बीमा कम्पनीहरुलाई पुँजी वृद्धि गर्ने समय सीमा २०७६ असार मसान्तसम्म

  २०७५ मंसिर २६ गते १५:३०     विकासन्युज

चिरञ्जीवि चापागाई, अध्यक्ष, बीमा समिति

काठमाडौं । तोकिएको समयमा न्यूनतम चुक्ता पुँजी पुर्याउन नसकेका बीमा कम्पनीहरुका लागि खुशीकाे खबर आएको छ । बीमा समितिले पुँजी वृद्धिको समय सीमा २०७६ असार मसान्तसम्म बढाउने भएको छ ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले बीमा कम्पनीहरुको लागि पुँजी वृद्धिको समयावधि बढाउन लागिएको जानकारी दिएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगको भेटघाटका क्रममा अध्यक्ष चापागाईले सो जानकारी गराएका हुन् ।

वित्त बजारमा लगानी योग्य पुँजीको कमी रहेको र नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) लागू गर्ने क्रममा बीमा कम्पनीहरुको एक्चुरी र वार्षिक साधारणसभा समेत ढिला हुने भएकोले ६ महिना समय थप्न लागिएको उनले जानकारी दिए ।

जतिबेला पुँजी बृद्धि गर्न बीमा समितिले निर्देशन दिएकाे थियाे त्यतिबेला तरलता संकट नभएकाे तर अहिले तरलता संकट भएकाले लगानीकर्ताले पुँजी जुटाउन गाह्राे भएकाे जनाएकाे उनले बताए ।

सराेकार निकायहरूसँग छलफल गरेर पुँजी वृद्धिकाे समय थप्ने तयारी भएकाे  र केही दिनभित्रै पुँजी वृद्धि बारे नयाँ निर्देशन जारी हुने उनले बताए ।

बीमा समितिले जीवन बीमा कम्पनीको लागि न्यूनतम २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको लागि न्यूनतम १ अर्ब रुपैयाँ चुक्ता पुँजी तोकेको छ । पुँजी वृद्धिको समय २०७५ असार मसान्तसम्म तोकिएको थियो । विशेष अवस्थामा कम्पनीहरुले ३/३ महिना गरी बढीमा छ महिना समय थप्न पाउने व्यवस्था थियो ।

हालसम्म नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, हिमालय जनरल इन्स्योरेन्स कम्पनीसहित थोरै कम्पनीले मात्र तोकिएको चुक्ता पुँजी पुरा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.