त्रिशुलीको आईपीओ बाँडफाँड, प्रधानमन्त्री र उर्जामन्त्रीलाई २०-२० कित्ता मात्रै पर्यो

  २०७५ चैत १४ गते १३:४१     विकासन्युज

काठमाडौं । जनताको जलविद्युत कार्यक्रम अन्तर्गतको त्रिशुली जलविद्युत कम्पनीले निष्काशन गरेको आईपीओको बाँडफाँड बिहीबार भएको छ ।

कम्पनीले चैत ७ गतेदेखि चैत ११ गतेसम्म निष्काशन गरेको आईपीओमा आवेदक सबैले २० कित्ता शेयर पाएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । १८ गुणा बढी आवेदन परेको उक्त आईपीओमा कूल एक लाख ५४ हजार ५ सय ५९ जनाले आवेदन दिएका थिए ।

सबैलाई २० कित्ताका दरले शेयर बाँडफाँड गर्दा ३० लाख ९१ हजार १ सय ८० कित्ता बाँडफाँड गरी बाँकी रहेको ५ लाख २ हजार ६ सय ७० कित्ता शेयर गोलाप्रथाबाट ५० हजार २ सय ६७ जनालाई थप १० कित्ताका दरले बाँडफाँड गरिएको हो । यसो गर्दा १ लाख ४ हजार २ सय ९२ जनाले २० कित्ता र बाँकी ५० हजार २ सय ६७ जनाले ३० कित्ता शेयर प्राप्त गरेका हुन् ।

उक्त आईपीओको बिहीबार दिँउसो सिंहदरबारको उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको सभा हलमा बाँडफाँड भएको थियो । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन “अनन्त”को उपस्थितिमा आईपीओ बाँडफाँड भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्री वर्षमान पुनलाई पनि २०-२० कित्ता मात्रै शेयर परेको ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । प्रधानमन्त्री ओलीले १० हजार कित्ता र उर्जामन्त्री पुनले १ हजार कित्ता शेयरका लागि आवेदन दिएका थिए ।

उक्त आईपीओमा कुल ६४ करोड ५५ लाख २९ हजार रुपैयाँ बराबरको ६ करोड ४५ लाख ५२ हजार ९०० कित्ता सेयरको माग परेको थियो । आईपीओमा कुल आवेदनमध्ये ६७ वटा आवेदन रद्ध भएको छ । जसमध्ये संस्थागतबाट परेको २९ वटा र दोहोरो आवेदन गरेका १९ जना आवेदकबाट कुल ३८ वटा गरी ६७ वटा आवेदन रद्ध भएको क्यापिटलले बताएको छ ।

कम्पनीले जारी गरेको उक्त आईपीओमा न्युनतम १०० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म भर्न पाइने व्यवस्था थियो ।

हाल १० प्रतिशत रकम अग्रिम रुपमा माग गरिएकोमा आयोजनाको ५० प्रतिशत भौतिक प्रगति भएपछि बाँकी ९० प्रतिशत रकम माग गरिने बताइएको छ । उक्त कम्पनीको शेयरमा ८ प्रतिशतको न्यूनतम मुनाफा सुनिश्चित गरिएको मन्त्रालयले जनाएको छ । यो बाहेक जनताको जलबिद्युत कार्यक्रम अन्तर्गत थप १८ वटा जलविद्युत कम्पनीको शेयर निश्काशन हुन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.