अर्थविद्हरुको सुझाव-‘पपुलिष्ट र महत्वकांक्षी बजेट ल्याउनु हुन्न’

  २०७६ जेठ १ गते १६:५१     विकासन्युज

काठमाडौँ । अर्थविद्हरुले संघीयता बलियो बनाउने खालको बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् । काठमाडौँमा बुधबार आयोजित कार्यक्रममा पूर्व मुख्यसचिव डा. बिमल कोइराला, पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्री र अर्थविद् डा. चन्द्रकान्त पौडेलले यस्तो कुरामा जोड दिएका हुन् ।

उक्त कार्यक्रममा पूर्व मुख्य सचिव डा. विमल कोइरालाले कर्मकाण्डी र अग्ला अग्ला प्रतिज्ञा गर्ने खालको बजेट ल्याउन नहुने स्पष्ट पारे ।

उनले भने,‘यसअघिका बजेटहरु प्रचारबाजी र प्रियतावादका लोभले गाँजेको थियो । पूरा नहुने कुरा धेरै हुन्थे । बजेटको पुस्तिका फोहोर भयो ।’

उनले ‘हाम्रो स्रोतको आयतन साँघुरो छ । सरकारले अब प्राथमिकताहरु तोक्नुपर्छ । जनताका जीवनमा परिवर्तन ल्याउने कार्यक्रमहरु ल्याउनुपर्छ । पेचिला प्रश्नहरु सामना गर्ने कार्यक्रम ल्याउनुपर्छ’ भने ।  सरकारले अघि सार्ने कतिपय परियोजनाहरु राजनीतिक रुपले ठीक भएपनि सामाजिक–आर्थिक दृष्टिकोणले ठीक नहुनेपनि उनले सचेत गराए ।

त्यस्तै, स्थानीय सरकारलाई बलियो बनाउनु पर्नेमा पनि उनले जोड दिए । कोइरालाले केन्द्र सरकारले कठोरताका साथ प्राथमिकताहरु निर्धारण गर्नुपर्ने धारणा राखे । उत्पादकत्व बढाउनु पर्ने र शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाईलगायत आधारभूत कुरामा जनताको पहुँच हुनु पर्नेपनि उनले स्पष्ट पारे ।

त्यसैगरी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले संघीयतालाई जोडदार रुपमा कार्यान्वयन गर्ने खालको बजेट आउनु पर्ने सुझाव दिए । क्षेत्रीले संघले ठूला–ठूला आयोजना, प्रदेशले मझौला र स्थानीय सरकारले सानातिना आयोजनाहरु हेर्ने गरी बजेट ल्याउन सरकारलाई सुझाए । उनले खर्च गर्न नसक्ने बजेट ल्याउन नहुनेपनि तर्क गरे ।

वर्तमान सरकारलाई समाजवादउन्मुख अर्थतन्त्रको दिशा समात्ने अवसर भएकोले नेतृत्वले अवसर गुमाउन नहुने पनि क्षेत्रीले बताए ।
अर्का अर्थविद् डा. चन्द्रकान्त पौडेलले योजना आयोगको १५ औं योजनासँग अब आउने बजेट हार्मोनाईज हुनुपर्नेमा जोड दिए । उनले भने,‘अहिले दुई तिहाई बहुमतको स्थायी सरकार छ । संस्थागत सुधारहरु देखा परेका छन् । भर्खरै उत्साहजनक लगानी सम्मेलन भएको छ ।’

उनले पपुलिष्ट र महत्वकांक्षी बजेट ल्याउन नहुने सुझाव दिए । उनले भने,‘साहसपूर्ण प्रस्तुति हुनुपर्छ । समाजवादी अर्थतन्त्रको लक्षण देखिनुपर्छ । अहिलेको बजेट समाजवादी बजेट आउने संकेत प्राप्त भएको छ ।’ पौडेलले पूर्वाधार विकासमा जोड दिने गरी बजेट आउने विश्वास दिलाए । औद्योगिक क्षेत्रलाई पनि विशेष जोड दिने गरी बजेट आउनु पर्ने पौडेलको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.