सिसी टीभी जडान काठमाडौँ महानगरले प्रहरी परिसरलाई दियो ३ करोड

  २०७५ फागुन १६ गते ११:४९     विकासन्युज

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न चोकमा सिसी टीभी जडान गर्न महानगरीय प्रहरी परिसर काठमाडौँलाई तीन करोड रकम सहयोग गरेको छ ।

महानगरपालिका र परिसरबीच महानगरपालिका क्षेत्रभित्र सुव्यवस्थापन, शान्तिसुरक्षा, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण फोहरमैला व्यवस्थापन, फुटपाथ नियन्त्रण, प्रदूषण न्यूनीकरणमा प्रभावकारी बनाउन आवश्यक पर्ने सिसी टिभी जडानका लागि सो रकम सहयोग गरेको हो ।

सो रकम काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हस्तान्तरण गरे ।महानगरपालिका र परिसरबीच यही असोज ९ गते समुदाय–प्रहरी साझेदारी अवधारणा कार्यान्वयन गर्न भएको समझदारीअन्तर्गत सो रकम हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले महानगर प्रविधिमैत्री हुनुपर्ने बताउँदै सुरक्षित शहर बनाउन सिसी टिभीको महत्वपूर्ण भूमिका रहेको बताए । “सिसी टिभीले अपराध नियन्त्रण, वैज्ञानिक प्रमाण सङ्कलन, फोहर व्यवस्थापन, अवैध कार्य नियन्त्रणमा ठूलो सहयोग पुग्नेछ,” उनले भने ।

महानरपालिकाका प्रमुख शाक्यले शहरलाई सुरक्षित र सुव्यवस्थित बनाउन नेपाल प्रहरी र काठमाडौँ महानगरपालिकाबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए । सिसि टिभीले समयमा नै सतर्कता अपनाई अपराध घट्न नदिने अवस्था बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले जनता र शहरलाई सुरक्षित राख्न आपराधिक घटनालाई बाहिर निकाल्न तथा सूचना लिनेका लागि सिसी टिभीले सहयोग पुग्ने बताए ।

सोही अवसरमा सिसी टिभी जडान गर्ने सम्बन्धमा महानगरपालिकाका सहसचिव डा टोकराज पाण्डे र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख शैलेश थापा क्षेत्रीबीच सझौतापत्रमा हस्ताक्षरसमेत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.