ज्येष्ठ नागरिकले पाएनन् भाडामा छुट र आरक्षण सिट

२०७६ भदौ २ गते १५:४९ सञ्चिता घिमिरे

काठमाडौं । ज्येष्ठ नागरिकको परिचयपत्र देखाउँदा पनि लोकहन्थलीबाट बानेश्वरसम्म जाँदा सार्वजनिक बसले महाप्रसाद पराजुलीसँग रु १० भाडा माग्ने गरेका छन् । काठमाडौँ उपत्यकामा न्यूनतम भाडा रु १४ हो ।

ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधनमा ५० प्रतिशत छुट दिइने व्यवस्था भए पनि सार्वजनिक सवारी साधनले ‘यति रुपैयाँ दिएकै छौँ नि’ भन्दै टार्ने गरेको पराजुलीको अनुभव छ । अग्रज समाज नेपाल, ज्येष्ठ नागरिक सङ्घर्ष समितिका अध्यक्षसमेत रहेका उनले कतिपय सवारी साधनले त्यही छुट पनि दिन नचाहने गरेको बताए । उनीहरुलाई छुटका बारेमा बुझाएरै भए पनि तोकिएको भाडा तिरेर गन्तव्यसम्म जाने गरेका छन् ।

सरकारले ज्येष्ठ नागरिकका लागि जम्मा भाडाबापत लाग्ने रकमको आधा छुट दिने व्यवस्था गरेको छ । विभागले कार्यविधि बनाएर शुरु गरे पनि आरक्षण र छुट अहिले काठमाडौँ उपत्यकामा नै पूर्णरूपमा लागू भइरहेको छैन ।

यसरी, काठमाडौँ उपत्यका बाहिर र काठमाडौँबाट चल्ने लामो रुटका सवारी साधनमा यो समस्या अझै बढी रहेको ज्येष्ठ नागरिकको गुनासो छ । ज्येष्ठ नागरिकका लागि अनिवार्य रूपमा दुई वटा आरक्षण सिटको व्यवस्था गर्नुपर्ने भए पनि त्यसको अनुगमन नहुँदा धेरै सवारी साधनले बेवास्ता गरेको पाइएको छ ।

ज्येष्ठ नागरिक माधवप्रसाद घिमिरेले आरक्षण सिटको व्यवस्था नहुने र भाडामा छुट नदिने समस्या काठमाडौँ उपत्यकामा भन्दा उपत्यका बाहिरका जिल्लामा बढी रहेको बताए । काठमाडौँ उपत्यकामा सवारी चालक र सवारीधनीमा केही ज्ञान भए पनि काठमाडौँ उपत्यका बाहिर नभएको उनको भनाइ छ ।

अघिल्ला वर्षमा साझा, मयुरलगायतका यातायात सेवा प्रदायकले ७० वर्ष माथिका नागरिकलाई निःशुल्क यातायातको व्यवस्था गर्ने जनाएका थिए । उनले भने, “अहिले तिनमा समेत पालना हुन छाडेको छ ।”

अर्का ज्येष्ठ नागरिक सीताराम ढकाल यहाँबाट बनेपा वा धादिङ नै पुग्दा पनि सार्वजनिक सवारी साधनले छुट दिन नचाहने गरेको बताउँछन् । कतिपय सवारी चालक र सवारीधनीमा यो काठमाडौँ उपत्यकाका लागि मात्रै हो भन्नेसमेत भ्रम रहेको पाइन्छ ।

ज्येष्ठ नागरिकले लामो सङ्घर्षबाट ल्याएको व्यवस्था भएकाले पूर्णरूपमा कार्यान्वयन गर्नुपर्नेमा उनको जोड छ । उनले भने, “हाम्रो आन्दोलनकै क्रममा कतिपय साथी बितिसकेका छन्, हामी भएकाले निरन्तर आवाज उठाइरहेका छौँ ।”

आरक्षण सिट र छुट कार्यान्वयन भए नभएको भनी यातायात व्यवस्था विभागले अनुगमन नगरेको अध्यक्ष पराजुलीले बताएका छन् । यातायात व्यवस्था विभागले समयसमयमा अनुगमन गर्दा मात्रै कार्यान्वयन हुने उनले जानकारी दिए ।

अहिले सहचालकले सजिलोसँग आधा छुट नदिएको उनको आरोप छ । कतिपय ज्येष्ठ नागरिक भाडा यति हो र हामीले यति छुट पाउनुपर्छ भनेर माग्ने भए पनि कतिपयले माग्न नसक्दा सहचालकले भाडामा छुट नदिएको उनको आरोप छ । उनले भने, “पहिलपहिले अनुगमन हुँदा कार्यान्वयन भए पनि अहिले कार्यान्वयन भएको छैन ।”

विभागका निर्देशक प्रेमकुमार सिंहले विभागले पहिलेदेखि नै सार्वजनिक सवारी साधनमा अनुगमन गरिरहेको बताउँछन् । विगत एकदशक पहिलेदेखि अनुगमन हुँदै आएकामा आगामी दिनमा अझै बढाइने उनले जानकारी दिए ।

विभागले गत आवमा सवारी साधनलाई जरिवाना गरेर रु ४५ हजार जरिवाना गरेको थियो । पहिले विभागको कोठाभित्र मात्रै काम सीमित रहेकामा विसं २०६५ देखि सार्वजनिक यातायातमा अनुगमन शुरु भएको थियो । सवारी साधनले ज्येष्ठ नागरिकका लागि सिट आरक्षण नगरे वा ५० प्रतिशत छुट नदिए कारवाही गरिने उनले बताएका छन् ।

ज्येष्ठ नागरिकसमेत संलग्न गराएर अनुगमन गराइने उनले प्रतिबद्धता जनाए । उनले भने, “अहिले अनुगमन शुरु गरेर दशैँलगायतका चाडपर्वमा अनुगमन बढाइनेछ ।” ज्येष्ठ नागरिकका सङ्घसंस्थाको अगुवाइमा विसं २०६९ मा महिनौँसम्म आन्दोलन भएको थियो ।

सोही आन्दोलनमा ज्येष्ठ नागरिकले सरकारसँग सार्वजनिक यातायातमा भाडामा छुट र आरक्षण सिटको माग गरेका थिए । सबै अस्पतालमा ज्येष्ठ नागरिकका लागि छुट्टै ज्येष्ठ नागरिक वार्डको व्यवस्था गर्न, खानेपानी, टेलिफोन, घरजग्गा लगायतमा पनि ज्येष्ठ नागरिकलाई विशेष छुटको माग गरिएको थियो ।

विभागले ‘सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकलाई छुट र सुविधा दिनेसम्बन्धी कार्यविधि, २०७०’ लागू गरेको थियो । सो कार्यविधिमा छुट र आरक्षण सिटका बारेमा उल्लेख छ । त्यस्तै ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा ९(२) ले सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकलाई कम्तीमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।

यसैक्रममा सर्वोच्च अदालतले २०६७ चैतमा ‘ज्येष्ठ नागरिक ऐन, २०६३ को ९(२) को व्यवस्थालाई यथाशीघ्र कार्यान्वयन गर्न आवश्यक नीति, नियम र अनुगमन संयन्त्र बनाई लागू गर्नु’ भनी परमादेश गरेको थियो । रासस