ग्लोबल मार्केटमा उपस्थित हुने गरी बैंकहरूको पुर्नसंरचना हुनुपर्ने पूर्व गभर्नरको सुझाव

  २०७६ असार २६ गते २२:४१     विकासन्युज

काठमाडौं । मौद्रिक नीतिको संघारमा राष्ट्र बैंकका पूर्व गभर्नरहरूले ग्लोबल मार्केटमा उपस्थित हुने गरी बैंकहरूको पुर्नसंरचना हुनुपर्ने सुझाव दिएका छन् । राष्ट्र बैंकले बिहीबार पूर्व गभर्नरहरूसँग आगामी आर्थिक वर्षको मौद्रिक नीतिका वारेमा छलफल गरेको छ ।

उक्त छलफल कार्यक्रममा अन्तर्राष्ट्रिय आर्थिक स्थिति तथा विकास क्रमलाई ध्यानमा राखेर राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा गर्नुपर्नेमा उनीहरूले जोड दिएका हुन् ।

सो छलफल कार्यक्रममा पूर्व गभर्नरहरूले वित्तीय क्षेत्र एकीकृत (कन्सोलिडेसन) गर्ने सिलसिलामा मर्जरलाई प्रभावकारी बनाउनु पर्ने बताएका हुन् । अर्थ व्यवस्थाको आन्तरिक र वाह्य क्षेत्र स्थायित्वका लागि आवश्यक उपायहरु अवलम्बन गर्नुपर्ने मार्ग निर्देश गरेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए ।

‘वित्तीय सेवाको लागत घटाउन, वित्तीय सेवा प्रवाहमा गुणस्तर वृद्धि गर्न, वित्तीय उपभोक्ताहरूको हित संरक्षण गर्न आवश्यवक नीतिगत तथा कानूनी व्यवस्था गर्नुपर्ने उहाँहरूको सुझाव छ,’ निरौलाले भने । अर्थ व्यवस्थाको आन्तरिक र वाह्य क्षेत्र स्थायित्वका लागि आवश्यक उपायहरु अवलम्बन गर्नुपर्ने समेत पूर्व गभर्नरहरूले सुझाएका छन् ।

आयात व्यवस्थापन र आन्तरिक उत्पादन वृद्धिका उपायहरू अपनाई व्यापार घाटा न्यूनीकरण गर्नुपर्नें सुझाव पूर्व गभर्नरहरूले दिएका छन् । सरकारको उच्च आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यलाई सहयोग पुग्ने गरी कृषि लगायत अन्य प्राथमिकता प्राप्त क्षेत्रहरूमा वित्तीय स्रोत र साधन थप प्रवाह हुने गरी नीतिगत व्यवस्था गर्नुपर्ने भनिएको छ ।

व्यापार घाटाको आकार कम गर्न र शोधनान्तर स्थितिलाई सन्तुलनमा राख्नका लागि स्थायी प्रकृतिको उच्च स्तरीय संरचना स्थापना गरी परिणाममूखी नतिजा निकाल्ने गरी काम गर्ने समेत राष्ट्र बैंकलाई सुझाइएको छ । छलफल कार्यक्रममा पूर्व गभर्नर हिमालय शम्शेर जवरा, भेष बहादुर थापा, गणेश बहादुर थापा, तिलक बहादुर रावल, दीपेन्द्रपुरुष ढकाल र विजयनाथ भट्टराईको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.