कामपाले सबै वडा कार्यालय एउटै नमुनामा निर्माण गर्ने, प्रतिभवन साढे दुई करोड बजेट

  २०७६ जेठ १९ गते १५:२६     विकासन्युज

काठमाडौं । काठमाडौँ महानगरपालिका(कामपा)ले सबै वडा कार्यालय परम्परागत शैलीको एउटै नमुनामा निर्माण  गर्ने भएको छ । आफ्नै कार्यालय भवन नहुँदा धेरै वडाले भाडामा लिएर कामकाज गरिरहेकाले काम गर्न कठिन हुनाका साथै सेवाग्राहीलाई सहज रूपमा सुविधा दिन पनि नसकिरहेकाले नयाँ भवन निर्माण गर्न लागिएको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिएका छन् ।

प्रत्येक वडा कार्यालय भवन निर्माणका लागि दुई करोड ५० लाख रुपैयाँलाग्ने अनुमान गरिएको छ ।चालू आर्थिक वर्षका लागि कामपाले १३ अर्ब दुई करोड १२ लाख ३७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकोमा तीमध्ये भौतिक पूर्वाधार निर्माणका लागि चार अर्ब छ करोड रुपैयाँ विनियोजन समेतगरिएको छ ।

यसरी, काठमाडौँ महानगरपालिकाले विभिन्न सात स्थानबाट विना सूचना सेवा प्रवाह गर्दा नागरिक मर्कामा परेका छन् । वडा नं ३, ४, ८, ९, १४, १८ र २६ को कार्यालय निर्माण भइरहेको छ भने वडा नं ६, ७, १५, ३१ र ३२ का कार्यालय भवनमा तला थप्ने तयारी भइरहेको कामपाले जनाएको छ ।

हाल कामपामा १३ विभाग रहेका छन् । भूकम्पअघि हालको हरिभवनबाट नागरिकलाई सेवा दिँदै आएको कामपाले भूकम्प गएलगत्तै राष्ट्रिय सभागृहबाट सेवा दिँदै आएको थियो । अहिले केही विभाग सुन्धारामा रहेको जेडिए कम्प्लेक्समा र केही राष्ट्रिय सभागृहमा पनि छ ।

त्यस्तै, वातावरण विभाग टेकुमा, सार्वजनिक निजी साझेदारी र सूचना प्रविधि महाशाखा जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा छन् । नक्सा र भौतिक पूर्वाधार महाशाखाले तत्कालीन कर कार्यालय रहेको भवन बबरमहलबाट सेवा दिँदै आएको छ। महानगरप्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी सुन्धारामा रहेको जेडिए कम्प्लेक्समै बसेर काम गरिरहेका छन् ।

महानगरको उपप्रमुख खड्गीका अनुसार भूकम्पअघि कामपाबाट उपलब्ध हुने सबै सेवा एकै स्थानबाट प्रदान गर्दै आएको भए पनि अहिले विभिन्न स्थानबाट सेवा प्रवाह भइरहेका छन् ।

केन्द्रीय कार्यालय र धेरै वडा कार्यालय भवन भाडामा लिएर काम गर्नुपर्दा हाल कामपालाई मासिक लाखौँ रुपैयाँ भाडाका लागि खर्चिनुपरेको छ । “नागरिकलाई सास्ती दिने कामपाको उद्देश्य नभई कार्यालयका लागि भाडाको भवन खोज्ने क्रममा जहाँँ प्राप्त हुन्छ, त्यहीँ लिइएको हो । महानगरमा धेरै विभाग छन्, त्यसमा प्रमुख र उपप्रमुखका लागि पनि त छुट्टै स्थान चाहियो, विकल्प नभएर नै नागरिकले समस्या भोग्नुपरेको हो”, कामपाका प्रवक्ता ईश्वर डङ्गोलले भने । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.