दशैं आसपासमा जयनगर-बर्दिवासमा नकुद्ने भो रेल, अब दीपावलीको भाका

  २०७६ भदौ ९ गते ११:४५     सन्ताेष राेकाया

काठमाडौं । भारतीय सीमा क्षेत्रसँग जाडिने गरी निर्माणाधीन जयनगर-बर्दिवास रेलमार्गमा तिहार(दीपावली) पर्वकै सेरोफेरोमा रेल कुद्ने भएको छ ।

भारत सरकारको आर्थिक र प्राविधिक सहयोग रहेको उक्त रेलमार्गमा कात्तिक महिना भित्र नै रेल कुद्ने विभागले जनाएको छ । जयनगर-बर्दिवास सडक ६९ किलोमिटर रेलमार्ग मध्ये हालसम्म ३४ किलोमिटर ट्रयाक निर्माण सम्पन्न भएको विभागका सूचना अधिकारी अमन चित्रकारले बताए ।

नेपालले रेलमार्ग निर्माण गर्न आवश्यक जग्गा उपलब्ध गराउने, वन क्षेत्रको रुख कटान, बिजुलीका पोल हटाउने लगायत काम गर्नुपर्ने छ । भारतको राइट्स कम्पनीले तयार पारेको ढाँचाका आधारमा रेलमार्गको स्टेसनहरूको निर्माण गरिएको छ । सो रेल अहिले भारतको मद्रासमा सो मार्गमा चल्ने रेल निर्माणाधीन अवस्थामा रहेको रेल विभागले जनाएको छ ।

जयनगर-बर्दिबास रेलमार्ग निर्माणमा १० अर्ब खर्च
जयनगरदेखि बर्दिबाससम्मको ६९ किलोमिटर लम्बाइको रेलर्माग निर्माण गर्न १० अर्ब रुपैयाँ ९६ सय ५० करोड भारु खर्च हुने जनाइएको छ । भारतले सम्पूर्ण पूर्वाधार निर्माण गरिदिने भएकाले लागत थप भएमा पनि भारतीय रेल मन्त्रालयले व्यहोर्ने छ । त्यो सबै काम भारतले गर्ने भएकाले नेपाली पक्षलाई खर्चको विस्तृत जानकारीसमेत नहुने चित्रकारले बताए । यसअघि असोजभित्रै(दशैँ पर्वकै आसपास)  सञ्चालन हुने भनिएपनि बाढीले क्षति पुर्याउँदा समय लम्बिएको उनले बताए ।

दुई रेल ८५ करोडमा खरिद
विभागका अनुसार जयनगर–बर्दिबास रेलमार्गमा चल्ने दुई रेल र त्यसमा रहने ५ देखि १० वटा डिब्बाका लागि कूल ८५ करोड आवश्यक पर्ने जनाइएको छ । जयनगरदेखि बर्दिबाससम्म ६९ किमी रेलमार्गमा ८ स्टेसन र ६ हल्ट अर्थात् रेल रोक्ने ठाउँ गरी १४ विश्रामस्थल निर्माण गरिने रेल विभागले जनाएको छ । यसका लागि २० प्रतिशत पेस्की रकम दिइसकिएको छ । ८० प्रतिशत रेल आएपछि दिइनेछ ।

जयनगर, खजुरी, इनर्वा, खजुरी, वैदेही, कुर्था, महोत्तरीको खुट्टापिराडी र बर्दिबास गरी ८ वटा स्टेसन तोकिएको छ । त्यसैगरी महिनाथपुर, देउरी परवाहा, जनकपुर, महोत्तरीको लोहारपट्टी, सिंग्याही र रामनगरमा हल्ट निर्धारण गरिएको छ । पहिलो चरणमा एउटा सेट मात्र आउनेछ । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल खरिद गर्न लागिएको हो ।

डिजेल, इलेक्ट्रिक, मल्टिपल युनिट प्रविधिको सो रेलमा एउटामा पाँच डिब्बा रहने छ । एक हजार २०० सम्म यात्रु बोक्ने क्षमता रहन्छ । रेलमार्ग निर्माणको ठेक्का पाएको इरकोण इन्टरनेसनल फार्बिसगन्ज भारतले पहिलो चरणमा मालबाहक रेल सेवा शुरु गर्नेछ । त्यसलगत्तै यात्रुबाहक रेल सेवा पनि शुरु हुने सम्झौतामा उल्लेख छ । उक्त रेलमार्गलाई इटहरीसम्म ल्याएर पूर्व–पश्चिम राजमार्गमा जोड्ने योजना छ ।

७ ठाउँमा रेलमार्ग निर्माण गर्ने सम्झौता
भारतीय सीमाका ५ ठाउँमा रेलमार्ग निर्माण गर्न भारतसँग सम्झौता भएको बताउँदै उनले विकासन्युजसँग भने– ‘अहिले दुई ठाउँ जयनगर–बर्दिवास ६९ किलोमिटर र जोगवनी–विराटनगर १८ किलोमिटरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

भारतीय सीमा नाका जोडिने गरी पूर्वका काँकडभित्ता-जलपाइगुडी (सय किलोमिटर) नौतुनुवा-भैरहवा (१६ किलोमिटर) र रुपैडिहा-नेपालगन्ज (१४ किलोमिटर) पनि रेलमार्ग निर्माण गर्ने योजना छ ।

यी तीन ठाउँको विस्तृत परियोजना आयोजना प्रतिवेदन (डिपिआर) तयारी भइरहेको चित्रकारले बताए । भारतीय अनुदानमा निर्माण हुने रेलमार्गका लागि ठेकेदार तथा परामर्शदाता छनोट, भुक्तानी तथा व्यवस्थापन भारतले नै गर्नेछ ।

पूर्व-पश्चिम विद्युतीय रेल नेपालले बनाउने
पूर्व-पश्चिम विद्युतीय रेल नेपाल सरकारले नै बनाउने छ । सरकारले पूर्व–पश्चिम विद्युतीयसहित सम्भावित रेलमार्गहरूको पहिचान समेत गरिसकेको छ । पूर्वपश्चिम विद्युतीय रेलमार्गको विस्तृत अध्ययन डीपीआरपछि निजगढ-बर्दिबास ७० किलोमिटरमा ट्रयाक निर्माण जारी छ । यसका लागि आव २०७६/०७७ मा साढे ७ अर्ब रुपैयाँ छुट्याइएको छ ।

सूचना अधिकारी चित्रकारका अनुसार यो खण्डमा १४ अर्ब खर्च भइसकेको छ । २०७१/०७२ सालमा ठेक्का लागेर काम सुरु भएको हो । ‘पूर्वपश्चिम रेलमार्ग मात्र नेपाल सरकारले बनाइरहेको हो,’ उनले भने-‘सीमाक्षेत्रमा भारतले बनाइरहेको छ, चीनतर्फ अध्ययन भइरहेको छ । पूर्वको काँकडभिट्टाबाट शुरु भई यो रेलमार्ग महेन्द्रनगर पुग्नेछ । यसको लम्बाइ ९ सय ४५ किमि हुनेछ । अन्य खण्डमा भने रेलको म्यापिङ मात्र भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.