खुला विश्वविद्यालयको शैक्षिक कार्यक्रम सुरु, घरमै बसेर डिग्रीसम्म अध्ययन गर्न सकिने

  २०७५ जेठ १४ गते १२:२७     राजाराम न्याैपाने

काठमाडौं । नेपाल खुला विश्वविद्यालयले शैक्षिक कार्यक्रमको औपचारिक सुरुवात गरेको छ । विश्वविद्यालयका कुलपति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कार्यक्रमको आइतबार शुभारम्भ गरेका हुन् । कार्यक्रममा बोल्दै पोखरेल अघिल्लो पटक शिक्षा मन्त्री हुदा विश्वविद्यालयको ऐन बनाउने र संसदबाट गराउने महत्वपूर्ण अवसर प्राप्त भएको बताए ।

यस्तो विश्वविद्यालय कसरी संचालन हुन्छ ? धेरैले प्रश्न गरेका थिए । आज विद्यार्थीका बीचमा आएर शुरु गर्न पाँउदा खुसी लागेको उनले बताए । पोखरेलले यो विश्वविद्यालयप्रति जनसमुदायको रुचि देखिएको भन्दै आगामी दिनमा यस विश्वविद्यालय उच्च शिक्षाको आकर्षणको केन्द्र बन्ने बताए ।

उनले बाध्यता र विवशताले उच्च शिक्षा हासिल गर्न नसकेर विदेशिएका युवायुवती र पढ्दापढ्दै वैवाहिक बन्धनमा बाँधिएर पढ्न नसकेका महिलाहरुको उच्च शिक्षा हासिल गर्ने सपना पूरा गर्न खुला विश्वविद्यालय सफल हुने विश्वास व्यक्त गरे ।

विश्वविद्यालयको उपकुलपति प्रा.डा लेखनाथ शर्माले भने अन्य विश्वविद्यालयसंग सहयोगी र प्रतिस्पर्धी हुने बताए । “सबैले शुल्क बढी भयो भनि भनिरहेको छन् । जुनसुकै कुराको पनि सुरुवाति खर्च धेरै हुन्छ । अहिले त्यहिनै भएको हो ।” शर्माले भने “यसले नाफा कमाएर कसैलाई दिनु छैन ।”

सरकारले बजेट बढाउदा यसको शुल्क घट्ने उनले जानकारी दिए । अन्य विश्वविद्यालयले भन्दा यस विश्वविद्यालयले राम्रो शिक्षा दिने समेत उनले प्रतिवद्धता व्यक्त गरे ।

२०७३ असार ३० गते खुला विश्वविद्यालयको ऐन व्यवस्थापिका संसद्बाट पास भएको हो । विश्वविद्यालयमा २०७४ जेठ ३० बाट पदाधिकारी नियुक्त भएका थिए । एमफिल , मास्टर्स र पोस्टग्राजुयट डिप्लोमा इन डिस्टयान्स एन्ड ईलर्निङ, मास्टर एण्ड ईगर्भनेन्स र इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी विषयको पढाइ शुरु भएको छ ।

विश्वविद्यालय एमफिल , मास्टर्स र एमफिल र पोस्टग्राजुयट डिप्लोमा इन डिस्टयान्स एन्ड ईलर्निङ, मास्टर एण्ड ईगर्भनेन्स र इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी विषयको २०७४ फागुन ३० गते भर्ना आवेदन मागेको थियो ।

जसका लागि ७०० जनाले आवेदन दिएकोमा ४०६ जना प्रवेश परीक्षामा उत्तिर्ण भएका र अध्ययन प्रारम्भ गरेको छन् । शुल्क २४ हजारदेखि १ लाख ६७ हजार रुपैयाँसम्म रहेको विश्वविद्यालयले जनाएको छ ।

सेना, प्रहरी, कर्मचारीलगायत उच्च शिक्षाको औपचारिक संरचनामा नसमेटिएका सम्पूर्ण जनसमुदायलाई समेट्ने परिकल्पनासहित खुला विश्वविद्यालयको ऐन बनाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.