२०१४ मा शुरू ब्रोडगेज रेल्वे १ वर्षभित्र सञ्चालनमा आउने तयारी

  २०७५ माघ २८ गते ११:५३     विकासन्युज

काठमाडौं । २०१४ मा निर्माण शुरू भएकाे ब्रोडगेज रेल्वे १ वर्षभित्र सञ्चालनमा आउने तयारी  भएकाे छ । भारत सरकारको रु ७ अर्ब २० करोडको आर्थिक सहयोगमा ब्रोडगेज रेल्वे विस्तारको काम सन् २०१४ मा शुुरु गरिएको हो ।

विसं १९९४ शुरु भएको विजलपुरा (भङ्गाहा महोत्तरी)–जनकपुर(धनुषा)–जयनगर ५१ किमी रेलमार्ग विसं २०५८ मा बाढीले विग्हीपुल भत्काएपछि रेल सेवा जनकपुर–जयनगर २९ किमीमा सीमित भएको थियो । सो रेलमार्गमा पनि स्तरोन्नतिको काम शुरु गरिएसँगै विभागले विसं २०७० मै रेल सेवा बन्द गराएको थियो । इजोतीयाजस्तै कुर्था स्टेशन नजिकका महोत्तरी जिल्लाका लोहारपट्टी, बलबा र भङ्गाहा नगरपालिकाका बासिन्दा पनि आफ्नो रेल चढ्ने आस अधुरै रहेको बताउँछन् ।

बर्दिवास–जयनगरसम्मको ६९ किमी दूरीमा तीन चरणमा काम भइरहेको रेल विभागले जनाउँदै आएको छ । पहिलो जयनगरबाट कुर्था, दोस्रो कुर्थाबाट महोत्तरीको भङ्गाहा (बिजलपुरा स्टेशन) र तेस्रो भङ्गाहाबाट बर्दिवास रहेको छ । पहिलो चरणमा रेल प्राप्त हुनासाथ सञ्चालन हुने र दोस्रो चरणमा कुर्थादेखि भङ्गाहासम्मको १७ किलोमिटर दूरीमा लिक ओछ्याइने र एक वर्षभित्रै सेवा सञ्चालन हुने गरी काम भइरहेको रेल विभागले जनाएको छ ।

“सन् २०१९ भित्रै कुर्थादेखि भङ्गाहा (विजलपूरा स्टेशन) सम्म रेल सञ्चालन भइसक्छ” रेल विभागका प्रवक्ता अमन चित्रकारले  विभागको तालीकाअनुसार भङ्गाहाबाट बर्दिवाससम्मको १८ किलोमिटर दूरीमा पनि सन् २०२० भित्र रेल सञ्चालन हुने गरी काम हुनेछ जानकारी दिएका छन । यद्यपि बिजलपुरा स्टेशनदेखि बर्दिवाससम्मको १८ किमी दूरीमा भने अझै जग्गा मुआब्जाको कुरा नटुङ्गिएकाले प्रवक्ता चित्रकारको भनाइअनुसार काम हुनेमा यस भेगका सर्वसाधारण आश्वस्त भने देखिँदैनन् ।

पहिलो चरणको काम सम्पन्न भएर हस्तान्तरणको तयारी रहेको, दोस्रो चरणअन्तर्गतको कुर्थादेखि भङ्गाहासम्मको खण्डमा माटो सम्याउने, ग्राबेल ओछ्याउने र पुलपुलेसा निर्माणको काम अन्तिम चरणमा रहेको विभागले जनाएको छ । यता तेस्रो चरणमा काम सम्पन्न गरिने भनिएको भङ्गाहाको बिजलपुराबाट बर्दिवासम्मको १८ किमी दूरीभित्र काम अघि बढ्न अझै अन्योल नै छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.