‘मैले केही गल्ती गरेको छैन सर, सिसिटिभिमा हेरौं, त्यतै थाहा हुन्छ’

  २०७६ भदौ २६ गते १९:४०     सन्तोष रोकाया

ट्राफिकः तपाई बाइक साइड लगाउनुस्, सडकमा गुडिरहेको सवारी चालकलाई संकेत गर्दै ट्राफिक प्रहरीले चालकलाई सडक किनारामा रोक्यो ।

चालकः मैले के बिगारे सर ? आफ्नो बाटोमा त आइरहेको छु ।

ट्राफिकः लेन क्रस गर्नुभयो । तपाईको लाइसेन्स दिनुस् भन्दै त्यति चिट काट्न भ्याए ट्राफिकले ।

चालकः बरु जेसुकै गर्नुहोस् । मैले लेन क्रस गरेको छैन । मेरो लाइसेन्स फिर्ता दिनुस् । चालक आफ्नो कुरामा अडिक बने ।

ट्राफिकः तपाईले लेन क्रस गर्नु भएको छ । मान्दै नमान्ने हो भने अफिसमा आउनुहोस् उतै सिसि टिभीमा देखिन्छ । अनि भोली सचेतना क्लास पनि लिन आउनुस् भन्दै ट्राफिक प्रहरी आफ्नो काममा लागे ।

यो सम्वाद हो सवारी चालक र ट्राफिक प्रहरीबीचको । बिहिबार राजधानी काठमाडौंको रामशाहपथ चोकमा देखिएको दृश्य । यो र यस्तै जुहारी रामशाहपथ चोकमा मात्र होइन राजधानीका हरेक सडक र चोक–चोकमा देख्न र सुन्न पाइन्छ ।

पछिल्लो समय ट्राफिक प्रहरी सवारी चालकहरू प्रति खरो र कडा निगरानीमा उत्रिएका छन् । ट्राफिक प्रहरीले सामान्य लेन मिचेको, ट्राफिक संकेतहरू नबुझी हावा तालमा सवारी हाँकेको, मापसे सेवन गरेर सवारी चलाएका चालकहरुलाई छानी–छानी कारवाही गरी रहेको छ ।
दिनानुदिन राजधानीमा सवारी साधनसँगै सवारी चालकहरूको संख्यामा पनि बृद्धि भइरहेको छ ।

नयाँ सवारी चालक र उल्लेख्य सवारी साधनको वृद्धिका कारण पनि दैनिक सवारी दुर्घटना बढ्दै गएका छन् । सवारी दुर्घटनामा कमी ल्याउन र चालकलाई ट्राफिक नियम सम्बन्धि ज्ञात गराउन ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७०/०७१ देखि नियमित बृहत ट्राफिक जनचेतनामूलक कार्यक्रमहरू संचालन गर्दै आएको छ ।

मापसे सेवन गरेका ३९ हजारले लिए ट्राफिक सचेतना कक्षा

महानगरिय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा आर्थिक वर्ष २०७०/०७१ देखि हाल सम्म मापसे सेवन गरेका ३९ हजार ७३ जनाले सचेतना कक्षा लिएका छन् ।

यस्तै उपत्यकाका तीन जिल्ला काठमाडौ, भक्तपुर र ललितपुरमा लेन अनुशासन सचेतना कक्षा लिनेहरूको संख्या हाल सम्म ४६ हजार ३ सय ३६ जना रहेका छन् ।

चालु आर्थिक वर्षको दुई महिना अर्थात साउन र भदौको हालसम्म मापसे सेवन गरेर सवारी साधन चलाउने ६ हजार ७९ जनाले सचेतना कक्षा लिएका छन् भने ६ हजार ७ सय ५५ जनाले लेन अनुशासन पालना नगरे बाफत कारबाहीमा परेर कक्षामा सहभागी भएका छन् ।

महानगरिय ट्राफिक प्रहरी महाशाखाले गत आर्थिक वर्ष २०७५/०७६ मा कारबाहीमा परेकाहरूबाट करिब ३१ करोड राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको दुई महिना अर्थात साउन र भदौमा मात्रै महाशाखाले २ करोड ४६ लाख ४५ हजार राजस्व संकलन गरेको महाशाखाले जनाएको छ । ।

आर्थिक वर्ष २०७४/०७५ को भन्दा गत आर्थिक वर्ष २०७५/०७६ मा सवारी साधनको चाप बढेसँगै सवारी साधनहरू पनि बढी कारबाहीमा परेका कारण राजस्वको दर वृद्धि भएको महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक रबि कुमार पौडेलले बताए । चालकले मापसे सेवन गरेका, लेन अनुशासन पालन नगरेका, सवारी साधनमा बढी भाडा उठाएका र फुटपाथ तथा सडकमा पार्क गर्ने लगायतका कारण सवारी साधन कारबाहीमा पर्ने गरेको उनको भनाइ छ ।

पछिल्लो समय ट्राफिक सचेतना कार्यक्रमहरू सञ्चालनमा आएपनि सवारी साधन कारबाहीमा भने किन कमी आउन सकेको छैन । सवारी चालकहरूलाई सचेतना कक्षा दिँदै आएका प्रहरी नायव उपरिक्षक हरिशरण पौडेलले सवारी साधनको संख्या बढ्दै गएका कारण र उनीहरू स्व–अनुशासित नबन्दा कारबाही संख्या बढ्दै गएको उनले बताए । उनले दैनिक एक सय पचास जना जति कारबाहीमा परेर कक्षा लिन आउने गरेको बताए । हाल महाशाखाले दैनिक ६ सेसनमा कारबाहीमा परेका सवारी चालकहरुलाई सचेतना कक्षा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.