एसईई प्रश्नपत्रमा त्रुटि नै त्रुटि, थुप्रै प्रश्न अस्पष्ट

  २०७५ चैत १२ गते ७:३५     विकासन्युज

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा ९एसईई० को प्रश्नपत्रमा त्रुटि नै त्रुटि भेटिएका छन् । थुप्रै प्रश्न अस्पष्ट रहेको विद्यार्थीको गुनासो छ । ७ वटै प्रदेशका अंग्रेजी र नेपाली विषयका प्रश्नपत्रमा गल्ती र अस्पष्टता भेटिएको हो ।

एसईईअन्तर्गत आइतबार अंग्रेजी र सोमबार नेपाली विषयको परीक्षा भएको थियो । बोर्डले ७ वटै प्रदेशका लागिअनिवार्य विषयका छुट्टाछुट्टै प्रश्नपत्रबाट परीक्षा लिएको छ ।

प्रदेश ३ को नेपालीको प्रश्नपत्रमा विद्यार्थीले उत्तर लेख्नुपर्नेभन्दा बढी प्रश्न सोधिएको छ । प्रश्न नम्बर ७ मा ४ वटा प्रश्नको मात्रै उत्तर दिए पुग्नेमा ५ वटा प्रश्न राखिएपछि धेरै विद्यार्थी झुक्किए । कतिपय ठाउँमा भाषागत त्रुटिसमेत छन् । सातवटै सेटको प्रश्न नम्बर ९ अस्पष्ट छ । त्यसमा भनिएको छ, ‘आफ्नो भाइका बारेमा तीन वाक्यमा वर्णन गर्नुहोस् ।’ यस्ता प्रश्नले विद्यार्थीलाई झुक्याउने नेपाली विषयका प्रश्न निर्माणविज्ञ देवीराम आचार्यले बताए । ‘३ वाक्यमा वर्णन हुनै सक्दैन,’ उनले भने, ‘३ पूर्णांकको प्रश्नमा विद्यार्थी झुक्किएर एक पेज उत्तर लेख्ने सम्भावना हुन्छ । अरू प्रश्नको उत्तर दिन समय नपुग्दा अनुत्तीर्ण हुन सक्छन् ।’

कर्णाली प्रदेशको प्रश्नपत्रको ५ नम्बरमा रेखांकित शब्दहरूको पदवर्ग छुट्याउन भनिएको छ । रातो कागजमा प्रश्न छापिएकाले रेखांकित गरिएका शब्द चिन्न मुस्किल पर्छ । प्रश्नपत्र छपाइ गर्न रातो कागज उपयुक्त नहुने विज्ञहरूको भनाइ छ। प्रश्नपत्रमा विद्यार्थीलाई ठाउँठाउँमा निर्देशन दिइएको छ ।

प्रश्न १७ मा ‘तलका कुनै एक प्रश्नको लामो उत्तर दिनुहोस्’ भनिएको छ । लगत्तै ‘क’ प्रश्न संकेत गरेर ‘कविताको तलको अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्’ भनिएको छ । फेरि ‘अ’ प्रश्न संकेत गरेर ‘क’ प्रश्नसँगै सम्बन्धित अर्को प्रश्न सोधिएको छ । ‘गज्याङगुजुङ पाराले प्रश्नमाथि प्रश्न थुपारिएको छ,’ आचार्यले भने, ‘कुनै एउटा मात्र प्रश्नको उत्तर दिनुपर्ने ठाउँमा धेरै प्रश्न थुपार्दा विद्यार्थी कन्फ्युज हुन्छन् ।’ एउटै प्रश्नको जवाफ लेख्न विद्यार्थीलाई दोहोरो निर्देशन दिइएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.