पहिलो त्रैमासिक विवरणमा प्रभु बैंकको चमत्कार, नाफा १५६ प्रतिशतले बढ्दा कस्ता छन् अन्य सूचक ?

  २०७५ कार्तिक १८ गते २०:१७     विकासन्युज

काठमाडौं । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वित्तीय विवरणहरुमा चामत्कारिक सुधार गरेको छ । बैंकले अघिल्लो बर्षको सोही अवधिको तुलनामा नाफा (फ्रि प्रोफिट) मा १५६ प्रतिशतले वृद्धि गर्दा प्रतिशेयर आम्दानी २९.१३ रुपैंया कायम भएको छ । बैंकले आफ्नो रिजर्भ कोषलाई बढाएर ३ अर्ब ९६ करोडबाट बढाएर ४ अर्ब ८५ करोड पुर्याएको छ ।

उक्त अवधिमा बैंकले निक्षेपलाई ८२ अर्बबाट बढाएर १०३ अर्ब पुर्याएको छ भने कर्जा लगानी ६६ अर्ब ७४ करोडबाट बढाएर ८६ अर्ब पुर्याउँदा निष्क्रिय कर्जा अनुपात ४.२३ प्रतिशतबाट घटाएर २.५१ प्रतिशतमा झारेको छ ।

अत्यधिक कर्मचारी खर्च हुने गरेको आरोप लाग्दै आएको उक्त बैंकले व्यवसाय विस्तारमा गरेको चामत्कारिक सुधारका बाबजुद कर्मचारी खर्च घटाएर ४५ करोडबाट ४३ करोडमा सीमित गराएको छ । नयाँ शाखाहरु विस्तारसँगै मर्जर र प्राप्तिपश्चात् बैंकमा रहेको ठूलो संख्याको कर्मचारीहरुको उचित समायोजन गरेपछि बैंकको कर्मचारी व्यवस्थापन खर्चमा उल्लेखनीय सुधार आएको हो ।

बैंकले पहिलो त्रैमासको अन्त्यसम्ममा कर्जा निक्षेप अनुपातलाई ७५.६८ प्रतिशतमा सीमित राखेको छ । यो अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा केही खुकुलो अवस्था हो । बढ्दो लगानीयोग्य पुँजी अभावकाबीच सो अनुपातले बजारमा बैंकको कर्जा प्रवाह क्षमता अझै उच्च रहेको देखाउँछ ।

सो समयमा बैंकको आधार ब्याजदर ९.४९ प्रतिशत हुँदा लगानीयोग्य कोष (कस्ट अफ फण्ड) को लागत ६.१८ प्रतिशत छ । यसले बैंकको स्प्रेडदर ३.३१ प्रतिशत रहेको देखाउँछ ।

बैंकले मूल्य आम्दानी अनुपात पनि ८.२९ प्रतिशत कायम गरेको छ । यो अनुपातले उक्त बैंकको शेयरमा गरिने लगानीबाट प्राप्त हुने प्रतिफल उच्च ब्याजदरयुक्त मुद्दती खाताको भन्दा उच्च रहेको देखिन्छ । बैंकको प्रतिशेयर नेटवर्थ १५९.०१ रुपैंया कायम भएको छ ।

तात्कालिन समयमा समस्याग्रस्त अवस्थामा रहेका किष्ट बैंक, ग्राण्ड बैंक लगायतसँग मर्जर गरी जोखिम उठाएको बैंकको यो विवरणले बैंक अब उक्त बैंकहरुमा रहेको समस्याको ह्याङ्ओभरबाट माथि उठिसकेको स्पष्ठ हुन्छ । अब उक्त बैंकले लगानीकर्तालाई हरेक वर्ष प्रतिफल दिन सक्षम हुने बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.