नर्भिक हस्पिटलले मनायो जनचेतनामूलक कार्यक्रम, समयमै उपचार गर्दा वाथरोगीको आयु बढ्न सक्ने

  २०७५ असोज २९ गते १२:२७     विकासन्युज

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले यस वर्षको विश्व बाथरोग दिवस विविध जनचेतनामूलक कार्यक्रम तथा मोटरसाइकल र्याली कार्यक्रम गरेर मनाएको छ । साथै, नर्भिकको बाथरोग विभागले एक विशेष मोटरसाइकल र्याली कार्यक्रम आयोजना गरी जनचेतना अबिृद्धि गर्ने कार्य गरेको हो ।

बाथरोग सम्बन्धी प्रवचन र यसरोग बारे जनचेतनाको अभिवृद्धि गराउने अभिप्रायले उक्त प्रभातफेरि कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रम नर्भिक प्राङ्गणबाट शुरु भई थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्यूरोड गेट, कमलपोखरी, कालोपूल, (सिफल), जयवागेश्वरी, गौशाला, पुरानो वानेश्वर, बबरमहल हुँदै नर्भिकको प्राङ्गणमा आएर समापन भएको थियो । उक्त कार्यक्रममा बाथरोगीहरूका अलावा सर्वसाधारण, चिकित्सकसहित करिब १५० जनाको टोली संलग्न रहेकोे थियो ।

नेपालीहरूको जीवनशैलीमा आएको परिवर्तनका साथसाथै बाथरोगले अन्य रोगको दाँजोमा दिनानुदिन बढी भन्दा बढी व्यक्तिहरूलाई ग्रसित पार्दै आएको छ । वास्तवमा सबै उमेर समूहका मानिसहरू तिनका जीवनको कुनै समयमा कुनै न कुनै बाथरोगबाट ग्रसित हुँदै आएका छन् । पुरुषका दाँजोमा महिलाहरू अझ बढी रोगको शिकार हुने गरेका तथ्याङ्कले देखाएको छ । अझै डरलाग्दो पक्ष त के छ भने बाथरोग समयमै नियन्त्रणमा नलिने हो भने त्यसले रोगीको आयु नै घटाउने गरेको तथ्य समेत पाइएको छ ।

धुम्रपान, बढी तौल तथा अनावश्यक मोटोपना, वंशानुगत कारण, केही त्यस्ता पेशा जसले जोर्नीहरूमा चोट पुर्याउन सक्छन् वा जोर्नीहरूको अत्यधिक प्रयोग गर्छन् र बढ्दो उमेरका कारण मानिसहरूमा बाथरोग लाग्ने जोखिम बढ्ने गर्छ ।

यस कार्यक्रमले रोगप्रतिको जनचेतना बढाउने मात्रै नभएर रोग रोकथाम तथा उपचारमा शारीरिक व्यायामको महत्वबारे समेत प्रकाश पार्ने नर्भिकका बाथरोग विशेषज्ञ डा. अरुण गुप्ताले बताए । सोही अवसरमा नर्भिकका नायब महाप्रबन्धक, संस्थागत सञ्चार आर.पी. मैनालीले प्रत्येक तीन नेपाली मध्ये एकलाई जीवनको कुनै न कुनै क्षणमा कुनै न कुनै प्रकारको बाथरोगले दुःख दिने गरेको बताए ।

बाथरोग सम्बन्धी यस खाले जनचेतनामूलक कार्यक्रमको आयोजना गर्नुको मुख्य उद्देश्य कुनै प्रकारका बाथरोग वा मांशपेशी र अस्थीपञ्जरसम्बन्धी रोग लागिसकेका वा लाग्नसक्ने जोखिममा रहेका व्यक्तिहरूलाई उपचारतर्फ उन्मुख गराई सजग गराउनु, रोग रोकथाम तथा नियन्त्रणतर्फ उन्मुख गराउनु रहेको नर्भिकका बाथरोग विशेषज्ञ डा. अरुणकुमार गुप्ता बताउँछन् ।

यस वर्षको विश्व बाथरोग दिवसको नारा “विलम्ब नगरौं, आजै गरौं सम्पर्क” राखिएको छ । यसले बाथरोगीहरू वा बाथरोगका जोखिममा रहेका व्यक्तिहरूका लागि समयमै गरिने चिकित्सकीय परामर्श एवम् उपचारको महत्वबारे प्रकाश पार्ने गुप्ताले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.