३०० जना सहसचिव, उपसचिव र अधिकृतको विज्ञापन खुल्दै, प्रशासनतर्फ भने नखुल्ने पक्का

  २०७५ मंसिर २४ गते १३:३४     खेमराज श्रेष्ठ

काठमाडौं । लोकसेवा आयोगले न्यायसेवा तर्फ सहसचिव, उपसचिव र अधिकृतको विज्ञापन खुलाउने भएको छ । आयोगले न्यायसेवा तर्फ करिब ३ सय जनाको विज्ञापन खुलाउने तयारी गरेको हो ।

आयोगले पठाएको पत्र अनुसार न्याय सेवा परिषदले मात्रै मागसंख्या पठाएको आयोगका प्रवक्ता किरणराज शर्माले बताए । उनका अनुसार ३ सय जनाको विज्ञापन तालिका अनुसार नै सार्वजनिक हुनेछ भने नखुल्ने सूचना पनि सोहि दिन समावेश गरिने छ । आयोगले मंसिर २६ गते न्यायसेवाको विज्ञापन गर्न अन्तिम तयारी गरेको छ ।

यसअघि सरकारले आयोगलाई २ महिनासम्म कुनै विज्ञापन नगर्न आयोगलाई आग्रह गरेको थियो । आयोगले सोहि अनुसार आफ्नो कार्यतालिका पनि सच्यायो तर फेरी तालिका अनुसार विज्ञापन नहुने भएको छ । यसैगरी, नायब सुब्बा र खरिदारको विज्ञापन पनि खुल्ने नखुल्ने अन्योलमा परेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माग संख्या नपठाएपछि यो वर्षको प्रशासनतर्फ लोकसेवा आयोग नखुल्ने भएको छ । सरकारले प्रदेश संरचनामा कर्मचारी व्यवस्थापन गरेर मात्र आयोग खुलाउने तयारी गरेको हो ।

कर्मचारी व्यवथापनमा अन्योलता भएपछि छोटो बाटोबाट कर्मचारी समायोजन अध्यादेश २०७५ राष्ट्रपतिबाट पारित भैसकेको छ । आइतबार पारित भएको अध्यादेशमा कर्मचारी लगातार ३५ दिनसम्म हाजिर नभए सिधैं बर्खास्त हुने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.