मौद्रिक नीतिमार्फत् ठूला बैंकलाई पनि मर्जरमा दबाब दिने गभर्नरको संकेत

  २०७६ असार ९ गते १३:४४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीतिमार्फत् ठूला बैंकलाई पनि मर्जरमा जान बाध्य पार्ने कार्यक्रम ल्याउने संकेत गरेका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा गभर्नर नेपालले बैंकहरुबीचको मर्जरलाई ‘लभ’ र ‘बिहे’सँग तुलना गर्दै मौद्रिक नीतिपछि बैंकहरु मर्जरमा जानुपर्ने भएकोले अहिलेदेखि नै त्यसको तयारी (लभ) गर्न भन्दै घुमाउरो पाराले ठूला बैंकहरुलाई समेत मर्जर जान दबाब  दिनेगरी व्यवस्था गर्ने संकेत गरेका हुन् ।

गभर्नर नेपालले यस कार्यक्रममा यसअघि लघुवित्त कम्पनीहरुको मर्जरको बारेमा दिएजस्तो कडा अभिव्यक्ति त दिएनन् तर बैंकहरुलाई दश बर्षदेखि लभ गर्ने समय भएको र त्याे समय मौद्रिक नीतिसम्म मात्रै हुने भन्दै त्यसपछि कुनै न कुनै रुपमा मर्जरमा जान बाध्य पार्ने संकेत गरेका छन् ।

बजेटमै बैंकहरुको मर्जरबारे व्यवस्था भएपछि उत्साहित भएका गभर्नर नेपालले प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेट्नुको कुनै अर्थ नहुने भन्दै उद्योगीहरुलाई संकेत गर्दै घुमाउरो चेतावनी समेत दिएका छन् । यसअघि प्रधानमन्त्री र अर्थमत्री भेटेर ब्याजदर घटाउन दिएकाे दबाबजस्तै प्रयास नगर्न उनले चेतावनी दिएका हुन् ।

त्यस्तै, गभर्नर नेपालले बैंक सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालककाे याेग्यता संशाेधन गर्दै अधिकतम उमेरहद ताेक्ने संकेत समेत गरेका छन् ।

एक विश्लेषकले गभर्नरको यो भनाईलाई ‘मर्जरको लागि बैंकहरुलाई नैतिक दवाव’को अथ्र्याएका छन् । ‘गभर्नरको अभिव्यक्तिले बैंकहरुको संख्या नै तोकेर मर्जरमा जान निर्देशन दिने संकेत त गर्दैन तर बैंकहरु मर्जरमा गइदिए राम्रो हुन्थ्यो भन्ने आशय चाहिँ व्यक्त गर्छ’, कार्यक्रममै सहभागी ती विश्लेषकले भने – ‘उद्योगीहरुलाई बैंकिङ क्षेत्रबाट अलग गर्ने टुल्सको प्रयोग गरेर बैंकहरुलाई मर्जरको बाटोमा लैजानेगरी मौद्रिक नीतिले व्यवस्था गर्ने सम्भावना गभर्नरसा’बकाे भनाइले देखाउँछ ।’

विगतदेखि नै मर्जरकाे पक्षमा वकालत गर्दै आएका गभर्नर नेपालले आफ्नाे कार्यकालकाे अन्तिम माैद्रिक नीतिलाई आफ्नाे एजेन्डा स्थापित गराउने दिशामा बढि केन्द्रित गर्ने सम्भावना रहेकाेले पनि साे सम्भावना रहेकाे उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.