पूर्णिमा र भार्गवलाई प्राप्ती गरेपछि शाइन रेसुङ्गा राष्ट्रिय स्तरको विकास बैंक हुने

  २०७६ असार १० गते १२:००     विकासन्युज


काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड, पूर्णिमा विकास बैंक लिमिटेड र भार्गव विकास बैंक लिमिटेडको विशेष साधारण सभा एकै दिन असार २७ गते हुने भएको छ । ३ वटै संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभाको मिति तय गरेको हो ।

शाइन रेसुङ्गाको साधारण सभा एशियन भिलेज रिसोर्ट प्रालि इटाभट्टी बुटवलमा बिहान ११ बजे, पूर्णिमाको होटल पौवा प्रालि सिद्धार्थनगर रुपन्देहीमा बिहान ११ बजे र भार्गवको होटल सिद्धार्थ भ्यू प्रालि, नेपालगञ्ज बाँकेमा बिहान ११ बजे हुनेछ ।

पूर्णिमा र भार्गवको विशेष साधारण सभाले साइन रेसुङ्गा डेभलपमेण्ट बैंकले प्राप्ती(एक्वीजिशन) गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ । यता शाइनको विशेष साधारण सभाले पनि पूर्णिमा र भार्गवलाई प्राप्ती गर्ने विशेष प्रस्ताव नै पारिने गर्नेछ ।

शाइनले दुई वित्तीय संस्थालाई प्राप्ती गर्ने प्रयोजनका लागि तयार पारिएको डीडीए रिपोर्ट पारित गर्ने र प्राप्ती सम्बन्धी अन्तिम सम्झौताहरुको अनुमोदन गर्नेछ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले पूर्णिमा र भार्गवलाई प्राप्ती गरेपश्चात हुन आउने चुक्ता पूँजीको ४ः१(चार सेयर बराबर एक सेयर) को अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्ने जनाइएको छ ।

शाइनले पूर्णिमा र भार्गवलाई प्राप्ती गरेपछि कार्यक्षेत्र विस्तार गरी राष्ट्रिय स्तरमा परिणत हुने विशेष प्रस्ताव पारित गर्ने जनाइएको छ ।

शाइनले विशेष साधारण सभालाई मध्यनजर गर्दै असार १९ गतेदेखि २७ गतेसम्म बैंकको सेयर दाखिला, खारेज, दर्ता बन्द(बुक क्लोज) गरिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.