एनसीसीकाे ७९ लाख कित्ता शेयर लिलामी ११ गतेदेखि, कतिसम्ममा पाइएला ?

  २०७५ पुष ३ गते १६:२८     विकासन्युज

काठमाडौं । घट्दो बजार, बढ्दो ब्याजदर र बजार सुधारका लागि भइरहेको आन्दोलनका बीच एनसीसी बैंकले ७९ लाख १० हजार ९ सय ९३ कित्ता शेयर लिलामीमा ल्याउने भएको छ । बैंकले संस्थापक समूहतर्फ ६५ लाख १६ हजार ७ सय ९५ कित्ता र सर्वसाधारण समूहतर्फ १३ लाख ९४ हजार १ सय ९८ कित्ता गरी उक्त परिमाणको शेयर लिलामीमा ल्याउने भएको हो ।

बैंकको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा रहेको सनराइज क्यापिटलले यही पुस ११ गतेदेखि २० गतेसम्म उक्त लिलामी खुल्ला गर्ने भएको छ । उक्त लिलामीका लागि सनराइज क्यापिटलको कमलपोखरीस्थित मुख्य कार्यालय र एनसीसी बैंकका विराटनगर, वीरगञ्ज, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढी, बनेपा, नारायणगढ र बागबजार कार्यालयबाट फर्म प्राप्त गर्न र आवेदन दिनसक्ने व्यवस्था रहेको बताइएको छ ।

उक्त शेयरका लागि संस्थापकतर्फ न्युनतम १००० कित्ता र साधारणतर्फ न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिन्छ तर १० ले भाग जाने संख्यामा मात्र आवेदन दिनुपर्नेछ भने संस्थापकतर्फ अधिकतम ६५ लाख १६ हजार ७ सय ९५ कित्ता र साधारणतर्फ अधिकतम सीमासम्मकाे शेयरका लागि अावेदन दिन सकिन्छ । संस्थापक शेयर लिन इच्छुकहरुले भने कालोसूचिमा नरहेको प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र, आयश्रोत विवरण र स्वघोषणा विवरण समेत बुझाउनुपर्ने जनाइएको छ ।

घट्दो बजारको प्रभाव शेयरमूल्यमा पर्नसक्ने

त्रिकोणात्मक समस्याबाट ग्रसित बजारमा लगानीकर्ताहरुको मनोविज्ञान कमजोर हुँदा उक्त शेयरका लागि कममात्र मूल्यमा बोलकबोल हुनसक्ने सम्भावना रहन्छ । गत साउनमा प्रभु बैंक लिमिटेडको शेयर बजारमा १८० रुपैंया हाराहारी हुँदा उक्त शेयरको लिलामीमा १५८ रुपैंयासम्म प्रस्ताव गर्नेले समेत शेयर प्राप्त गरेका थिए । तत्कालै बजारमा आएको सुधार र बैंकको राम्रो वित्तीय विवरणका कारण शेयरमूल्य बढेर २६० भन्दा माथि पुगेको थियो । त्यसैले घट्दो बजारबीच अक्सनको लगानी छोटो समयमै मुनाफादायक समेत हुनसक्छ । यद्यपि यसले बैंकको रिजर्भमा थपिने प्रिमियम मूल्यमा भने असर गर्नसक्छ । तर लिलामी खुल्ने उक्त दिनसम्म बजारमा ठुलाे सुधार भर्इ लगानीकर्ताकाे मनाेबल उच्च भएमा भने अवस्था ठीक त्यस्ताे नहुन पनि सक्छ ।

वाणिज्य बैंकहरुको ‘अन्तिम’ लिलामी

नेपाल राष्ट्र बैंकले तोकेको पुँजी वृद्धिका प्रयोजनका लागि जारी गरिएको हकप्रदमध्ये एनसीसी बैंकको हकप्रद अन्तिम हो र यसर्थमा बैंकको अक्सन समेत अन्तिम हुनेछ । अन्य विविध कारणले बजारमा शेयर लिलामीमा आउन सक्ने भए पनि हकप्रदमा नबिकेको शेयरका लागि यो लीलामी नै अन्तिम लिलामी हुनेछ । अब यति ठूलो परिमाणको शेयर लिलामीमा आउन सम्भवतः अर्को पुँजीवृद्धि योजना नै कुर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.