५४ उत्कृष्ट महिला उद्यमी पुरस्कृत, प्रदेश नम्बर १ बाट मात्रै ११ जना

  २०७६ जेठ २४ गते १९:५२     विकासन्युज


काठमाडौँ । सरकारले महिला उद्यमशीलता विकासमा हौसला प्रदान गर्ने उद्देश्यले मुलुकभरबाट उत्कृष्ट भएका महिला उद्यमीलाई सम्मान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा सातै प्रदेशबाट विभिन्न क्षेत्रमा उत्कृष्ट ठहरिएका महिला उद्यमीलाई सम्मान गरियो । उद्योगमन्त्री मातृकाप्रसाद यादवले उत्कृष्ट महिला उद्यमीलाई सम्मान तथा पुरस्कार प्रदान गरे ।

पुरस्कृत हुने उत्कृष्ट महिला उद्यमीमा प्रदेश १ बाट ११, प्रदेश २ बाट तीन, प्रदेश ३ बाट १०, गण्डकी प्रदेशबाट सात, प्रदेश ५ बाट नौ, कर्णाली प्रदेशबाट छ र सुदूरपश्चिम प्रदेशबाट आठ रहेका छन् । मुलुकभरका १६५ महिला उद्यमीबाट ५४ उत्कृष्ट उद्यमीको छनोट गरिएको थियो । सम्मानित हुनेमा खाद्यान्न तथा लत्ता कपडा उत्पादन तथा सेवा क्षेत्रमा सक्रिय उद्यमी रहेका छन् । उनीहरुलाई सम्मानपत्रका साथै जनही रु १५ हजार पुरस्कार प्रदान गरिएको थियो ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले घरेलु तथा साना उद्योगको विकासमा सरकार केन्द्रित रहेको बताउनुभयो । घरेलु उत्पादनको बजारीकरण र निर्यात प्रवद्र्धन गर्न सरकारले सहयोग गर्ने उल्लेख गर्दै उहाँले स्वदेशी उत्पादनलाई विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने गरी गुणस्तरीय बनाइनुपर्ने बताए ।

सरकार साना तथा ठूला उद्योगको विकास गर्न केन्द्रित भएको बताउँदै मन्त्री यादवले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा उद्योग क्षेत्रको विकास अपरिहार्य भएको बताए । घरेलु तथा साना उद्योगको संरक्षणका लागि सरकारले रु पाँच करोडभन्दा बढी लगानी गरेको उद्योगमा मात्रै वैदेशिक लगानी भित्र्याउने नीति लिएको उनको भनाइ थियो ।

मन्त्रालयका सविच (वाणिज्य) केदारबहादुर अधिकारीले महिला सक्षम र सशक्तीकरण भए मात्र मुलुकले फड्को मार्ने उल्लेख गर्दै साना उद्यमीलाई सफल बनाउन सरकारको ध्यान केन्द्रित भएको बताए । सरकारले कृषिजन्य तथा घरेलु उत्पादनलाई निकासी गर्न निर्यात मूल्यमा अनुदान दिइएको उनले बताए । ‘एक स्थानीय तह, एक उत्पादन’लाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गरिनुपर्नेमा जोड दिँदै सचिव अधिकारीले स्थानीय तहसँग समन्वय गरेर अगाडि बढेमा महिला उद्यमशीलता विकासमा थप टेवा मिल्ने बताए ।

साना तथा घरेलु उद्योग महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले महिला उद्यमशीलता विकासबाट मात्र महिलाको आर्थिक सशक्तीकरण सम्भव भएको उल्लेख गर्दै सबै महिलालाई उत्कृष्ट उद्यमी बनाउन सबैको सहयोगको खाँचो औँल्याए । उनले महिलालाई सफल उद्यमी बनाउन महासङ्घले सदैव सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । महिला उद्यमी महासङ्घकी अध्यक्ष महालक्ष्मी श्रेष्ठले समग्र मुलुकको विकासका लागि महिला उद्यमीलाई राज्यले लगानी गर्नुपर्नेमा जोड दिँदै महिला उद्यमीको क्षमता अभिवृद्धि, प्राविधिक सहायता र बजार व्यवस्थापनमा सरकारको ध्यान जानु आवश्यक भएको बताइन् ।

सम्मानित महिला उद्यमी पार्वतीकुमारी चौधरीले सरकारले गरेको सम्मानबाट महिला उद्यमीलाई थप हौसला मिलेको बताइन् । महिला उद्यमी ऋण कोषबाट न्यून सङ्ख्यामा महिलाले सेवा लिएको उल्लेख गर्दै उनले ऋण भुक्तानी गर्नुपर्ने तीन वर्षको समयलाई बढाउन सरकारसँग आग्रह गरिन् । अर्का सम्मानित उद्यमी निर्मला चौहानले सरकारको साथ र सहयोगविना महिला उद्यमशीलताको विकास गर्न नसकिने प्रष्ट पार्दै सबैको सहयोगको अपेक्षा गरिन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.