पचास लाखमाथिको कर्जामा ‘प्यान’अनिवार्य गर्न केन्द्रीय बैंककाे निर्देशन

  २०७६ साउन २१ गते १६:२३     विकासन्युज

काठमाडौं । के तपाईँले रु ५० लाखभन्दा बढीको ऋण लिन लाग्नुभएको छ ? व्यापार व्यवसाय विस्तार तथा अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने सोच बनाउनुभएको छ ? यदि छ भने अब तपाईँसँग स्थायी लेखा नम्बर (प्यान) अनिवार्य हुनुपर्छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिले रु ५० लाख वा सोभन्दा बढी कर्जा लिने भए अनिवार्य रुपमा प्यान लिएको हुनुपर्ने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाले छुट्टाछुट्टै वा एकमुष्ट गरी रु ५० लाख वा सोभन्दा बढी रकमको ऋण लिनुपरेमा त्यस्तो व्यक्तिले अनिवार्य रुपमा प्यान लिएको हुनुपर्ने व्यवस्था गरेको छ ।

यसअघि रु एक करोड वा सोभन्दा बढी रकमको ऋणमा मात्रै प्यान लिएको हुनुपर्ने व्यवस्था थियो । ऋण लिने/दिने प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउने लक्ष्यका साथ उक्त सीमा निर्धारण गरिएको हो ।

चालु आर्थिक वर्षको बजेटमा रु एक हजारमाथिको भुक्तानीमा प्यान अनिवार्य गरिएको छ । आन्तरिक राजस्व विभागका अनुसार हालसम्म २१ लाखले प्यान नम्बर लिएका छन् । गत जेठ १५ गते बजेट सार्वजनिक भएपछिमात्रै दैनिक दुई हजार २०० को सङ्ख्यामा प्यान लिने बढेको विभागको भनाइ छ ।

सबै नागरिकलाई प्यान अनिवार्य गराउन विभागले ‘एक व्यक्ति, एक प्यान नम्बर’ अभियान सञ्चालन गर्ने तयारीसमेत गरेको छ । विभागका अनुसार पछिल्लो दुई महिनामा मात्रै झन्डै एक लाख ५० हजारले नयाँ प्यान लिएका छन् ।

केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गको इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गरी उक्त व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.