हरेक बर्ष जाँच गराए पाठेघरको क्यान्सर हुनबाट बच्न सकिन्छः डा. समिरा सफिन खान

  २०७६ साउन २७ गते १३:१०     विकासन्युज

डा. समिना सफिन खान

स्वास्थ्य हरेक मानिसको लागि निकै नै महत्वपूर्ण बिषय हो । चाहे महिला होस् अथवा पुरुष दुबैले आफ्नो स्वास्थ्यको ख्याल राख्नु एकदमै आवश्यक छ । नेपालको सन्दर्भमा स्वास्थ्यको ख्याल गर्ने पाटोमा पुरुषहरु महिला भन्दा अगाडि छन्। पुरुषको दाँजोमा महिलाहरु सीप र शिक्षा आर्जन गर्ने अवसरबाट वञ्चित रहेका छन्, जसका कारण महिलाहरु पुरुषले जस्तो अत्यावश्यक स्वास्थ्य सेवा लिने निर्णय आफैँ गर्न सक्दैनन् । जसकारण उनीहरु विभिन्न रोगको सिकार हुन्छन् र ज्यान समेत गुमाउँछन् । महिलाहरु महिनावारी, गर्भवती जस्ता अवस्थाबाट गुज्रिने भएको कारण पनि पुरुषको दाँजोमा महिलाहरुको स्वास्थ्यमा अझै बढी समस्या देखिने गरेको छ । महिला स्वास्थ्यको कुरा गर्दा प्रजनन् अंगमा सबैभन्दा धेरै समस्या देखिने गर्छ । सेतो पानी बग्ने, आङ खस्ने, पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी देखिने समस्या हुन् । प्रस्तुत छ महिला प्रजनन् स्वास्थ्यका बिषयमा महिला तथा स्त्री रोग विशेषज्ञ डा. समिरा सफिन खानसँग विकासन्यूजको लागि डोमी शेर्पाले गरेको कुराकानीः

पछिल्लो समय महिलाको स्वास्थ्यमा सबैभन्दा बढी समस्या के मा देखिएको छ ?
पछिल्लो  समयमा महिलाहरुमा सबैभन्दा बढी देखिने समस्या भनेको पाठेघरको संक्रमण हो, जुन प्रजनन् उमेर समूहका महिलामा बढी देखिन्छ । सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, महिनावारीमा गडबडी र पाठेघरको मुखको क्यान्सर हुने गरेको पाइएको छ । यो महिनावारी सुकीसकेका महिलामा पनि देखिने गर्दछ । महिनावारी सुकीसकेको अवस्थामा महिलाहरुको शरीरमा हर्मोनको लेभल कम हुन जान्छ, जसले योनीको छालाहरु पातलो हुन्छ र रोगसँग लड्ने क्षमता पनि कम भएर जान्छ ।

एउटा महिलाले आफ्नो प्रजनन् अंगलाई कसरी सफा राख्ने ?
प्रजनन् अंगलाई सफा राख्नको लागि धेरै उपायहरु छन् । बजारमा अहिले धेरै यस्ता वस्तु आएका छन्, जसले हाम्रा भित्र अंगलाई सफा राख्ने बताईन्छ, तर यी वस्तुहरुको उपयोग गर्न जरुरी नै छैन । त्यसको सट्टा बरु सफा पानीले सफा गर्ने, आफ्नो भित्री वस्त्र मिलेसम्म दिनको दुई पटक नभए एक पटक बदल्ने, सुतीको भित्री वस्त्रहरु प्रयोग गर्ने, महिनावारीको समयमा एउटै प्याड लामो समय प्रयोग नगर्ने र समय समयमा सफा पानीले सफा गरिराखेर महिलाले आफ्नो प्रजनन् अंगलाई सफा राख्न सक्नुहुन्छ ।

महिलाले आफ्नो योनी सफा गर्दा साबुन प्रयोग गर्नु हुन्छ वा हुँदैन ?
योनीमा साबुन, डेटोलहरुको प्रयोग नगर्दा नै राम्रो हुन्छ। किनभने यसमा रसायनहरु बढी हुने गर्छ, जसले योनीमा भएको प्राकृतिक जीवाणु नस्ट हुन्छन् । योनी महिलाको संवेदनशील अंग हो, त्यसैले यसमा साबुनहरु प्रयोग नगरेकै राम्रो । तर यदी गर्नै परेको अवस्थामा रसायन कम भएको साबुनहरु प्रयोग गर्न सक्नुहुन्छ ।

