बाध्यतामा पारेर बीमा गराइन्छ, स्वेच्छाले गर्ने वातावरण बनाउँछौ- कमल गौतम

  २०७५ असार २० गते १३:३७     विकासन्युज

कमल गौतम, महाप्रबन्धक–सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

सन नेपाल लाइफ कम्पनीको पछिल्लो अबस्था कस्तो छ ?

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०७४ साउन १८ गते बीमा समितिबाट लाइसेन्स लिएर असोज ६ गतेबाट सेवा आरम्भ गरेको हो । चैत मसान्तसम्मको रिपोर्ट हामीलाई सन्तोष जनक लागेको छ । हामीले प्रत्येक त्रैमासिकमा राम्रो गरिरहेका छौं । नाफा पनि राम्रै गरेका छौं । चैत मसान्तमा १७ करोड १३ करोड प्रथम बीमा शुल्क आर्जन गरेका छौं जुन पुस मसान्तमा १० करोड २७ लाख मात्रै थियो । पाँच हजार ५ सय ५१ वटा पोलिसी बेच्न सफल भएका छौं । अहिलेसम्मको परपरमेन्सलाई हेर्दा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छि भन्नुपर्ने अवस्थामा छैन् ।

सन नेपालले क्या राम्रो गर्यो भन्ने अवस्था कहिले आउँछ ?

पुराना ९ वटा कम्पनी छन्, नयाँ ९ वटा कम्पनी पनि थपिएका छन् । सबैले एक अर्कालाई नजिकबाट हेरेर प्रतिष्पर्धा गरिरहेका छन् । कसले कसरी बिजनेश गरिरहेको छ भनेर सबैले हेरिरहेका पनि छन् । जसले राम्रो बिजनेश गर्छ, सबैले उसैलाई हेर्ने हुन् । तीब्र प्रतिष्पर्धाका बीच सन नेपालले राम्रो गरिरहेको छ ।

तपाई इन्स्योरेन्स क्षेत्रको पुरानो व्यक्ति हुनुहुन्छ । बीमा बजारमा कति परिवर्तन देख्नुहुन्छ ?

म इन्स्योरेन्स क्षेत्रमा आवद्ध हुँदाको दिन सम्झिरहेको छु । त्यतिबेला भन्दा अहिले बजार धेरै विस्तार भएको छ, फराकिलो बन्दै गएको छ । धेरै किसिमका परिवर्तन पनि भएको छ । अझै हामी धेरै ठाउँमा पुग्न सकिरहेका छैनौं । धेरैले नेपाली अझै पनि बीमा कम्पनी कुरिरहेका छन् जहाँ हामी पुग्ने प्रयास गरिरहेका छौं ।

अरु बीमा कम्पनी नपुगेको ठाउँमा पुग्ने खास योजना के छन् ?

७/८ महिनाको अवधिमा हामीले २० वटा शाखा स्थापना गरेका छौं । १२ वटा उपशाखा छन् । तत्काल करिव २० वटा शाखा विस्तार गर्ने सोच छ । अभिकर्ताहरुको संख्या करिब ७ हजार पुगिसकेको छ । मासिक ७ सयको हाराहारीमा अभिकर्ता बनाउने गरेका छौं । अभिकर्ताहरुको सक्रियता पनि अहिले बढेको छ ।

पहिले बजारमा पुगेर लक्षित वर्ग छान्ने भन्ने योजनामा छौं । बजारमा कुन वर्गमा बीमा पुगेको छैन वा कम छ त्यसलाई कसरी समेट्ने भनेर योजना बनाईरहेका छौं । पहिलो बजारमा पुगेर त्यसको अवस्था पत्ता लगाउने अनि त्यस्तै खाले प्रडक्टहरु तयार पार्ने योजना छ हाम्रो ।

सन नेपालले बीमा पोलिसीहरु कस्तो ल्याएको छ ?

बजारमा धेरै कम्पनीका धेरै प्रडक्टहरु छन् । हामीले छोटो अवधिमा नै ७ वटा बीमा पोलिसी ल्याएका छौं । आफ्ना प्रडक्टहरु बेच्न चुनौती चाँही पक्कै पनि छन् । तर बीमा भनेको आवश्यक कुरा हो, नभै नहुने कुरा हो भनेर जुन कम्पनीका अभिकर्ताले बुझाउन सक्छन्, त्यहि कम्पनीमा नागरिकले बीमा गर्छन् ।

सन नेपाल ब्राण्डिङमा पछाडि परेको हो ?

