सिभिल बैंक मर्जरको अन्तिम तयारीमा, हिमालयन बैंकसँग सहमति नजिक

  २०७६ साउन २ गते १४:५९     विकासन्युज

काठमाडौं । सिभिल बैंक लिमिटेड मर्जरको तयारी अन्तिम चरणमा पुगेको बैंकका अध्यक्ष इच्छाराज तामाङले बताएका छन् । नयाँ मौद्रिक नीति आएपछि नयाँ व्यवस्थाभित्र रहेर मर्जरको सम्झौता हुने उनले बताए ।

बैंकले आईएसओ २००९ः२०१५ प्रमाणपत्र पाएको अवसरमा विहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने-‘हामी मर्जरको अन्तिम तयारीमा छौं । मौद्रिक नीतिमा कस्तो व्यवस्था आउँछ भनेर कुरिरहेका छौं । मौद्रिक नीति आएपछि हामी फ्याट्ट क वर्गको बैंकसँग मर्जरको सहमति गर्छौ ।’

क वर्गका बैंकमा पनि विशेषगरी पहिलो पुस्ताको बैंकसँग मर्जरको तयारी भईरहेको उनले बताए । ‘कि मर्ज नै नगर्नु, मर्ज गरिसकेपछि राम्रोसँग मर्ज गर्नुपर्छ भनेर हामी लागेका छौं । हामी भन्दा राम्रो बैंकसँग मर्जमा जान्छौं’ उनले भने-त्यसो त सिभिल बैंक पनि नराम्रो छैन । नराम्रो बैंक भएको भए आईएसओ ९००१ः२०१५ को प्रमाणपत्र पाउने नै थिएन ।’ मर्जरको तयारी भईरहेको बेलामा सिभिल बैंक आईएसओ ९००१ः२०१५ बाट सर्टिफाईड भएकाेले बैंकको नेगोसिएशनको प्वाइट बढेको उनले बताए ।

स्रोतका अनुसार सिभिल बैंक र हिमालयन बैंकबीच मर्जरको विषयमा सहमति नजिकिदै गएको छ । यद्यपि अध्यक्ष तामाङले दोस्रो र तेस्रो पुस्ताका बैंकसँग पनि मर्जरको विषयमा छलफल जारी रहेको बताए । यी २ बैंकका धेरै प्रमाेटर एउटै व्यक्ति तथा संस्था रहेका छन् । दुबै बैंकमा नागरिक लगानी काेषकाे ठूलाे लगानी रहेकाे छ भने सिभिलमा मर्ज भएकाे आइएलएफसी फाइनान्स हिमालयन बैंकका प्रमाेटरले खाेलेका थिए ।

‘हामी चाडैनै मर्जरको फाइनल स्टेजमा पुग्दैछौं’ अध्यक्ष तामाङले भने-‘बजार सानो छ । अर्थतन्त्र सानो छ । सानो सानो समाचारले पनि सेयरको मूल्यमा उचार चढाव हुन्छ । त्यसैले मैले अहिले नै फ्याट्ट यहि बैंकसँग हुँदैछ भन्यो भने अर्को समस्या आउँछ ।’

अनौपचारिक रुपमा ६ वटा वाणिज्य बैंकसँग कुरा चलिरहेको, तर मर्जर कमिटि तहमा ३ वटा बैंकसँग बैठकहरु बसिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले विकासन्युजसँग भने । तर, उनले मर्जर कमिटि तहमा छलफल भएका बैंकहरुको नाम खुलाउन चाहेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.