जाजरकोटमा चार दिनदेखि टेलिफोन सेवा अवरुद्ध, निर्माणधीन सात टेलिफोन टावर अलपत्र

  २०७६ साउन १० गते १४:१२     हेमन्त केसी

जाजरकोट । जाजरकोट सदरमुकामलगायत जिल्लाको विभिन्न स्थानमा चार दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । पटकपटक अवरुद्ध हुने टेलिफोनले गर्दा यहाँका स्थानीय हैरान छन् ।

नेपाल टेलिकमको चरम लापरवाहीका कारण यहाँका स्थानीय हैरान भएका छन् । मर्मतका लागि पटक पटक कुरा गरे पनि काम नभएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनुभयो ।

टावरको कभरेज कम भएकाले टावर आए पनि नेपाल टेलिकमको सदरमुकामस्थित टावरबाट करिब एक किमि दूरीमा रहेका स्थानीयका घरमा समेत टेलिकमको टुजी चल्दैन । खलङ्गा बजारभित्रै पनि फोनको गतिलो पहुँच नहुँदा यहाँका सेवाग्राही मर्कामा परेका छन् । इन्टरनेट सेवा कमजोर हुँदा काममा समस्या भएको छ ।

मोबाइल फोन, नेटवर्क र इन्टरनेटको समस्या स्थानीय बासिन्दालाई मात्र नभइ सरकारी कार्यालय, वित्तीय संस्था, स्थानीय तहमा समेत परेको छ । सदरमुकाम खलङ्गा बजार क्षेत्रमा पर्ने थाप्ले, ठाँटी, थाप्लेचौर, स्याँला, पिपे, रिम्ना, रिसाङ, कल्याणपुरलगायत स्थानमा समेत नेपाल टेलिकम मोबाइल सेवाको काम नगर्दा समस्या हुँदै आएको छ ।

टेलिकमले नियमित टावर मर्मत, नयाँ टावर निर्माण, क्षमता विस्तार, पावर अपडेट, लाइन सुधार गर्नेलगायत काम नगर्दा फोन तथा इन्टरनेटको सुविधा भरपर्दो नभएको स्थानीयवासी प्रकाश शाहीले बताए  ।

यसरी, टेलिफोन र इन्टरनेटकै कारण दुर्गमका सेवाग्राहीले सरकारी सेवा लिन सास्ती व्यहोर्नुपरेको छ । जिल्लामा आवश्यकताअनुसार टावर निर्माण तथा मर्मत नहुँदा ग्रामीण क्षेत्रका बासिन्दा पनि टेलिफोन सेवाबाट वञ्चित भएका छन् ।

कुशे गाउँपालिकाको लाताचुली र जुनीचाँदे गाउँपालिका मजकोटको स्काई टावर बिग्रिएको एक वर्ष बितेको छ तर सम्बन्धित निकायले पुरानो टावर मर्मत र नयाँ टावर निर्माणमा बेवास्ता गरेको स्थानीय जुनीचाँदेका रेशमबहादर खड्काले बताउनुभयो । कुशे, जुनीचाँदे र बारेकोट गाउँपालिकाका बासिन्दालाई फोनमा कुरा गर्न दुई घण्टा उकालो चढेर डाँडामा पुग्नुपर्ने बाध्यता छ ।

निर्माणाधीन सात टेलिफोन टावर अलपत्र

जिल्लामा निर्माणाधीन सात ठाउँमा टावर अलपत्र अवस्थामा परेका छन् । रतनकोट, गडी, रातापटान, लाँताचुली, चिउँदुवा, भैरीलेकलगायत स्थानमा निर्माणाधीन टावर अलपत्र परेका हुन् । ठेकेदार कम्पनीले लापरवाही गरेको टेलिकमले जनाएको छ । टावर निर्माणका लागि ठेकेदार कम्पनीसँग दुई वर्षअघि सम्झौता भएको थियो ।

नलगाड नगरपालिका–२ को गडी, बारेकोट गाउँपालिका ५ को रतनकोट, ९ को लेकचौर, २ को रातापटान, कुशे गाउँपालिका ८ को लाँताचुली, शिवालय गाउँपालिका ५ को चिउँदुवा र जुनीचाँदे २ स्थित भैरीलेकको नमस्ते मोबाइल टावर निर्माण अलपत्र छन् । टावर निर्माणका लागि टेलिकमले गत वर्षको अक्टोबरमा १ वर्षमै काम सक्ने गरी भारतीय कम्पनी एस्टर नेपाल प्रालिसँग सम्झौता गरेको थियो ।

ठेकेदार कम्पनीले टावर निर्माणमा लापरवाही गरेको मध्यपश्चिम क्षेत्रीय निर्देशनालय नेपालगञ्जका प्राविधिक प्रमुख शिव खनालले बताएका छन् । बाटुले, छेडा, चाल्ना, लाता, जिन्ताला, पाँचकाटीया, सक्ला, काप्ती, घाट, दह, गर्खाकोट, मनघाट, मोर्कबजार, चौखाबजार, बानियागाउँ, स्यानाखोलालगायत गहिरो स्थानका गाउँमा मोबाइल फोन सेवाको पहुँच पुगेको छैन ।

दुर्गम गाउँमा रहेका स्काई मोबाइल टावरबाट घाम लाग्दा नेटवर्क आउने र बादल लाग्दा नआउने समस्या छ । नेटवर्क कमजोर हुँदा समस्या भएको टेलिकमका निमित्त प्रमुख लोकेन्द्र भण्डारी बताउँछन् । उनले भने, “रातामाटा टावरको लिंकमा बारम्बार डिस्टर्ब हुँदा थप समस्या छ, टावरको क्षमताभन्दा मोवाइलकर्ताको सङ्ख्या बढी हुँदा पनि नेटवर्कको समस्या भएको हो ।”

बजारबाट वितरण भएका सिमको गणना हुन नसकेको उनी बताउँछन् । त्यस्तै, छिमेकी जिल्ला डोल्पाको मुड्केचुलाको नकुमा निर्माण गर्ने टावरका सामग्री वर्ष दिनदेखि रुकुमको त्रिवेणीमा अलपत्र अवस्थामा परेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.