बजेटभन्दा व्यापार घाटा बढी, १३ खर्ब १५ अर्बको बजेट, व्यापार घाटा १३ खर्ब १९ अर्ब पुग्दै

  २०७६ जेठ १३ गते ८:५०     विकासन्युज

काठमाडौं । नेपालको वैदेशिक व्यापार घाटा वार्षिक बजेटभन्दा बढी हुने देखिएको छ । संघीय सरकारले चालू आर्थिक वर्षमा ल्याएको बजेटभन्दा चालू आवमा देशले व्यहोर्ने व्यापार घाटा बढी हुने देखिएको हो । सरकारले चालू आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । तर, चालू आवमा नेपालले कुल १३ खर्ब १९ अर्ब ५२ करोड रुपैयाँबराबरको व्यापार घाटा व्यहोर्ने देखिन्छ ।

चालू आर्थिक वर्षको १० महिनामा नेपालको व्यापार घाटा १० खर्ब ९९ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । अर्थात् नेपालले मासिक औसत १ खर्ब ९ अर्ब ९६ करोड रुपैयाँ व्यापार घाटा व्यहोरिरहेको छ । यसलाई आधार मान्दा आगामी दुई महिनामा नेपालले थप २ खर्ब १९ अर्ब ९२ करोड रुपैयाँ व्यापार घाटा व्यहोर्नेछ । समग्रमा चालू आर्थिक वर्षभित्र नेपालको व्यापार घाटा १३ खर्ब १९ अर्ब ५२ करोड रुपैयाँबराबरको हुने देखिन्छ ।

अर्थमन्त्री डा। युवराज खतिवडाले मध्यवधि समीक्षामार्फत चालू आर्थिक वर्षको बजेटलाई घटाएर ११ खर्ब ९९ अर्बमा झारेका छन् । राजस्व परिचालन र खर्च गर्ने क्षमता नबढ्दा बजेट घटाउने प्रवृत्ति छ । संशोधित बजेटको आकारलाई हेर्दा बजेटभन्दा व्यापार घाटा सवा खर्ब बढी हुने गरेको तथ्यांकले देखाउँछ ।

विगत पाँच वर्षको तथ्यांकलाई हेर्दा बजेटको आकार र व्यापार घाटाको आकार झन्डै बराबर देखिन्छ । आर्थिक वर्ष ०७०÷७१ र ०७१÷७२ मा बजेटको आकारभन्दा त्यस वर्ष नेपालले व्यहोरेको व्यापार घाटा ठूलो देखिन्छ । त्यस्तै, ०७३÷७४ र ०७४÷७५ मा बजेटको आकारभन्दा थोरै मात्र व्यापार घाटा कम देखिन्छ । चालू आर्थिक वर्षमा भने बजेटको आधारलाई व्यापार घाटाले उछिन्ने देखिन्छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.