पाइलट अभावमा थन्किएको वाइ-१२ विमानको पुनः उडान शुरु

  २०७५ चैत १ गते १५:४८     विकासन्युज

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइ-१२ विमानले पुनः उडान शुरु गरेको छ । विमानचालक (पाइलट) अभावले डेढ महिनादेखि थन्केर बसेकोे उक्त विमानले आज काठमाडौँ-दाङ दोहोरो उडान भरेको हो ।

बिरामी बिदामा बस्नुभएका पाइलट निपेन्द्र भट्टराई पुनःकाममा फर्किएपछि उक्त विमानले उडान भर्न शुरु गरेको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । निगमले वाइ-१२ विमानकै अर्का पाइलट उद्धव घिमिरेलाई ए-३२० को प्रशिक्षणमा पठाएको विरोधमा दुई पाइलट गत माघ २९ गते (जनवरी ३१) बाट बिरामी बिदामा बसेका कारण निगमका तीन विमान ग्राउण्डेड भएको बताइन्छ ।

आन्तरिक विवादका कारण लामो समयदेखि बिरामी बिदामा बस्नुभएका दुई पाइलट भट्टराई र सञ्जय बादे फागुन १३ र १६ गते नै काममा फर्किएका छन् । उनीहरु २० दिनभन्दा बढी बिदामा बसेका कारण विमान उडाउनुभन्दा पहिले स्वास्थ्य परीक्षण गर्नुपर्ने भएकाले उडान भर्न पाएका थिएनन् । यसअघि ‘पाइलट प्रोफिसियन्सी चेक (पीपीसी)’ को म्याद सकिएकाले नविकरणका लागि पाइलट आङनुरी शेर्पाको पीपीसी चीन जानुहुने भएको छ ।

प्रशिक्षक पाइलटसमेत रहनुभएका शेर्पाको पीपीसी नवीकरण नहुँदा नयाँ थप गरिएका दुई पाइलट पनि कामविहीन भएका छन् । निगमका सहायक प्रवक्ता कोइरालाका अनुसार शेर्पा एक सातापछि पीपीसी नवीकरणका लागि चीन जाँदै छन् । उनी फर्किएपछि नयाँलाई तालीम दिने योजना बनाइएको थियो । डेढमहिनाको अवधिमा पाँच क्याप्टेन तयार भई वाई-१२ सबै विमानसञ्चालनमा ल्याइने योजना छ ।

निगमसँग वाइ-१२ चिनियाँ कम्पनीका चार विमान रहेकामा एक प्राविधिक परीक्षणमा छ भने बाँकी तीन विमानमा पाइलटको वैकल्पिक व्यवस्था गरेर भए पनि उडान भर्ने बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.