मैले बीमा क्षेत्रमा ४० बर्ष बिताएको छु, २० बर्ष त अभिकर्ता भएरै काम गरेको हुँ । ८ हजार मानिसका घरमा बीमा गराउनु पर्छ भनेर म आफैं पुगेको थिएँ । कम्पनीले बीमा गराउनका लागि ब्राण्डिङ गरेकै भरमा बीमा गराउन मानिस आउँदैनन् । उनीहरुलाई बीमा गराउनुपर्छ भनेर बुझाउनुपर्छ, तब मात्रै कम्पनीमा बीमा गराउन आउँछन् । नागरिकको कमाई अनुसारको बीमा गराउने सुबिधा दिनुपर्छ । सन नेपालले नागरिकलाई बीमा अनिवार्य छ, यो आवश्यकता हो भनेर बुझाउँछौँ, त्यसपछि उनीहरुले यसैमा बीमा गराउनेछन् ।  भोलि २० लाख रुपैंयाँ आवश्यक पर्न सक्छ, अहिले २ लाखको बीमा गरियो भने भोलि १८ लाख मात्रै खोज्दा हुन्छ । नत्र २० लाख नै खोज्नुपर्ने हुन्छ ।

हरेक मानिसले आय आर्जन गर्छ, उसले दीर्घकालका लागि कमाईको केहि हिस्सा बचाउनु पर्छ, त्यो भनेका बीमा हुनसक्छ । जति कमाउन सकिन्छ, त्यसबाट केहि हिस्सा आफ्ना सन्तानका लागि जोगाउनुपर्छ भन्ने नै हो । यसका लागि अभिकर्ताले नै राम्रोसँग प्रचार गर्न सक्छन् । ब्राण्डिङले पनि केहि काम भने पक्कै गर्छ । बिहानै गीत वा भजनको साटो कम्पनीको ब्राण्डिङ सम्बन्धी सूचना दिन सकियो भने त्यसले पनि थप काम गर्छ ।

सन नेपालले ब्राण्डिङका लागि धुर्मुस र सुन्तलीलाई एम्बेसडर बनाएका छौं । हामीले शाखा विस्तार लगायतका काममा उहाँहरुलाई अघि सारेर बीमा चेतना बढाईरहेका छौं । हामीले भन्नु भन्दा धुर्मुस सुन्तलीले बीमा गराउनुस भन्दा त्यसले धेरै राम्रो सन्देश लैजान्छ ।

के बीमा कम्पनीहरुले नागरिकलाई ‘मैले बीमा गर्नैपर्छ’ भनेर सोच्ने र बीमा कम्पनीमा गएर ‘म बीमा गर्न चाहान्छु, कम्पनीसँग कस्ता कस्ता योजना छन्’ भनेर सोध्ने वातावरण बनाउन सकिदैन ?

अहिले हामी जबरजस्ती बीमा गराईरहेका छौं । एउटा व्यक्तिले २० हजारको जागिर खाएर ४ जनाको परिवार पालेर कसरी बीमा गराउन सक्छ ? पल्लो घरे दाइले बच्चा पढाउन बीमा गराएको थियो, अहिले राम्रो भएको छ, बिरामी हुँदा उपचारका लागि पैसा पायो भन्ने ढंगले सन्देश दिएर बीमा गराउने प्रयास भैरहेको छ । अहिले बीमा गराउनेहरुले पनि खान, लाउन कटाएर पनि बीमा गरिरहेका छन् । अत्यावश्यक खर्चलाई नै कटाएर बीमा गराईरहेको प्रसस्तै भेटिन्छ ।

बीमा सम्बन्धि व्यापक चेतना अभिवृद्धि तथा व्यापक विस्तारपछि मात्रै मानिसहरु कम्पनीको कार्यालयमै आएर बीमा गराउने अवस्था आउन सक्छ । त्यसका लागि बीमा कम्पनी, बीमा समिति, सरकारले मिलेर काम गर्नुपर्छ । बीमा गरेकाहरुको जोखिम हस्तान्तरण भएको छ, नागरिकको अर्थाेपार्जनमा बीमाले सघाएको छ भन्ने सन्देश स्थापित नगराउँदासम्म नागरिक नै कम्पनीमा आएर बीमा गराउनु पर्यो भन्ने दिन आउन मुस्किल छ ।

पछिल्लो समय करोड भन्दा बढीको बीमाङकसहित बीमा गर्नेको संख्या उच्च दरमा बढेको बताइन्छ । तपाईको कम्पनीको कस्तो छ अवस्था ?

