गुणस्तर प्रमाण चिह्न बिना ग्याँस उद्योग सञ्चालन, तत्काल लिन निर्देशन

  २०७५ माघ १९ गते १३:२६     विकासन्युज

बनेपा । जिल्ला अनुगमन समितिले जिल्लामा सञ्चालित तीन ग्यास उद्योगलाई तत्काल गुणस्तर प्रमाण चिह्न लिन निर्देशन दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी किरण थापा, नेपाल आयल निगमका उपनिर्देशक प्रलयङ्कर आचार्य र नेपाल गुणस्तर तथा नापतौल विभागका केमिस्ट इञ्जय मानन्धर र बनेपा नगरपालिकाको प्रतिनिधिसहितको टोलीले काभ्रेपलाञ्चोकको बनेपामा रहेको चण्डेश्वरी ग्यास उद्योग, सूर्य ग्यास उद्योग र उग्रचण्डी ग्यास उद्योगमा अनुगमनको क्रममा गुणस्तर तथा नापतौल विभागबाट लिनुपर्ने गुणस्तर प्रमाण चिह्न नलिएको पाइएकोमा तत्काल प्राप्त गर्ने प्रक्रियामा लाग्न निर्देशन दिएको हो ।

सो क्रममा उद्योगमा काम गर्ने कर्मचारीलाई प्राविधिक तथा सुरक्षा तालिम नदिएको, वितरक, विक्रेताको सङ्ख्या ठेगाना र विवरण नराखेको, चालू वर्षमा प्रयोग अवधि समाप्त हुने सिलिण्डरको सङ्ख्या विवरण अद्यावधिक नराखेको लगायतका पाइएकाले त्यसलाई छ महिनाभित्रमा व्यवस्था गरी जानकारी गराउनसमेत उद्योगलाई निर्देशन दिएको छ ।

जिल्लामा सञ्चालित पाँच वटा ग्यास उद्योगमध्ये सगरमाथा ग्यास उद्योग र भैँसेपाटीमा रहेको गौरीशङ्कर ग्यास उद्योगले मात्रै गुणस्तर प्रमाण चिह्न प्राप्त गरिसकेको जनाएको छ । सगरमाथा ग्यास उद्योगले सगर ब्राण्डको सिलिण्डर र गौरीशङ्कर ग्यास उद्योगले हिमाल ब्राण्डको सिलिण्डर बजारमा ल्याएको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागका केमिष्ट इञ्जय मानन्धरले म्याद नाघेको सिलिण्डर बाहिर उपभोक्तामा पठाएको पाइएमा कारवाही गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.