बजार अनुगमनमा कडाई गर्दै चितवन प्रशासन, १७ किलो अखाद्य घ्यु नष्ट

  २०७५ असोज २३ गते १३:४६     प्रनिश थापा

चितवन । चार्डपर्व नजिकए संगै जिल्ला प्रशासन कार्यालय चितवन आक्रमक भएको छ । चाडपर्वको समयमा बजारमा हुने मनोमानीलाई कम गर्न प्रशासनले गीतानगर बजारका विभिन्न किराना पसलहरूमा अनुगमन गरेको छ । अनुगमनका क्रममा सोमबार १७ किलो अखाद्य घ्यू नष्ट गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

चाडपर्वको समयमा बजारमा गुणस्तरीयहीन सामान आउन सक्ने भन्दै गरिएको अनुगमनका क्रममा मिल्क डेरी फुडबाट उत्पादित राधाकृष्ण ब्राण्डको १० किलो र सिन्धुली डेरीको उत्पादनमा बजारमा कृति ब्राण्डको ७ किलो गरि १७ किलो घ्यू बरामद गरेर नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका खाद्य निरीक्षक प्रवीणकुमार तिवारीले जानकारी दिए ।

राधाकृष्ण ब्राण्डको घ्यू उत्पादन गर्ने कम्पनीले गुणस्तरहीन घ्यू उत्पादन गरेको भन्दै केही दिनअघि मात्रै खाद्य प्रविधि क्षेत्रीय कार्यालयले सिलबन्दी गरेको हुँदा उक्त घ्यू स्वास्थ्यको लागि हानिकारक हुने हुँदा नष्ट गरिएको उनले बताए । ‘उक्त कम्पनीका सञ्चालक हाल फरार छन्,’ उनले भने, कम्पनी विरूद्ध सरकारले जिल्ला प्रशासन कार्यालय बारामा मुद्दा नै नर्दा गरिसकेको छ ।’

यस्तै कृति ब्राण्डको घ्यू भने मिति नाघेको भेटिएकोले बरामद गरेर नष्ट गरिएको छ । सोही क्रममा मिति नाघेका पेय पदार्थ समेत बरामद गरेर नष्ट गरिएको छ । ६० वटा ठूला प्लास्टिकका ठूला बोत्तलमा रहेका पेय पदार्थ मिति नाघेको भेटिएकोले सबै नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रतिनिधि श्यामसुन्दर ढकालले जानकारी दिए । मिती नाघेका सामान बिक्री गरेका पसल सञ्चालकहरूलाई प्रारम्भिक बयानको लागि जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएर कारबाही प्रकृया अघि बढाइने उनले बताए ।

पेय पदार्थका उत्पादन कम्पनीहरूले बठ्याइँ गरेर मिति सकिएका सामाग्री समेत छाडेर जानसक्ने मिति हेरेर मात्रै सामान राख्न उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका कार्यबहाक अध्यक्ष विष्णुप्रसाद भुसालले व्यापारीहरूलाई आग्रह समेत गरे । ‘अन्य सामाग्रीमा पनि मिति हेरेर मात्रै राख्नुहोला,’ उनले सुझाए ।

जिल्ला प्रशासनले प्रहरी, उपभोक्ता अधिकार संरक्षण मञ्च, पत्रकार तथा स्थानीयको उपस्थितिमा उक्त सामाग्री बरामद गरेर नष्ट गरेको हो । प्रशासनले सोमबार गीतानगर बजारका किराना पसल तथा होटलहरूमा अनुगमन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.