महिलाको पाठेघरको मुखको क्यान्सर पछिल्लो समय एकदमै बढी देखिएको छ, यसको कारण के हो ?
पाठेघरको मुखको क्यान्सर हुनुमा सबैभन्दा पहिलो कारण शिक्षाको अभाव हो । यो रोग पत्ता लगाउनको लागि सबैभन्दा पहिला पाठेघरको मुखको जाँछ गरिन्छ, जसलाई प्याप्समियर भनिन्छ । हरेक बर्ष जाँच गर्दा पाठेघरमा भएका नराम्रो कोशीकहरु सुरुवाती अवस्थामा नै पत्ता लगाउन सकिन्छ । यदी सुरुवाती अवस्थामै पत्ता लगाउने हो भने यसको उपचार निकै नै सजिलो रहेको छ । तर, हामीहरु जबसम्म शरीरमा केही लक्षणहरु देख्दैनौं, त्यस समयसम्म हामी कहिले पनि डाक्टर कहाँ जाँदैनौं । पाठेघरको मुखको क्यान्सरको त्यस्तो केही लक्षणहरु नै हुँदैन र यसले अन्तिम स्टेजमा मात्र गएर लक्षणहरु देखिन थाल्छ । अर्को कारण सानै उमेरमा विवाह गरेर धेरै बच्चा जन्माउनु, धेर जनासँग यौन सम्पर्क राख्नाले वा आफ्नो पार्टनरले अरु धेर मानिससँग यौन सम्पर्क राख्नाले पनि यो समस्या देखिन्छ ।

यो ह्युमन प्यापिलोमा भाईरसको कारणले आउने गर्दछ र त्यो यौन सम्पर्कको माध्यमबाट सर्ने गर्दछ । यसलाई पहिलो स्टेजमा पत्ता लगाउन सकियो भने सर्जरीहरु गरेर रोगलाई निको पार्न सकिन्छ । स्टेज बढ्दै गईसकेपछी कहाँ कहाँ फैलियो भन्ने कुराले उपचार सफल हुन्छ वा हुँदैन भन्ने कुराको निर्धारण गर्दछ । यो अवस्थामा रेडियोथेरापी, किमोथेरापी दिईन्छ । र, अन्तिम स्टेजमा पत्ता लागेको अवस्थामा सर्जरी गर्न सम्भव हुँदैन र यो अवस्थामा जीवनलाई सजिलो बनाउन रेडियोथेरापी, केमोथेरापीहरु गराईन्छ ।

प्रजनन् अंगहरुमा सामान्य घाउहरु आएको अवस्थामा त्यसलाई ध्यान नदिदा के कस्तो समस्या देखिन सक्छ ?
यदी हामीले शरीरको कुनै पनि भागमा भएका संक्रमणलाई वेवस्ता गर्ने हो भने त्यो पछी गएर ठूलो भई, पानी जम्ने हुने गर्दछ । यदी पाठेघरमा भएको संक्रमण हामीले वेवस्ता गर्ने हो भने त्यो बिस्तारै सर्दै जान्छ, जुन पछी गएर डिम्ब नलीसम्म जान्छ ।

सेतो पानी बग्नु भनेको के हो ?
सेतो पानी जाने भनेको योनीबाट फोहोर पानी जानु हो, जसको गन्ध पनि फरक हुन्छ, रंग पनि पहेलो वा कुनै अरु रंगको हुन्छ र त्योसँगै चिलाउने, गन्हाउने, तल्लो पेटो दुख्ने संक्रमणको लक्षण हुन् । यो पनि सरसफाइको कमी, जथाभावी यौन सम्पर्कको कारण हुने गर्दछ । यो धेरै महिलाहरुमा देखिने समस्या हो ।

सहर र गाउँका महिलामा लाग्ने रोगमा के भिन्नता छ ?
गाउँ र शहरका महिलामा लाग्ने रोगमा खासै भिन्नता छैन । आङ खस्ने रोग शहरका महिलाको दाँजोमा गाउँका महिलामा बढी देखिन्छ यधपी अन्य समस्याहरु दुवै क्षेत्रका महिलामा समान रुपमा देखिने गरेको छ । गाउँ र शहरभन्दा पनि आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिने महिलाहरुलाई संक्रमण कम हुन्छ ।

महिलाहरुले आफ्नो प्रजनन् स्वास्थ्यलाई स्वस्थ राख्न के गर्नुपर्छ ?
आफ्नो प्रजनन् स्वास्थ्यलाई स्वस्थ राख्न महिलाहरुले सबैभन्दा पहिला आफु र आफ्नो शरीरमा प्रयोग गर्ने कपडाहरुको सरसफाइमा ध्यान दिनुपर्छ । त्यसपछी आफ्नो शारीरिक क्षमतालाई हेरेर खाने खानेकुराहरु मिलाएर खाने गर्नु पर्दछ । एक भन्दा बढी पार्टनरहरुसँग यौन सम्पर्क नराख्ने र आफ्नो स्वास्थ्य जाँच बर्षमा एकपटक गराउने । यदी यी कुराहरुमा ध्यान दिने हो भने महिलाले आफ्नो प्रजनन् स्वास्थ्यलाई स्वस्थ राख्न सक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.