मेगा कलेजको आयोजनामा शैक्षिक सम्मेलन, व्यवस्थापन र प्रविधिबारे छलफल

  २०७६ जेठ २६ गते ९:०५     विकासन्युज


काठमाडौँ । मेगा नेशनल कलेजको आयोजनामा व्यवस्थापन र प्रविधिका सम्भावना तथा चुनौती विषयक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन शनिबारदेखि ललितपुरमा सुरु भएको छ । कुमारीपाटीस्थित मेगा नेशनल कलेजको प्रांगणमा सुरु भएको २ दिने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको उद्घाटन नेपाल सरकारका सचिव पदमप्रसाद पाण्डेले गरेका हुन् । सम्मेलनमा सहभागि हुन भारत, चीन, बेलायत, फ्रान्स, जर्मनी र अमेरिकाका विभिन्न विश्वविद्यालयका प्राध्यापकहरु नेपाल आएका छन् ।

सम्मेलनको उद्घाटन गर्दै नेपाल सरकारका सचिव पदमप्रसाद पाण्डेले कुशल व्यवस्थापन हरेक राष्ट्रको आवश्यकता बनिसकेकोले व्यवस्थापन क्षेत्रमा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुनुले उत्साह बढाएको बताए । ‘आधुनिक विश्वमा कुशल व्यवस्थापन र प्रविधिको प्रयोगबारे भएका खोज अनुसन्धानलाई शैक्षिक क्षेत्रमा उपयोग गरी दक्ष जनशक्ति तयार पार्नुपर्नेछ ।’, पाण्डेले भने । उनले सरकार र निजी क्षेत्र दुवैले व्यवस्थापन र प्रविधि क्षेत्रमा भोगेका समस्याहरुको समाधान खोज्न सम्मेलनमा सहीढंगबाट छलफल हुने विश्वास व्यक्त गरे ।

आयोजक मेगा नेशनल कलेजका प्रिन्सिपल डा. घनश्यामप्रसाद साहले नीजि क्षेत्रबाट व्यवस्थापन र प्रविधिको विषयमा खोज अनुसन्धानको प्रयास थालिएको बताए । ‘नेपालको नीजि शिक्षण संस्थाको अगुवाईमा राष्ट्रलाई नै उपयोगी हुने व्यवस्थापन र प्रविधि सम्बन्धी सम्मेलन आयोजना गरिएको छ । यसले प्रत्यक्ष रुपमा २५ सय विद्यार्थी मात्रै होइन समग्र राष्ट्रलाई नै फाइदा पुर्याउनेछ ।’, उनले भने ।

साहका अनुसार सम्मेलनमा ४० भन्दा बढी विषयमा कार्यपत्र प्रस्तुत हुनेछन र त्यसउपर २ दिनसम्म छलफल हुनेछ । ‘यो एउटा शैक्षिक सम्मेलन हो । यसले व्यवस्थापन र प्रविधिको बारेमा ज्ञान हासिल गर्न चाहने जोकोहीलाई मद्दत पुग्नेछ ।’, साहको भनाई छ ।

उद्घाटन समारोहमा कलेजको अनुसन्धानमुलक ‘जर्नल अफ मेगा एकेडेमिक रिसर्च’ विमोचन गरिएको थियो । उद्घाटन सत्रमा भारतको मेवार विश्वविद्यालयका प्राध्यापक राजेश भट्टले भारतमा व्यवस्थापनको सवाल, लण्डन विश्वविद्यालयका जोए फोस्टर इलिसले विश्वव्यापी शिक्षाका चुनौती, फ्रान्सको बोडेउक्स विश्वविद्यालयका डोमेनिक बुर्रेले प्राविधिक शिक्षाको असर, जर्मनीका प्राध्यापक म्यानफ्रेड ट्रेउले नेपाल र जर्मनीका सन्दर्भमा विज्ञान प्रविधि शिक्षासम्बन्धी विषयमा प्रस्तुति दिएका थिए ।

उद्घाटन सत्रमा बोल्दै मानविकी संकायका डीन डा. शिवलाल भूषाल र नेपाल खुला विश्वविद्यालयका प्राध्यापक डा. रामचन्द्र पौडेल, त्रिभुव विश्वविद्यालयका प्राडा श्रीधर गौतम लगायतले नेपालको व्यवस्थापन शिक्षालाई प्रभावकारी बनाउन तथा विद्यार्थीलाई अन्तर्राष्ट्रिय अनुभवबारे जानकार बनाउन मेगा नेशनल कलेजले आयोजना गरेको सम्मेलन फलदायी हुने बताए ।

आइतबारसम्म चल्ने सम्मेलनमा व्यवस्थापन संकायका विद्यार्थी, अध्यापक तथा विभिन्न विश्वविद्यालय र कलेजका प्रतिनिधिहरुको उपस्थिति रहने जनाइएको छ । उद्घाटन समारोहमा मेगा नेशनल कलेजका विद्यार्थीहरुले परम्परागत सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.