एकाएक किन बढ्यो मंगलबारको सेयर बजार ? यस्तो छ कारण

  २०७५ फागुन ७ गते १५:३०     विकासन्युज

काठमाडौं । सेयर बजारमा लामो समयपछि हरियाली छाएको छ । निरन्तर ओरालो लागिरहेको परिसूचक मंगलबारको एकाएक २२.४४ अंकले बढेर ११२४.९६ अंकमा पुगेको छ ।

मंगलबार अर्थमन्त्रालयमा बसेको अर्थसमितिको बैठकमा पुँजीबजारको समस्या समाधान सम्बन्धी सकारात्मक कुराहरुमा छलफल भएकाले बजार बढेको इभेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताएका छन् । साथै, हाल बढिरहेको बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर नियन्त्रण गर्ने सम्बन्धि अर्थमन्त्रालयमा छलफल भइरहेकाले यसको असर बजारमा परेको उनले बताए ।

बजारमा कुल १६७ कम्पनीको २१ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी अपर तामाकोशी हाइड्रो पावरको एक करोड २७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २३२ रुपैयाँ रहेको छ ।

बजारमा कारोबारमा आएका सबै सूचकमा हरियाली छाएको छ । सबैभन्दा बढी जीवन बीमा समूह २५१ अंकले उकालो लागेको छ । त्यस्तै, निर्जीवन बीमा समूह १५३ अंकले बढेर ५४३७ अंकमा पुगेको छ । उत्पादनमूलक र फाइनान्स समूह सामान्य एकल अंकले उकालो लागेका छन् भने बाँकी समूह दोहोरो अंकले बढेका छन् ।

मंगलबारका बजारमा अधिकांश लघुवित्त संस्थाको सेयर मूल्यमा वृद्धि भएको छ । सबैभन्दा बढी चौतारी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९३ प्रतिशत कमाएका छन् । त्यस्तै, कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.६९ प्रतिशतले बढेर प्रतिकित्ता ८४९ रुपैयाँ पुगेको छ ।

त्यसैगरी, नयाँ नेपाल लघुवित्त विकास बैंक ७.५८, डिप्रोक्स लघुवित्त वित्तीय संस्था ७.१४, सामुदायिक लघुवित्त वित्तीय संस्था ६.६७ र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.०५ प्रतिशतले बढेको छ ।

दोहोरो अंकले बढेको बजारमा सबैभन्दा बढी वर्ल्ड मर्चेन्ट बैंकिङ् एण्ड फाइनान्सका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् । त्यस्तै, खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ३.७५ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.