अब लभ्ली हिलसम्म पक्की बाटो, पर्यटक बढ्ने दावी

  २०७५ पुष २ गते ८:१२     विकासन्युज

बेनी । म्याग्दी सदरमुकाम बेनीबजारदेखि पर्यटकीयस्थल लभ्लीहिल जाने पदमार्ग निर्माण शुरु भएको छ । बेनी नगरपालिका–२ मा रहेको पर्यटकीयस्थल लभ्लीहिल जाने पर्यटकको सुविधाका लागि बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) र म्याग्दी उद्योग वाणिज्य सङ्घको त्रिपक्षीय साझेदारीमा पदमार्ग निर्माण शुरु गरिएको हो ।

बेनीको हाँडेभीरदेखि लभ्लीहिल जोड्ने सो पदमार्गको आइतबारदेखि पूर्वाधार निर्माण शुरु गरिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका द्वितीय उपाध्यक्ष राजेश शाक्यले जानकारी दिए । १ दशमलव ७ मिटर चौडाइ भएको सो पदमार्ग निर्माणमा ७८ लाख बढी लागत अनुमान गरिएको छ । नगरपालिका, मोना र सङ्घले क्रमशः ५०, ४०, र १० प्रतिशत लगानी गर्ने यस पदमार्गलाई आगामी ३ महीनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

पदमार्गको लागि रेखाङ्कन गरिएको क्षेत्रको झाडी सरसफाइ शुरु गरिएको छ । दुईदेखि तीन समूहमा जनशक्ति परिचालन गरेर पदमार्ग निर्माणकार्यलाई तीव्रता दिइने शाक्यले बताए । हाँडेभीरदेखि लम्भीहिलसम्म ६७७ मिटर लामो बाटोमा पक्की ढलान गरिएको पदमार्ग निर्माण हुने सङ्घका अध्यक्षसमेत रहेका पदमार्ग निर्माण समितिका संयोजक उत्तम कर्माचार्यले जानकारी दिए ।

“म्याग्दी भ्रमण वर्षको अवसरमा सरकारी, निजी र प्रवासी म्याग्देलीको साझेदारीमा पर्यटन पूर्वाधार निर्माण गर्न लागेका हौँ, पदमार्ग निर्माणपछि सदरमुकाम बेनीसँगै लभ्लीहिल क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, अध्यक्ष कर्माचार्यले भने । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.