१३२ केभी क्षमताको विद्युत् सवस्टेशन निर्माण शुरु, ५१ करोडमा ठेक्का सम्झौता

  २०७५ माघ १९ गते १५:११     विकासन्युज

भरतपुर । चितवनमा १३२ केभी क्षमताको विद्युत् सवस्टेशन निर्माणको काम शुरु भएको छ । पूर्वी चितवनमा विद्युत् आपूर्ति सहज बनाउन निर्माण गर्न लागिएको सवस्टेशनको ठेक्का सम्झौता गरेर काम थालिएको हो । राप्ती नगरपालिका–६ हर्दिको साढे तीन बिघा क्षेत्रफलमा सवस्टेशन निर्माण गरिनेछ । अनुमानित लागत ५३ करोड रहेको आयोजनाको ५१ करोडमा ठेक्का सम्झौता भएको हो ।

नेपाल सरकारको लगानीमा निर्माण हुन लागेको आयोजना निर्माणको जिम्मा चीनको सिक्युएनइसी र नेपालको नेपाल हाइड्रो जेभीले पाएका छन् । सम्झौता लागू भएको मितिले २१ महिनामा आयोजना निर्माणको काम सक्नुपर्ने पूर्वी चितवन १३२ केभी सवस्टेशन आयोजनाका प्रमुख रमणराज शर्माले जानकारी दिए ।

आयोजना निर्माण सम्पन्न भइसकेपछि पूर्वी चितवन र समग्र चितवनलाई कम्तीमा १० वर्षका लागि सहजरुपमा विद्युत् आपूर्ति गर्न सकिने उनले बताए । “नयाँ सवस्टेशनबाट अहिले आइरहेको भन्दा ठूलो कन्डक्टरबाट एक सर्किट बढी क्षमतामा ३३ केभी विद्युत् चैनपुर सवस्टेशनलाई उपलब्ध गराउँछौँ”, शर्माले भने, “११ केभी सवस्टेशनबाटै वितरण हुनेछ ।”

हेटौँडा भरतपुर १३२ केभी प्रसारण लाइनबाट हर्दि सवस्टेशनमा विद्युत् जोडिने जानकारी दिए । सवस्टेशन निर्माणका लागि ठेकेदार कार्यक्षेत्रमा परिचालित भएर प्रारम्भिक चरणको काम शुरु गरिएको छ ।

भरतपुरबाट प्रसारण हुने विद्युत्को क्षमताले पूर्वी चितवनलाई धान्न नसकेकाले सवस्टेशन निर्माण गर्न लागिएको चितवन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बताए । आयोजना समयमै निर्माण सम्पन्न गर्नका लागि निरन्तर निगरानी गरिने उनको भनाइ छ ।

भरतपुर सवस्टेशनबाट अहिले पूर्वी चितवनका लागि ३३ केभी प्रसारण लाइनबाट ३० एमभिएको पावर ट्रान्सफर्मररबाट चैनपुर सवस्टेशनमा विद्युत् आपूर्ति हुने गरेको छ । भरतपुर सवस्टेशनबाट पश्चिम चितवनका लागि ३३ केभी प्रसारण लाइनबाट ३० एमभिएकै ट्रान्सफर्मरमार्फत चनौली सवस्टेशन र ११ केभी प्रसारण लाइनमार्फत १५ र २२।५ एमभिएको दुईवटा पावर ट्रान्सफर्मरबाट भरतपुर र नारायणगढ क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएको छ ।

हर्दिमा १३२ केभी क्षमताको विद्युत् सवस्टेशन निर्माण भए भरतपुरबाट पूर्वी चितवन जाने विद्युत् भरतपुर क्षेत्रमै खपत गर्न सकिने नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेशकुमार महतोले जानकारी दिए । उनले सवस्टेशन नहुँदा दैनिकरुपमा ट्रान्सफर्मर जल्ने, बिग्रने र विद्युत् भोल्टेजलगायतका समस्या देखिने गरेको बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.