शुक्रबारदेखि ब्रुमरबाट सडक सफा गरिने, पहिलो पटक रत्नपार्कमा प्रयोग हुने

  २०७५ चैत ५ गते १६:४३     विकासन्युज

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी शुक्रबारदेखि नयाँ ब्रुमर(यान्त्रिक कुचो) मार्फत सडक सफा गर्ने भएको छ । अघिल्लो सोमबार इटलीबाट काठमाडौँ आइपुगेको सफा गर्ने उक्त यन्त्र पहिलो पटक रत्नपार्कमा प्रयोग गर्न लागिएको कामपाले जनाएको छ ।

अहिले ती ब्रुमर सञ्चालन गर्न चालक र सहचालकलाई तालीम दिने कामसँगै पाटपुर्जा जडानका क्रममा रहेको प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । उनका अनुसार बिहीबारसम्म सञ्चालनको तयारीको सबै काम सकी प्रयोगमा ल्याइने छ । नियमित रुममा कुन कुन सडकमा उक्त यन्त्रले सफा गर्ने भन्ने विषयमा कामपा प्रमुखसँग छलफल भएको प्रवक्ता डङ्गोलले बताए ।

कानूनी रुपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र कामपाकोे जिम्मेवारीमा पर्छ । अबको केही दिनमा कुन कुन स्थानमा उक्त यन्त्र प्रयोग गर्ने भन्ने यकिन हुने छ । ती ब्रुमर १० करोड ८० लाखमा ल्याइएको हो । यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरले सडक सफा गरिँदै आएको थियो ।

कामपासँग यसअघि रहेको एक बु्रमर पनि काम गर्न नमिल्ने अवस्थामा रहेको पनि कामपाले जनाएको छ । गत असारमा गरिएको बोलपत्रको आधारमा उक्त यन्त्र ल्याइएको हो ।

सबै ब्रुमर अहिले राष्ट्रिय सभागृहमा राखिएको छ । पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा छ टन क्षमताका छन् । ती ब्रुमरमा दिनमा १० किलोमिटरसम्मको धूलो सङ्कलन गर्न सक्ने क्षमताको रहेको छ ।

युरो मापदण्डका भनिएका उक्त ब्रुमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धूलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएको छ । पछिल्लो समय निर्माण तीव्ररुपमा भई धूलो बढिरहेका अवस्थामा ती ब्रुमरले ठूलो सहयोग पुग्ने विश्वास कामपाले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.