युवा उद्यमशीलता सम्मेलनको निश्कर्ष, ‘आइडिया बैंक स्थापना र निःशर्त लगानी’

  २०७६ साउन २९ गते १५:४८     विकासन्युज


काठमाडौँ । देशको अर्थतन्त्र बलियो बनाउन सरकारले युवा उद्यमशीलतामा लगानी बढाउनु पर्ने निकर्ष सहित दुई दिने नेपाल युवा उद्यमशीलता सम्मेलन २०१९ सम्पन्न भएको छ ।

४३ जिल्लाका ५०० युवा प्रतिनिधिहरुले उठाएका मागहरुलाई समेटेर ११ बुँदे घोषण पत्र जारी गरिएको हो । उद्यम गर्न चाहने युवालाई सरकारले पहिचान गरी निःशर्त लगानी गर्नु पर्ने, आइडिया बैंक स्थापना गर्नु पर्ने, बिनो धितो लोन र ब्याज अनुदानको झन्झटिलो प्रक्रिया अन्त्य गर्नु पर्ने, सरकारले युवा उद्यमशीलताको विकासका लागि सञ्चालन गरेका कार्यक्रमहरु एकद्धार प्रणालीबाट हुनुपर्ने, सेवा, सुविधा र अनुदानको कार्यक्रम पारदर्शी हुनुपर्ने सम्मेलनले निष्कर्ष निकालेको छ ।

प्रदेश ३ सरकारको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय र विशाल मिडिया ग्रुपको आयोजना तथा आईएमई फाउण्डेसनको सहआयोजना रहेको सम्मेलनबाट प्राप्त उपलब्धीबारे सम्मेलन मूल आयोजक समितिका संयोजक विशाल गैरेले उद्यम गर्न चाहने युवाहरुको बिजनेश प्लान माथी सरकार र निजी क्षेत्र लगानी गर्न तयार हुनुले युवाहरुमा उत्साह थपेको र आगामी दिनमानयाँ स्टार्टअप कम्पनी खोल्न यसले सहयोग पुर्याउने बताए ।

समापन सत्रमा संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले बिगतका कमिकमजोरी र गलत प्रबृतिका कारण युवाहरु बिदेश पलायन हुनु परेको चर्चा गरे । उनले भने–दुई तिहाई प्राप्त यो सरकारले ब्यवस्थित योजनाका साथ युवाहरुको आइडिया माथी लगानी गर्ने प्रतिवद्धता ब्यक्त गर्छु ।

उक्त कार्यक्रममा नेपाल उद्योग बाणीज्य महासंघका उपाध्यक्ष एवम् आईएमई गु्रपका अध्यक्ष चन्द्र ढकालले नयाँ युवाहरुको सोच माथी लगानी बढाउने र सरकारले उद्यम गर्न चाहने युवालाई सहजिकरण गर्नु पर्नेमा जोड दिए । उनले उद्यमी बन्नत् यति सहज नभएको उल्लेख गर्दै ठूला भन्दा ठूला चुनौतीको सामना गर्न सक्ने युवा मात्र सफल उद्यमी बन्ने बताए ।

सम्मेलनमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, अर्थमन्त्री डा. युवराज खतिवडा, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा, योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेल, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, शंकरप्रसाद कोइराला, प्रदेश ३ उद्योगमन्त्री अरुण नेपाल, पूर्व उद्योगमन्त्री महेश बस्नेत, उद्योग सचिव यमकुमारी खतिवडा, बरिष्ठ उद्यमी हरिभक्त शर्मा, चन्द्र ढकाल, युवा उद्यमी हेमराज ढकाल, लक्ष्मण केसी, दिलिप अग्रवाल, बैंकर अनिलकेशरी शाह, अनुपमा खुन्जेली, प्रविन बस्नेतलगायत ४० भन्दा बढी स्पीकरले आफनो प्रस्तुती दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.