पैसावालहरुको संख्या पनि नेपालमा बढेकै छन् । उनीहरुले पनि आफ्नो हैसियत अनुसार बीमा गराएकै छन् । हामीले ५५ हजार ५१ जनाको बीमा गराएर १७ करोड १३ लाख प्रिमियमको बीमा गरिएको छ । त्यसमा साढे चार लाख रुपैंयाँ औषत बीमांक परेको छ ।  एक पोलिसीको प्रिमियम साइज ३० हजारको हुने देखिन्छ । यद्यपी धेरै पैसा भएकाहरुको बीमा न्युन देखिन्छ भने थोरै पैसा भएकाहरुको संख्या धेरै छ । हामीले करोड करोडका पोलिसी बेचिरहेका छैनौं । बीमा गराएपछि निरन्तरता पनि आवश्यक ठानेका छौं । मुख्य कुरा भनेको मानिसमा बीमाको चेतना हुनुपर्छ । त्यसपछि त उसले आफ्नो आर्थिक हैसियत अनुसार बीमा गराउँछ नै ।

बीमा क्षेत्रमा जनशक्तिको अभाव छ, कसरी व्यवस्थापन गर्नु भएको छ ?

बीमा क्षेत्रमा जनशक्तिको चरम अभाव छ । हामी कहाँ बिशेष क्षेत्रमा बिशेष शिक्षा दिने व्यवस्था नै छैन । पाढ्यक्रमहरुले एउटा कुरा पढाउँछन, काम गर्दा अर्काे खाले काम गर्नु पर्ने बाध्यता छ । त्यसकारण सबै क्षेत्रमा जनशक्ति तानातानको अवस्था देखिएको छ जुन स्वभाविक पनि हो । अवसर र सुबिधाका लागि कम्पनी परिवर्तन गर्नु सामान्य कुरा हो ।

कम्पनीले सर्वसाधारणको लागि सेयर निष्काशन कहिले गर्छ ?

सन नेपाल लाइफको अधिकृत पुँजी २ अर्बको हो । अहिले हामी एक अर्ब ४० करोडको पुँजीमा काम गरिरहेका छौं । ६० करोडको आइपीओ ल्याउने तयारी छ । त्यसका लागि एक आर्थिक वर्षको व्यालेन्ससिट तयार भएपछि मात्रै आइपीओ ल्याउन पाउने व्यवस्था छ । त्यसका लागि हामी काम गरिरहेका छौं । असोज मसान्तसम्ममा ब्यालेन्ससिट तयार पारिसक्छौं, एक्चुरीका लागि अधिकतम एक महिना लाग्न सक्छ । त्यसपछि आईपीओ निकाल्ने व्यवस्था अघि बढाउछौं । २०७५ साल भित्र आइपीओ ल्याइसक्छौं । ढिलोमा चैत र त्यो भन्दा चाँडो पनि आउन सक्छ हाम्रो आइपीओ ।

न्यूनतम दुई अर्ब पुँजी भएको १८ वटा बीमा कम्पनीबीच प्रतिस्पर्धा चलेको छ । लगानीकर्ताले नाफा कहिले पाउँछन् ?

बजार सानो छ । मानिसको क्रयशक्ति कमजोर छ । बीमा गर्न सक्ने जनशक्ति थोरै छ । १८ वर्षदेखि ४० बर्षका मानिस एक तिहाई छन् । तीमध्ये धेरै विदेश गएका छन् । तीनलाई बीमामा समेट्न समय लाग्छ । २ सय करोडको व्यवसाय अधिकतम ३ वर्ष भित्र पुर्याउँछौं । सञ्चालनमा आएको तेश्रो वर्षपछि लगानीकर्ताले राम्रै प्रतिफल पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.