा सेमी डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल दिएको छ भने आरटिआरमा चाहिँ फूल डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल दिएको छ ।

डाइमेन्सन

डाइमेन्सनको कुरा गर्दा एनएस २०० को लम्वाई २०१७ मिलिमिटर छ भने आरटिआर २०० को लम्वाई भने २०५० मिलिमिटर रहेको छ । त्यसैगरी एनएस २०० को चौडाई ८०४ मिलिमिटर, उचाई १०७५ मिलिमिटर, सीट हाइट ८०५ मिलिमिटर, ग्राउण्ड क्लियरेन्स १६७ मिलिमिटर र व्हिलवेश चाहिँ १३६३ मिलिमिटर रहेको छ भने आरटिआर २०० को चौडाई ७९० मिलिमिटर, उचाई ११०५ मिलिमिटर, सीटहाइट ८०० मिलिमिटर, ग्राउण्ड क्लियरेन्स १८० मिलिमिटर र व्हिलवेश चाहिँ १३५३ मिलिमिटर रहेको छ । त्यसैगरी कर्ववेटको कुरा गर्नुपर्दा एनएस २०० को कर्ववेट १५१ के.जी. छ भने आरटिआर २०० को कर्ववेट चाहिँ १४८ के.जी. रहेको छ ।

इञ्जिन तथा गियर

एनएस २०० मा १९९.५ सीसीको लिक्विड कूल्ड इञ्जिन दिइएको छ भने आरटिआर २०० मा चाहिँ १९७.८ सीसीको ओयल कूल्ड इञ्जिन दिइएको छ । त्यसैगरी गियरको कुरा गर्नुपर्दा एनएस २०० मा ६–स्पिड गियरबक्स दिइएको छ भने आरटिआर २०० मा चाहिँ ५–स्पिड गियरबक्स दिइएको छ ।

पर्फमेन्स

एनएस २०० को इञ्जिनले ९५०० आरपिएममा २३.१७ बीएचपीको पावर र ८००० आरपीएममा १८.३ एनएमको टर्क प्रोड्यूस गर्दछ । तर आरटिआर २०० को इञ्जिनले भने ८५०० आरपिएममा २०.२ बीएचपीको पावर र ७००० आरपीएममा १८.१ एनएमको टर्क प्रोड्यूस गर्दछ । त्यसैगरी एनएस २०० ले ० देखि ६० सम्मको स्पिड ३.७ सेकेण्डमा कभर गर्न सक्छ भने ० देखि १०० को स्पिड चाहिँ १०.५ सेकेण्डमा कभर गर्न सक्छ । तर आरटिआर २०० ले चाहिँ ० देखि ६० सम्मको स्पिड केवल ३.६ सेकेण्डमै र त्यसैगरी ० देखि १०० को स्पिड चाहिँ ११.५ सेकेण्डमा कभर गर्न सक्छ ।

टप स्पिड र माइलेज

एनएस २०० को टप स्पिड १३६ केएमपीएच र आरटिआर २०० को टप स्पिड चाहिँ १३५ केएमपीएच छ भनी सम्वन्धित कम्पनीहरुले दावी गरेका छन् । त्यसैगरी एनएस २०० ले ३५ केएमपीएल माइलेज दिन्छ भने आरटिआर २०० ले चाहिँ ४० केएमपीएल माइलेज दिने गरेको छ । तर स्मरण रहोस् माइलेज भन्ने कुरा चाहिँ राइडरको कुदाउने तरिकामा भरपर्ने कुरा हो ।

मूल्य

नेपाली बजारमा एनएस २०० को मूल्य रु. ३,१९,९०० तोकिएको छ भने आरटिआर २०० ४भी को मूल्य चाहिँ रु. ३,२४,९०० तोकिएको छ ।

अन्य

एनएस २०० को फ्रन्ट टायर १००/८० सेक्सनको छ भने आरटिआर २०० को चाहिँ ९०/९० सेक्सनको छ । त्यसैगरी एनएसमा प्रेस्ड स्टिल पेरिमिटर फ्रेम दिइएको छ भने आरटिआर मा चाहिँ डवल क्रेडल स्प्लिट सिङ्क्रो स्टिफ फ्रेम दिइएको छ । स्लिपर क्लचको कुरा गर्नुपर्दा आरटिआर २०० मा यो फिचर दिइएको छ भने एनएस २०० मा चाहिँ दिइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.