बैंकका लगानीकर्ता माथि राष्ट्र बैंकको ‘कु’

  २०७६ साउन २६ गते १८:२८     सम्पादकीय

नेपाली समाजमा सबैभन्दा बढी पिल्सिएको वर्ग हो लगानीकर्ता । बुद्धिजीवि मान्छे नपढी बस्न सक्दैन । परिश्रमिलाई काम नगरी हुँदैन । खेलाडीलाई नियमित खेल्नै पर्छ । गायक नगाई बस्न सक्दैन । उल्लेखित वर्ग समूहलाई जस्तै, लगानीकर्तालाई पनि पैसा कमाउने लत हुन्छ । आर्थिक विकास र समृद्धिका लागि सबैभन्दा राम्रो लत हो ‘पैसा कमाउने लत’ ।

कानुन अनुसार लगानी गर्नु, उद्योग व्यवसाय सञ्चालन गर्नु, मानिसका आवश्यकता अनुसार बस्तु तथा सेवा उत्पादन गर्नु, रोजगारी सिर्जना गर्नु, नियमअनुसार कर तिर्नु र आफूले पनि केही लाभांश लिनु लगानीकर्ताकाे कर्म हाे । संसारमा सबैभन्दा बढी सम्मानित पेशा नै उद्यमशीलता हो ।

तर नेपालमा उद्यमी बन्नु, लगानी गर्नु, रोजगारी सिर्जना गर्नु, राज्यलाई कर तिर्नु सबैभन्दा चुत्थ्यिा काम बन्दैछ, त्यो पनि राजनीति गर्ने र सरकारी जागिर खाने वर्गको नजरमा । उनीहरुले व्यवसायीलाई लगाउने आरोप हुन् कर चोर, शोषक, घटिया व्यापारी आदि-इत्यादि ।

शासक वर्गको यहि मनोवृत्तिलाई अनुसरण गर्दै पछिल्लो समय नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रका लगानीकर्ता माथि ‘कु’ गरेको छ । लगानीकर्ताको अधिकार खोसेको छ । नियामकले वित्तीय क्षेत्रलाई प्रतिगमनतिर लगेको छ ।

गत साता राष्ट्र बैंकले बैंकको सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको उमेर तोक्ने र पदमुक्त गराउने जुन काम गरेको छ त्यो घोर अन्यायपूर्ण छ । यो नीति राष्ट्र बैंकको नेतृत्वको पूर्वाग्रह र दुरासयबाट प्रेरित नीति हो ।

राष्ट्र बैंकको उक्त नीतिका कारण बैंकका सेयरधनीले चुनेर निश्चित अवधिका लागि बनाएका सञ्चालकको पद गुमेको छ । लगानीकर्ताको अधिकार राष्ट्र बैंकले खोसेको छ ।

बेलायतमा सन् २०२५ देखि चिनीमा लाग्ने करको दर वृद्धि गरिदैछ । उक्त घोषणा सरकारले सन् २०१६ मा गरेको हो । नीति भनेको यस्तो हुनुपर्छ जुन सरोकारवालाले पूर्व जानकारी पाउनुपर्छ र उनीहरूलाइ तयारी गर्न उचित समय दिनुपर्छ । जहाँ यस्तो अवसर हुँदैन, त्यहाँ प्रजातन्त्र हुँदैन, हुकुमी शासन हुन्छ ।

नेपालको बैकिङ क्षेत्रमा उत्कृष्ट योगदान गरेको भनी छ महिनाअघि अर्थमन्त्री र गभर्नरले खादा लगाएर सम्मान गरेका व्यक्ति हुने एभरेष्ट बैंकका अध्यक्ष विके श्रेष्ठ । आज तिनैलाई आज राष्ट्र बैंकले लात हानेको छ । एक वर्षअघि बैकिङ क्षेत्रमा उत्कृष्ट काम गरेको भनेर सम्मान गरको शम्भु पौडेललाई नविल बैंकमा छिर्न निषेध गरिएको छ । ५० वर्षसम्म बैकिङ क्षेत्रका काम गरेर महत्वपूर्ण योगदान गरेका नायरणदाश मानन्धरलाई अपमान जनक ढंगले घर पठाईएको छ ।

के विके श्रेष्ठ, शम्भु पौडेल र नारायणदास मानन्धरले चलाएको बैंक खराव हुन् ? उमेरले बुढो हुन् अपराध हो ? अदालतले दोषी ठहर गरेको अपराधीलाई समातेर झेल निश्चित समय दिइएको हुन्छ । के श्रेष्ठ, पौडेल र मानन्धरले अपराधीको भन्दा खराव काम गरेर उनीहरुमाथि राष्ट्र बैंक यतिसारो निर्दयी बन्नुपर्यो ?

आज राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा सीईओ नियुक्ती गर्ने अधिकार लगानीकर्ताबाट खोसेको छ । लगानीकर्तालाई धेरै कोणबाट हातबाध्ने काम गरिएको छ । लगानीमा नियन्त्रण गरिएको छ । नाफामा नियन्त्रण गरिएको छ । नाफाको वितरणमा नियन्त्रण गरिएको छ ।

एनसेलमा लगानी गर्ने विदेशी लगानीकर्तालाई १८००० प्रतिशत लाभांश लैजान स्वीकृत दिने राष्ट्र बैंक नेतृत्व बैंकका सेयरधनीले औषतमा करिव १५ प्रतिशत लाभांश पाउँदै आएकोमा त्यसप्रति प्रतिशोधपूर्ण भावले आगोको भूङ्ग्रो बनेको छ । उनीहरुले पाउने लाभांश नियन्त्रण गर्न स्प्रेडदरमा नियन्त्रणदेखि पुँजीकोष अनुपात वृद्धिसम्ममा कठोर कदम लिएको देखिन्छ । लगानीकर्ताको विकेक, सिर्जनात्मक पक्ष सबै हरण गरिएको छ र बैंकिङ सिस्टममा राणा शासन भन्दा कडा र हुकुमी शैली शुरु भएको छ । कुन दिन राष्ट्र बैंकले के निर्देशन दिन्छ र त्यसको पालना गर्न सबैलाई बाध्य बनाईन्छ, कसैलाई थाहा हुँदैन ।

(देशविकास साप्ताहिकबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.