वाणिज्य बैंकको ब्याजदर १.६ देखि १६.५५% सम्म, कुन बैंकमा कति प्रतिशतमा पाइन्छ ऋण ?

  २०७५ माघ २८ गते १०:५०     विकासन्युज

काठमाडौं । सञ्चालनमा रहेका २८ वाणिज्य बैंकहरुले दिने ऋणमा बैंकहरुले १.६ प्रतिशत देखि १६.५५ प्रतिशतसम्म ब्याज लिन पाउने भएका छन् । वाणिज्य बैंकहरुको पुस महिनाको आधार ब्याजदरको आधारमा बैंकहरुले न्यूनतम १.६ प्रतिशतदेखि अधिकतम १६.५५ प्रतिशतसम्म ब्याजदर लिन पाउने भएका हुन् । ऋणको प्रकृति र बैंकको आधार ब्याजदरले उक्त ब्याजदर निर्धारण गरेको हो ।

पुस मसान्तसम्मको वित्तीय अवस्थाको आधारमा राष्ट्रिय वाणिज्य बैंकले माघ महिनाको लागि आधार ब्याजदर ५.६० प्रतिशत कायम गरेको छ । यो वाणिज्य बैंकहरुमध्येकै सबैभन्दा कम दर हो । कुमारी बैंकको सो दर ११.५५ प्रतिशत छ जुन वाणिज्य बैंकहरुमध्येकै सबैभन्दा बढी हो ।

बैंकहरुले ऋणको प्रकृतिअनुसार आधार ब्याजदरमा ५ प्रतिशतसम्म प्रिमियम जोडेर ऋणको व्याजदर निर्धारण गर्नसक्ने प्रावधान छ । शेयरकर्जा, रियलस्टेट कर्जा लगायतका मार्जिन प्रकृतिको कर्जामा प्रिमियम दर अधिकतम ५ प्रतिशतसम्म तोक्न पाउने भएकोले सबैभन्दा बढी आधार ब्याजदर हुने कुमारी बैंकले दिने उक्त प्रकृतिको ऋणको अधिकतम ब्याज १६.५५ प्रतिशत हुने देखिएको हो ।

कृषि कर्जामा भने बैंकहरुले आधार ब्याजदरमा अधिकतम २ प्रतिशत मात्र प्रिमियम थप गर्न पाउँछन् । यसो गर्दा उक्त प्रकृतिको कर्जामा पुस मसान्तको आधार ब्याजदरको आधारमा राष्ट्रिय वाणिज्य बैंकले लिने ब्याजदर ७.६६ प्रतिशत हुन जान्छ । नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमा घोषणा गरेको सहुलियतपूर्ण कर्जाको व्यवस्थाअनुसार महिला उद्यमशीलता कर्जामा ६ प्रतिशतसम्म ब्याज अनुदान दिने भएकोले उक्त बैंकबाट महिलाहरुले उद्यमशीलताका लागि १.६ प्रतिशतमै ऋण पाउनेछन् भने अन्य कर्जाका हकमा २.६ प्रतिशत ब्याज तिर्नुपर्नेछ ।

नेपाल राष्ट्र बैंकले त्यस्तो कर्जामा अन्य कुनै शुल्क तथा दस्तुर लिन नपाउने गरी कडाई गरेकोले सहुलियतपूर्ण कर्जामा तोकिएकै ब्याजदरमा ऋण पाउनसक्ने सम्भावना देखिन्छ । मार्जिन प्रकृतिका कर्जाहरुमा भने बैंकले नियमानुसार थप सेवा शुल्क लिन पाउँछन् । यसो गर्दा ऋणको अधिकतम लागत अझै बढ्न सक्छ ।

कुन बैंकको आधार ब्याजदर कति ?

नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमा घोषणा गरेको सहुलियतपूर्ण कर्जाको व्यवस्थाअनुसार महिला उद्यमशीलता कर्जामा ६ प्रतिशतसम्म ब्याज अनुदान दिने भएकोले राष्ट्रिय वाणिज्य बैंकबाट महिलाहरुले उद्यमशीलताका लागि १.६ प्रतिशतमै ऋण पाउनेछन् भने अन्य कर्जाका हकमा २.६ प्रतिशत ब्याज तिर्नुपर्नेछ ।

पुस महिनामा बैंकहरुले प्रकाशन गरेको आधार ब्याजदर अनुसार सधैंझैं राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा कम आधारदर रहेको बैंक बन्दा कुमारी बैंक सबैभन्दा बढी दर भएको बैंक बनेको छ । वाणिज्य बैंकबाहेक नेपाल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नबिल बैंक र एभरेष्ट बैंक सबैभन्दा कम आधार ब्याजदर भएका पाँच बैंकमा रहँदा कुमारीबाहेक सेञ्चुरी बैंक, सिभिल बैंक, कृषि विकास बैंक र जनता बैंक सबैभन्दा बढी आधार ब्याजदर हुने बैंक भनेका छन् । जुनसुकै प्रकृतिको कर्जामा पनि कम आधार ब्याजदर भएका बैंकमा सस्तो र बढी आधार ब्याजदर भएका बैंकहरुमा महँगो ब्याजदर पर्नजान्छ । त्यसैले यसलाई सबैभन्दा सस्तो र सबैभन्दा महँगो कर्जा पाउने बैंकको रुपमा समेत लिन सकिन्छ ।

कसरी गणना हुन्छ आधार ब्याजदर ?

आधार ब्याजदरको निर्धारण विशेषतः कस्ट अफ फण्डले निर्धारण गर्छ । कस्ट अफ फण्डका केही प्रशासनिक खर्चहरु जोडेर आधार ब्याजदर तय हुन्छ । त्यस्तो खर्चमा सञ्चालन लागत, सीआरआरको लागत र एसएलआर लागत पर्छन् । बैंकहरुले आरओए बापत ०.७५ प्रतिशत प्रिमियम समेत जोड्ने गरेका छन् । यो दरलाई हटाउन नेपाल राष्ट्र बैंकले बैंकहरुलाई परिपत्र गरे पनि बैंकहरुले यो निर्देशन पालना गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.