नागढुंगा-धुलिखेल मेट्रो रेलको डीपीआर बनाउन ४ कम्पनी अन्तिम प्रतिष्पर्धामा

  २०७५ कार्तिक १८ गते १५:०९     नारायण पौडेल

काठमाडौं । नागढुंगा–धुलिखेल मेट्रो रेलको डीपीआर बनाउन ४ वटा कम्पनी अन्तिम प्रतिष्पर्धामा जुटेका छन् । लगानी बोर्डले आव्हान गरेको ग्लोबल टेण्डरबाट प्रारम्भिक छनौटमा परेका ६ वटा कम्पनीमध्ये ४ वटाले मात्रै आर्थिक प्रस्ताव पेश गरेका हुन् । अब आगामी एक महिनाभित्र यीनै ४ वटा कम्पनीमध्येबाट एउटा कम्पनीलाई डीपीआर निर्माणको जिम्मेवारी दिईनेछ ।

अनुमानित ४५ किलोमिटर लामो मेट्रोरेल निर्माणका लागि प्रतिकिलोमिटर ४ अर्बका दरले १८० अर्ब लाग्ने अनुमान गरिएको छ । चाइना रेल्वे सिउवान सर्वे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेड, राइट्स इण्डिया लिमिटेड, युसिन इन्जिनियरिङ कर्पोरेशन सिउल र युकसेल प्रोजे युकसलवारी टर्कीले अन्तिम प्रतिष्पर्धामा सहभागीता जनाएका हुन् ।

आशयपत्र पेश गरेर प्रारम्भिक छनौटमा परेका चाइना मेशिनरी इन्जिनियरिङ कर्पोरेशन र निप्पोन कोइ कम्पनी लिमिटेड, जापानले भने आर्थिक प्रस्ताव पेश गरेनन् । आगामी एक महिनाभित्र डीपीआर निर्माण गर्ने कम्पनीको टुंगो लाग्ने लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिए ।

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षमा २०७४ कात्तिक २७ गते बसेको लगानी बोर्डको बैठकले नागढुंगादेखि धुलिखेलसम्म ४५ किलोमिटर लामो मेट्रोरेल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन र विस्तृत आयोजना प्रतिवेदन(डीपीआर) बनाउने निर्णय गरेको थियो ।

लगानी बोर्डले नै गठन गरेको राािष्ट्रय योजना आयोगका पुर्वाधार हेर्ने तत्कालिन सदस्य हिरेन्द्रमान प्रधान नेतृत्वको कार्यदलले पहिलो चरणमा नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल मेट्रोरेल बनाउन सकिने सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा बोर्डले रेलका लागि प्रारम्भीक काम थालेको हो । विस्तृत सम्भाव्यता अध्ययन र डीपीआर तयार भैसकेपछि लगानी बोर्डकै अगुवाईमा निर्माण, सञ्चालन र हस्तान्तरण(बुट) मोडलमा अन्तराष्ट्रिय कम्पनीको खोजी हुनेछ ।

जमिनमाथी पुल निर्माण गरेर मेट्रोरेल सञ्चालन गरिनेछ । एलेटेटेड ट्रयाक(पुल) माथी रेल गुडाउने प्रबिधी अन्तर्गत मेट्रो रेलको निर्माण गर्न लागिएको हो । मेट्रो रेलहरु व्यवसायीक रुपले सञ्चालन गर्न कठिन हुनेगरेको छ । त्यसैले मेट्रो रेल सञ्चालनको जिम्मेवारी पाउने कम्पनीलाई सरकारले केहि अनुदान वा सहुलियतको सुबिधा उपलब्ध गराउनेछ ।

उपत्यकामा मेट्रो रेल निर्माणका लागि कोरियाली, जापानी तथा केहि चिनियाँ कम्पनीहरुले इच्छा देखाएका छन् । उनीहरुले केहि बर्ष पहिले नै मेट्रो रेल निर्माणका लागि भन्दै रेल विभागमा आसय पत्र बुझाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.