२० वर्षसम्म सबै कर छुट दिने प्रदेश-२ सरकारको निर्णयलाई परिसंघले गर्यो स्वागत

  २०७५ चैत ५ गते १९:३६     विकासन्युज

काठमाण्डौ । प्रदेश नं. २ मा उद्योग खोलेमा २० वर्षसम्म सबै कर छुट दिने प्रदेश सरकार मन्त्री परिषदको निर्णयको नेपाल उद्योग परिसंघले स्वागत गरेको छ । परिसंघले मंगलबार विज्ञप्ति प्रकाशित गर्दै प्रदेश २ सरकारको निर्णयको स्वागत गरेको हो ।

गत हप्ता जनकपुरमा परिसंघ तथा प्रदेश सरकारको संयुक्त आयोजनामा “प्रदेश नं. २ को समृद्धिको मार्गचित्र” विषयमा व्यापक छलफल तथा अन्तरक्रियाको आयोजना गरेको थियो । सो अन्तरक्रिया कार्यक्रममा प्रदेश नं. २ का सम्पूर्ण मन्त्रीहरु, प्रदेश सभा सदस्यहरु, विभिन्न राजनैतिक दलका नेताहरु लगायत सबै जिल्लाका उच्चस्तरीय सरोकारवालाहरु समेतको सहभागिता थियो । जसमा उद्योग र कृषि बीचको अन्तर सम्बन्धलाई प्रदेश सरकारबाट जोड दिइ लगानीमैत्री वातावरण तयार गरिनु पर्ने कुरामा जोड दिइएको थियो ।

परिसंघको विज्ञप्तिमा अगाडि भनिएको छ–‘प्रदेश नं. २ को समृद्धिका लागि लगानी विस्तार गर्ने उद्देश्यले उक्त प्रदेश सरकारले गरेको निर्णयलाई कार्यान्वयनमा ल्याउन प्रदेश सरकारबाट यो कदमलाई तदारुकता साथ विद्यमान ऐन कानुनमा आवश्यक परिमार्जन, संशोधन, पुनर्लेखन गरी उद्योग र लगानीमैत्री वातावरण तयार गर्न समेत परिसंघले आव्हान गर्दछ ।’

साथै उद्योगमैत्री वातावरण, भूमी बैँकको व्यवस्था गरी उद्योगलाई चाहिने जग्गा सहज रुपमा उपलब्ध गराइदिने, ३ घण्टामै उद्योग दर्ताको काम सम्पन्न गर्ने र उद्योग क्षेत्रमा नियमित विद्युत आपूर्ति गर्ने निर्णय र सोको व्यवस्था अन्य प्रदेशहरुको लागि समेत अनुकरणीय भएको परिसंघको ठहर छ–विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.